धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ

धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ५, २०७८

बैंकमा तरलता अभावका कारण शेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् । 

नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख पद रिक्त रहेकाे ३ महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन । 

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका थिए भने सेवनका अध्यक्ष भीष्मराज ढुंगानालाई भने अर्थ मन्त्रालयले बर्खास्ती गरेको हो । 

नेप्से सीईओ साउदले ८ भदाैमा राजीनामा दिएका थिए । त्यसपछि ११ असोजमा बोर्ड अध्यक्ष ढुंगानाले राजीनामा दिएका थिए । अर्थ मन्त्रालयले सेवनको अध्यक्ष नियुक्तिका लागि ११ कात्तिकमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो तर मन्त्रालयले छनोट प्रक्रिया भने अघि बढाएको छैन । 

यसैगरी नेप्सेको सीईओ नियुक्तिका लागि भने कुनै प्रक्रिया नै सुरु हुन सकेको छैन । बोर्ड नेतृत्वविहीन हुँदा कम्पनीहरूको शेयर निश्कासन स्वीकृतिसमेत रोकिएको छ ।