एमालेको अवरोधले राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

एमालेको अवरोधले राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७८

नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए । 

एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै उनले प्रतिपक्षी दलबिनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महँगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाए । उनले सदन खुलाउनेदेखि देशमा देखिएका अन्य समस्या समाधानमा सरकारले प्रतिपक्षी दलसँग किन वार्ता गर्दैन ? भन्दै प्रश्न गर्दै सदन चल्न नसक्ने बताए । 

यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित पक्षलाई रुलिङ गर्दैै सदन चल्न दिन एमाले सांसदसँग आग्रह गरे ।

तर, एमाले सांसदहरूले उठेर मौन रूपमा विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले भने,  ‘आजको कार्यसूचीमा समावेश भएको विषयलाई कार्यसूचीबाट हटाएको बेहोरा जानकारी गराउँछु । माननीय सदस्यहरू, अब अर्काे बैठक अर्काे सूचनाद्वारा तोकिने गरी यो बैठक स्थगित हुन्छ ।’ 

अर्काे बैठकको मिति नतोकिएकाले अब राष्ट्रियसभाको बैठक कहिले बस्छ भन्ने निश्चित छैन ।