एपीएफले अनुबन्ध गर्‍याे पहिलो पटक विदेशी खेलाडी

एपीएफले अनुबन्ध गर्‍याे पहिलो पटक विदेशी खेलाडी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ५, २०७८

विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदानमा उतारेको हो । 

फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोल रक्षक युवा कुरियामाले प्लेइङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको हो । यसअघि तीनै विभागीय क्लबले विदेशी खेलाडी भित्र्याउने प्रावधान थिएन ।

तर, एएफसी लाइसेन्स पाएसँगै विभागीय क्लबलाई समेत विदेशी खेलाडी खेलाउने बाटो खुलेको हो । टोलीका नियमित २ गोल रक्षक घाइते भए पनि एपीएफले कुरियामालाई टोलीमा समावेश गरेको हो । कुरियामाले डेब्यु खेलमै जीतबाट सुरुवात गरेका छन् ।

दशरथ रंशालामा भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई ३-१ अन्तरले पराजित गर्‍यो । पहिलो जीतसँगै एपीएफ ५ खेलबाट ४ अंक बनाउँदै ११औँ स्थानमा रहेको छ ।