राष्ट्रिय एकता दिवस : तीन प्रज्ञा–प्रतिष्ठान र संस्थान संलग्न मूल समारोह समिति

राष्ट्रिय एकता दिवस : तीन प्रज्ञा–प्रतिष्ठान र संस्थान संलग्न  मूल समारोह समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७८

 काठमाडौँ । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ भव्यरूपमा मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित मूल समारोह समिति गठन गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आइतबार बसेको बैठकमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको संयोजकत्वमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, तीनओटै प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिहरू क्रमशः डा. जगमान गुरुङ, हरिहर शर्मा र गोपाल चित्रकार, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिवहरू क्रमशः श्यामप्रकाश तमोट र विपिन घिमिरे एवम् सांस्कृतिक संस्थानका अध्यक्ष र महाप्रबन्धक क्रमशः प्रेमनाथ अधिकारी र अशोक प्यासी राई सदस्य तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ सदस्य सचिव रहेको मूल व्यवस्थापन समिति गठन गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्यायका अनुसार बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ’पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न नेपाल राष्ट्रको एकीकरणमा विभिन्न जनसमुदायको सहभागिता’ विषयक विचार–गोष्ठी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, विविध सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सांस्कृतिक कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ । 

मूल समारोह समितिको बैठकले पुस २५ गते पुस्तक तथा चित्रकला प्रदर्शनी, पुस २६ गते विचार–गोष्ठी तथा पुस २७ गते बिहान विभिन्न जातीय सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सोही दिन अपराह्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पुस्तक प्रदर्शनी, विचार–गोष्ठी र शोभायात्राको व्यवस्थापन नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्नेछ भने चित्रकला प्रदर्शनीको व्यवस्थापन ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्ने एवम् सांस्कृतिक कार्यक्रमको व्यवस्थापन सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले गर्ने निर्णयसमेत गरेको छ ।