शेयर बजारमा उत्साह: ५६.७३ अंकले बढ्यो नेप्से

शेयर बजारमा उत्साह: ५६.७३ अंकले बढ्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ६, २०७८

सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ५६.७३ अंकले बढेर २ हजार ६१५.५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

२२६ वटा कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्टिलरी छ । यास कम्पनीको आज १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।       

सबै समूहका सूचक ०.८४ प्रतिशतदेखि ३.८८ प्रतिशतको हाराहारीमा बढेका छन् । नेप्सेका अनुसार ग्रिन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको शेयर मूल्यमा भने पोजिटिभ सर्किट लागेको छ । ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ । 

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ ।