प्रेम गीतमा संघर्ष र सफलताको कथा: म्युजिक भिडियो 'तिमी पुग्यौ धेरै टाढा' (भिडियोसहित)

प्रेम गीतमा संघर्ष र सफलताको कथा: म्युजिक भिडियो 'तिमी पुग्यौ धेरै टाढा' (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष ५, २०७८

'तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै'छ
छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै'छ।' 

उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो 'तिमी पुग्यौ धेरै टाढा' को स्थायी लाइन हुन्। कवि,नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन्।  प्रवासमै बस्ने अर्का संगीतकार तथा गायक नविन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह त भयो तर रेकर्डिङ्गको प्रक्रिया थाल्नै वर्षौं लाग्यो। प्रवासी जीवन बाध्यता,आवश्यकता र परिस्थितिको दास हुँदै हो।  समय अर्काको अधिनमा हुन्छ अनि जिन्दगी पनि अरुकै बन्दकी।

पराधिन जीवन शैली र बन्दकी समयका छोक्राहरु निचोरेर आफुलाई थोरै भए पनि सिर्जनशील बनाउनु आत्मसन्तुष्टिको शर्तमा गतिलै कुरा रहेछ।  लेखिएर छोडेको गीतप्रति अन्याय नहोस् भन्ने हेतुले गीत रेकर्ड भयो।  पुरुष आवाज संगीतकार नविन आफैंले दिने भए अनि महिला आवाजमा गायिका रजीना रिमालले तत्परता देखाइन्। गीत त रेकर्ड भयो,तर गीत सुन्ने होइन हेर्ने जमानामा अडियोले मात्रै गीतको पूर्णता महशुस नहुनेरहेछ।

अडियोमा देखिएको सन्तोषजनक फसलले यसको भिडियो पनि निर्माण गर्ने आकांक्षा बढायो। सबैको मन मिल्यो। टिम बन्यो र एउटा प्रेमिल सांगीतिक कर्मले पूर्णता पायो। गीतकार सेसेल्स, संगीतकार कतार अनि गायिका लगायत अन्य टिम सदस्य नेपाल।  तीनतिर बसेर काम गर्नुपर्दा केहि उल्झन र असहजताका बाबजुद पनि अन्ततस् मनले खाएको शब्दमाथि सहकार्य गर्न पाएकोमा  प्रस्तुत गीतमा सामेल सबै श्रष्टाहरु हर्षित छन्।  

केहि समयको व्यवहारिक विश्रामपछि गायिका रजीना रिमाल यहि गीतमार्फत पुनस् आफ्नो सांगीतिक मेलामा फर्केकी हुन् ।  शब्द, संगीतले अत्यन्तै छोएपछि उनि गाउन उत्साहित भएको बताउँछिन्।  पानीको फोकाजस्तो भयो हाम्रो माया, सयौं जूनी पाउन सकिन्छ सकिन्न... जस्ता कुनै समयका चर्चित र लोकप्रिय गीत दिईसकेकी गायिका रजीना यो गीतबाट अझै सन्तुष्ट साथै आशावादी रहेको सुनाउँछिन् । ऊबेलाको आफ्नो रेडियो सहकर्मी गणेश खड्कासँग उतिबेलै पनि सहकार्य गरेको बताउने संगीतकार तथा गायक नविन खनाल भन्छन् -'गणेश खड्काका शब्दहरु विशेष लाग्छन्।  उसका शब्दमा शिल्प ,काव्य ,कला र मन तानिरहने एकप्रकारको अर्गानिक तत्व हुन्छ।  त्यसैले छोड्न सकिन, केहि ढिलै भए पनि धित मारेर रहर पुरा गरें।'

 स्वर्गकी परी तिमी अप्सराकी रानी... पचासको दशकमा चलेको गीत हो नवीनको।  नाटक,कविता,गीत,गजल तथा समसामयिक लेख रचनामा कलम चलाउदै आएका साहित्यकार गणेश खड्काका यसअघि पनि केहि गीतहरु बजारमा आइसकेका छन् साथै नाटक संग्रह र कविता संग्रहका पुस्तकहरु पनि प्रकाशित छन्।  

अन्तरजातीय प्रेम सम्बन्धको संघर्षपूर्ण कथा भन्दै अन्ततोगत्वा आपसी समर्पण र सङ्कल्पले प्रेम सँगै जीवन पनि सफल हुन्छ भने वस्तुनिष्ठ सत्य तथा सामाजिक संदेश दिएर गीत क्लाइमेक्समा सुखान्त भएर सकिन्छ। प्रस्तुत गीतको म्युजिक भिडियोमा दृश्य सुबेदी र रुषा नेउपानेले जिवन्त अभिनय गरेका छन् भने रिकेश गुरुङ्गको संगीत संयोजन, हरि हुमागाईंको छायाङ्कन अनि शिव पुरीको निर्देशन तथा सम्पादन रहेको छ । बुढासुब्बा डिजिटल मार्फत २ पौष २०७८ का दिन नेपाली सांगीतिक बजारमा ल्याइएको यो गीतको कार्यकारी निर्माता पनि गीतकार गणेश खड्का नै रहेकाछन्। थप बुझ्न म्युजिक भिडियो नै हेर्नुपर्ने हुन्छ। 

म्युजिक भिडियो 'तिमी पुग्यौ धेरै टाढा' यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।