झापामा स्रष्टा सम्मानद्वारा मुक्तककार केशव आचार्य सम्मानित

झापामा स्रष्टा सम्मानद्वारा मुक्तककार केशव आचार्य सम्मानित

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष ५, २०७८

मुक्तक सागर त्रैमासिक पत्रिकाको आयोजनामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आइतबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापाका अग्रज कवि गजलकार, मुक्तककार केशव आचार्यलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र मुक्तक सागरका सम्पादक निशा के.सी.ले आचार्यलाई मुक्तक सागर साहित्य सम्मान अर्पण गरेका थिए । आचार्य ४ दशकभन्दा लामो समयदेखि साहित्य सेवामा समर्पित छन् ।

कार्यक्रममा मुक्तककारहरू होम सुवेदी, विमल वैद्य, कृष्ण निराकार, देवीचरण भण्डारी, टंक विकल्प, लीला अनमोल, रुद्र अधिकारी, लक्ष्मी रायामाझी, चित्रा कोइराला, लक्ष्मी आचार्य, अम्बिका खरेल उप्रेती, मदन भण्डारी, अनवर अली, लक्ष्मी अच्युत ढुंगाना, मनु विश्वकर्मा, भिजन गुरागाईं, पुष्पा प्रकृति, उमेश विरोधी, पदम निरौला, विकास शिवा, सविन सिटौला, तुलसीप्रसाद भट्टराई, पवन ढुंगेल, पुष्प काफ्ले, प्रचुर अभाव, सुमन सिंगल, मुना मन्जरीलगायत ३ दर्जनभन्दा बढी मुक्तककारले मुक्तक वाचन गरेर सुनाएका थिए ।

वाचित मुक्तकमा वर्तमान समयको चित्रसँगै संवेदना, सौन्दर्य र विद्रोह कलात्मक र शक्तिशाली रूपमा आएको धारणा प्रमुख अतिथि विवश पोखरेलको थियो । कार्यक्रमको सभापति तथा सम्पादक निशा के.सी.ले मुक्तक सागर सबैको साझा मञ्च रहेको र यो पत्रिका मुक्तक विधाको उन्नयन र विकासमा प्रतिबद्ध भएको विचार व्यक्त गरिन् ।

सो कार्यक्रममा सम्मानित स्रष्टा केशव आचार्य, साहित्यकार/पत्रकार चन्द्र भण्डारी, कवि  गणेश निरौलाले शुभकामना व्यक्त गरेका थिए । सम्मानित स्रष्टाको परिचय कवि तथा पत्रकार लीला अनमोलले, स्वागत मन्तव्य मिलन सङ्ग्रौलाले गरेका थिए । कार्यक्रममाथि सुनिता तामाङले प्रकाश पारेकी थिइन् भने कार्यक्रम संचालान  हरि बरालले गरेका थिए ।

इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँलगायतका मुक्तककारको उपस्थिति रहेको कार्यक्रमको संयोजन झापाली साहित्य समाज र पालुवा मिडियाले  गरेका थिए ।