'आशीर्वाद'को श्राप र 'विश्वास'को घात लागेका कांग्रेस नेताहरू

'आशीर्वाद'को श्राप र 'विश्वास'को घात लागेका कांग्रेस नेताहरू

विभूति शर्मा  |  दृष्टिकोण  |  पुष ६, २०७८

णनेपाली कांग्रेस जति 'लोकतान्त्रिक' र 'उदार' बताउँछ आफूलाई, त्यति नै 'अलोकतान्त्रिक' र 'अनुदार' रहँदै आएको छ व्यवहारमा । नीति, बोली र व्यवहारमा एकरूपता कहिल्यै देखिँदैन कांग्रेसमा । कांग्रेसले आफ्नो सिद्धान्त (नेताले जे बोल्यो, त्यही सिद्धान्त मान्नुपर्ने बाध्यता छ अझै कांग्रेसमा र यो परंपरा यसरी नै चलिरहनेछ), नीति र मूल्य/मान्यतामा जे छन् भन्छ, व्यवहारमा तिनको अनुभव गर्न, हेर्न र भोग्न कुनै कांग्रेस कार्यकर्ता र आमजनले पाएका छैनन् । तर, कांग्रेस न हो- उसले भनेपछि 'हो, हो !'

कांग्रेस आफैँमा गज्जबको पार्टी त हो नै- यसका व्यवहारका कारण । जसले जे गरे पनि, भने पनि कांग्रेसमा कुनै कारबाही हुनेवाला छैन, कांग्रेसको 'जात' जानेवाला छैन, 'धर्म-भ्रष्ट' हुनेवाला छैन । यसको मतलब हो- कांग्रेसमा न अनुशासन छ, न त मर्यादा नै ।

कांग्रेसको 'लोकतन्त्र' हिजोका दिनमा 'दाइहरू'का कृपामा बाँचेको थियो । दाइहरू अर्थात् वडा तहदेखि केन्द्रसम्म शीर्ष नेतृत्वमा रहेकाहरूको विवेक र तजबिजी नै कांग्रेसिभत्रको लोकतन्त्र थियो । उनै 'दाइहरू'ले चाहेका वा कृपा गरेका अथवा आशीर्वाद दिएकाहरू मात्र कांग्रेसका वडादेखि केन्द्रसम्मका समितिमा स्थान पाउनयोग्य मानिन्थे । यस्ता आशीर्वादले बनेका 'नेताहरू' केही समय चम्किन्थे अनि पानीको फोका जसरी लोप हुन्थे ।

तथापि, यस्ता 'आशीर्वादेहरू' सधैँ आफ्नो दबदबा पार्टीमा रहिरहने भ्रममा बाँचिरहन्थे/बाँचिरहेका छन् ।

जस्तो कि- कृष्णप्रसाद सिटौला नाम गरेका एक जना पात्र छन् कांग्रेसमा । वकालतबाट राजनीतिमा छिरेका, आठराईको 'कुमाईं दीक्षा' प्राप्त गरेका, झापाको 'खुराफात'मा हुर्किएका सिटौला छोटो समयमै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको 'किचन क्याबिनेट'मा प्रवेश गरेर कोइरालाको विश्वास जित्न सफल भए । गिरिजाप्रसादकै विश्वास जितेका कारण सिटौलाले कोइरालाका विगतका विश्वासपात्रहरूलाई पाखा लगाउँदै माओवादीसँगको शान्ति वार्तामा भूमिका पाए र गृहमन्त्रीको जिम्मेवारी पनि ।

महामन्त्रीमा विजय हुनासाथ शर्मा भने उनै सिटौलाकहाँ निधार थाप्न पुगे । सामाजिक संजालमा राखिएको फोटोमा साटौलासामु शिर झुकाएर शर्माले शुभाशिष लिइरहेका छन् । शर्मा खुसीको मुद्रामा देखिएका छन् भने सिटौला पीर मिश्रित देखावटी हाँसोमा ।

सिटौलाको 'दाइभक्ति'को परिणाम पार्टी महामन्त्री पनि हातपर्‍यो । त्यो पद आमजन वा कांग्रेस कार्यकर्ताको विश्वास (मत)ले होइन, शीर्ष नेता (व्यक्ति)को कृपाले प्राप्त भएको हो भन्ने हेक्का सिटौलालाई भएन । यही कारण सिटौलाले १३औँ महाधिवेशनमा स्वर्गीय पूर्वसभापतिहरू गिरिजाप्रसाद र सुशील कोइरालाका उत्तराधिकारीको भ्रममा सभापतिको दाबी गरे । तत्काल उनले आफ्नो वास्तविक हैसियत त चाल पाएका थिए तर 'पार्टीमा कृष्ण सिटौला पनि जीवित नै छ है' भन्न यसबीचमा पनि अनेक चलखेल भने गरिरहे ।

गिरिजाप्रसादको आशीर्वादले 'नेता' बनेका उनै सिटौला केन्द्रमा 'चितबल्ड्याङ' भएपछि गृहजिल्लाको कांग्रेस राजनीतिमा 'खेलबाड' गर्न थाले । उनका लागि 'खतराका घन्टी' विश्वप्रकाश शर्मा हुन् झापामा । केन्द्रीय राजनीतिमा राम्रो प्रभाव र पकड कायम राखेका शर्मालाई संसदीय निर्वाचनमा दुवै पटक हराउन ज्यान फालेर लागे सिटौला । राप्रपासँग समन्वय गर्दा जित्ने सुनिश्चित देखिएपछि सिटौलाले 'एक्लै लड्ने' खुराफात गरेर शर्मालाई हराउन सफल भए । यो तथ्य आमजनले बुझेपछि सिटौला झापामै 'छिछि' र 'दूरदूर' बने कांग्रेसीजनबाटै ।

अहिले कांग्रेसको १४ औँ महाधिवेशनमा पनि सिटौलाले विश्वप्रकाश-त्रासबाट मुक्ति पाएनन् । गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेबित्तिकै जितिसकेका थिए- सैद्धान्तिक मतले, खाली व्यावहारिक 'भोट' गन्न बाँकी थियो । तर पनि सिटौलाले विश्वप्रकाशलाई 'गुल्ट्याएर' आफ्नो दबदबा झापामा कायमै राख्न तेस्रो पुस्ताका प्रदीप पौडेललाई महामन्त्रीमा भिडाउन  पठाए ।

अन्तत: विश्वप्रकाशको जीतलाई सिटौलाले रोक्न सकेनन् ।

महामन्त्रीमा विजय हुनासाथ शर्मा भने उनै सिटौलाकहाँ निधार थाप्न पुगे । सामाजिक संजालमा राखिएको फोटोमा साटौलासामु शिर झुकाएर शर्माले शुभाशिष लिइरहेका छन् । शर्मा खुसीको मुद्रामा देखिएका छन् भने सिटौला पीर मिश्रित देखावटी हाँसोमा ।

फोटोलाई गंभीरतापूर्वक नियाल्दा फोटोले यसो भनिरहेको जस्तो लाग्छ- 'सिटौला दाजु, दाइ (शीर्ष नेता)हरूको होइन, आमजनको मन र मत जितेर मात्र नेता भइन्छ । तपाईंका ममाथिका अघिल्ला हरकर्तुत, खुराफात र घातलाई क्षमा गरिदिएको छु ।'

कांग्रेसभित्रका सिटौला एउटा प्रवृत्ति हुन् । यही प्रवृत्तिमा १४अौँ महाधिवेशनमा डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइराला पनि देखिएका छन् । यिनले आपसमै अर्थात् कोइराला परिवारभित्रै वा दाजु-भाइ-बहिनीभित्रै घात र अविश्वास गरेका छन् । एकले अर्कोको अस्तित्व नस्वीकार्दा अन्तत: तीनै जना पार्टी नेतृत्वमा आउने सुवर्ण अवसर गुमेको छ यिनका लागि । र, यसले प्रस्ट पारेको छ- बाबुबाजेका नाम र योगदान बेचेर पार्टीको नेतृत्व पाइँदैन । आमजनको विश्वास जितिँदैन ।

अनि, कोइरालाहरूमा रहेको सिटौला प्रवृत्तिको पर्दाफास पनि भयो यस पटक । कसरी भने- प्रदेश १ को अधिवेशनमा युवा नेता गुरुराज घिमिरे २ मतले हारे । (कांग्रेसजन भने यसलाई 'हारेको' होइन, 'हराइएको' भन्छन्- घिमिरेको हारमा कोइरालाहरूकै विशेष 'योगदान' रहेको बताइन्छ । उल्लिखित ३ दाजु-भाइ-बहिनी र महेश आचार्य-कोइराला परिवारकै भान्जा-ले प्रदेश अधिवेशनमा मत नहालेर 'विधान मान्ने नैतिकता' देखाउँदा घिमिरे पराजित बने- मात्र २ मतले । जबकि, यी ४ जनाले मत दिएका भए घिमिरे उल्टै २ मतले विजयी हुने थिए ।

गुरुराज घिमिरे ३ दशकभन्दा लामो समयदेखि कोइराला परिवारकै आसपास र काखमा हुर्किएका हुन् । कोइराला परिवारका खातिर आजसम्म उभिइरहेका छन् । कोइराला परिवारकै हित र जीतका लागि उनले लामो समय समर्पण गरे । तर, आज उनै कोइराला परिवारका सदस्यले नै उनलाई ५ वर्षका लागि 'थन्क्याइदिए।'

यसका पछाडि पनि सिटौला-त्रास जस्तै कारण रहेको बताइन्छ । कसरी भने- डा. शेखर, डा. शशांक, महेश र सुजाता, चारै जनाको गृहजिल्ला मोरङ हो । घिमिरे पनि मोरङकै हुन् । युवा पुस्तामा मात्र नभएर कांग्रेसको पहिलो र तेस्रो पुस्तामा पनि प्रिय र सुपरिचित घिमिरेलाई प्रदेश सभापति बनाउनु भनेको यी चारै जनाको राजनीतिक भविष्यमा जोखिम निम्त्याउनु हो । यही कारण गुरुराज कोइराला-कर्तुतको सिकार बने ।

यी उल्लेखित प्रतिनिधि घटनाले पुष्टि गरेको तथ्य हो- कांग्रेसमा अग्रजको 'आशीर्वाद'को श्राप भोग्नेहरू प्रशस्त छन् र अग्रजलाई गरेको विश्वासको बदलामा घात बेहोर्नेहरूको संख्या पनि कम छैन ।