क्यान-खेलाडी विवादले गिजोलिएको नेपाली क्रिकेट

क्यान-खेलाडी विवादले गिजोलिएको नेपाली क्रिकेट

पी. भारद्वाज  |  खेलकुद  |  पुष ७, २०७८

नेपाली राष्ट्रिय क्रिकेट टिम अवस्था राम्रो हुने हो भने अहिले धमाधम अभ्यास र मैत्रीपूर्ण खेलमा हुनुपर्ने हो । अबको २ महिनापछि टि- २० विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । तर, अहिले नेपाली क्रिकेट टिमका सदस्य विभाजित छन्, अर्कातिर नेपाल क्रिकेट संघ (क्यान) खेलाडीमा विभाजन ल्याउन सकेकामा केही हदसम्म आत्मसन्तुष्टिमा छ ।

मुख्य रूपमा नेपाल क्रिकेट संघले ४ जना खेलाडीलाई कारबाही गरेपछि अहिले नेपाली क्रिकेटको भविष्यलाई लिएर अनेक अनुमानहरू गरिएका छन् । नेपाल क्रिकेट संघ क्यानले अनुशासन उल्लंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेपछि अहिले सामाजिक संजालमा क्यानको चर्को आलोचना छ ।

अर्कोतर्फ नवनियुक्त कप्तान बनेका सन्दीप लामिछाने चाँडो विवाद समाधान गरेर अभ्यासमा फर्कनुपर्ने बताइरहेका छन् । सन्दीपलाई क्यान र केही युवा तथा अनुभवी क्रिकेटरको साथ रहेको छ ।

मुख्य रूपमा क्यानले कप्तान मल्लले खेलाडीलाई गुटबन्दी गरेको आरोप खेपेका छन् । मुख्य रूपमा यो विवादको पछि व्यापारिक स्वार्थ समूहको हात प्रत्यक्ष रूपमा रहेको छ । मुख्य रूपमा यो विवादलाई घरेलु फ्रेन्चाइज टी- २० इपीएल र पीपीएल बीचको विवादका रूपमा हेरिएको छ ।

मुख्य रूपमा आमिर अख्तर संग्लग्न रहेको ईपीएल र अप्रत्यक्ष रूपमा पारस खड्का संलग्न रहेको पीपीएल फ्रेन्चाइजबीचको शीतयुद्ध खेलाडी कारबाहीसम्म पुग्यो । ओमान सिरिजबाट फर्किएलगत्तै कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने बताए ।

ईपीएलले भने तामझाम साथ शहीद अफ्रिदी, तमिम इकबाललगायत विदेशी चर्चित खेलाडी अनुबन्ध गरिरहँदा नेपालका चर्चित स्टार, पारस र ज्ञानेन्द्रले भने प्रतियोगिता नखेल्ने निर्णय गरे, जसले गर्दा अख्तर चिढिएनन् मात्र उनले पनि आफूले सकेको राजनीति जारी राखेका छन् ।

यहीबीचमा खेलाडीले क्यानलाई वर्गीकरणमा चित्त नबुझेको भन्दै एक अनलाइनमा अन्तर्वार्ता दिए, जबकि क्यानले त्यो समयमा वर्गीकरण सार्वजनिक गरेको थिएन ।

त्यसपछि क्यानले स्पष्टीकरण सोध्यो । जबाफमा खेलाडीले उल्टो क्यानमाथि प्रश्नको वर्षा गराए, जसले गर्दा क्यान पदाधिकारीहरू थप आक्रोशित बने । उनीहरूले दोस्रो स्पष्टीकरण पत्र पठाए । जबाफ चित्त नबुझेको भन्दै कप्तान मल्ल र उपकप्तान ऐरीलाई जिम्मेवारीबाट मुक्त गर्दा उनीहरू सबै ४ जना खेलाडीलाई सन् २०२२ को सुरुवाती ६ महिना 'सेन्ट्रल' कन्ट्याक नदिने निर्णय गर्‍यो । त्यसयता नेपाली क्रिकेटको भविष्यलाई लिएर अनेक अड्कलबाजी भइरहेका छन् ।

क्रिकेट विवादबीच यू- १९ राष्ट्रिय टिमले सिनियर खेलाडीहरूसँग २ वटा मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको थियो । तर, ज्ञानेन्द्र तथा मैदानबाहिर रहेका पारस खड्कालगायतलाई सपोर्ट गर्ने समूहले राष्ट्रिय टिमका सदस्यलाई विवादका बीचमा मैदानमा नजान फोन नै गरे, जसले गर्दा राष्ट्रिय टोलीसँग खेल्ने उनीहरूको सपना पूरा भएन ।

खेलाडीलाई कारबाही गरेपछि करिब एक दर्जन खेलाडीले क्यानको त्यस निर्णयको खुलेरै विरोध गरे । उनीहरूले मलाई पुग्यो भन्दै सामाजिक संजालमा क्यानको निर्णयको तस्बीर राखेर विरोध गरे । यस्तो गर्नेमा करण केसी,  विनोद भण्डारी,  अविनाश बोहोरा,  रोहित पौडेल,  कुशल भुर्तेललगातयका खेलाडी थिए ।

खेलाडीलाई कारबाही गरेपछि आआफ्नो राजनीतिक पावरको लडाइँ सुरु भयो । यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि खेलकुद मन्त्रीसम्मले चासो राखे ।
शुक्रबार बिहान प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले क्रिकेट खेलाडीहरूमाथि गरिएको कारबाहीबारे प्रधान मन्त्री देउवाको ध्यानाकर्षणनै गराए ।

अर्कोतर्फ अनुशासन उल्लंघन गरेको भन्दै नेपाल क्रिकेट संघले कारबाही गरेका ४ जना खेलाडीले पत्रकार सम्मेलन नै गरेर आफूहरू ठिक रहेको भन्दै क्यानले निर्णय नसच्याए ब्याट र बल बिसाउनेसम्मको चेतावनी दिए । उनीहरूले नेपाली क्रिकेटको यो अवस्थासम्म आइपुग्नुमा आफ्नो भूमिका अहं भएको भन्दै अहिले अवमूल्यन गरेको दुखेसो पोखे । साथै, उनीहरूले सेन्ट्रल कन्ट्याक सच्याउने विश्वास व्यक्त गरे ।

यता, पारसले खेलाडीलाई कारबाही गरेकामा ध्यानाकर्षण भएको बताए । उनले  सिप्यानमार्फत विज्ञप्ति जारी गरे । अध्यक्ष डा. मनीषराज पाण्डे र महासचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा  खेलाडीको जायज माग सम्बोधन गर्नुको साटो कारबाही गर्दा क्रिकेट विकासमा अवरोध पुग्ने भन्दै खेलाडीको माग सम्बोधन गर्न अप्रत्यक्ष दबाब दिए ।

यसबीचमा भइरहेका घटनाक्रमले नेपाली क्रिकेटमा चरम गुटबन्दी रहेको संकेत गरेको छ । खेलाडी र क्यानबीच एकअर्कालाई स्वीकार्न नसक्ने अवस्था आउँदै गर्दा यसको जस/अपजस दुवै पक्षले लिएर विवाद समाधान गर्नुपर्नेमा झनै बढ्दा पुन: एक पटक नेपाली क्रिकेट प्रतिबन्धको खतरातर्फ अघि बढेको छ ।

आईसीसीले आधिकारिक रूपमा अहिले नेपाली क्रिकेटमा भइरहेको गतिविधिबारे केही बोलेको छैन । तर, नेपाल क्रिकेट संघ क्यानले भने खेलाडीलाई स्पष्टीकरणदेखि कारबाहीसम्मको सम्पूर्ण जानकारी आईसीसीलाई गराएको छ । त्यसैले क्यान अहिले राजनीतिक दल तथा सरकारले दबाब दिँदैमा पछि हट्ने स्थितिमा छैन ।

क्यानका अध्यक्ष चन्दले प्रधानमन्त्रीलाई भेटेर नै सरकार या राजनीतिक दलले विवादमा हात हाल्न खोजे नेपाली क्रिकेट आईसीसीबाट निलम्बन मात्र होइन, बर्खास्तगीमै पर्न सक्ने खतरा औँल्याएर फर्किए । त्यसो त अब फेरि पनि कुनै कारणले निलम्बनको खतरा रहेमा नेपाली क्रिकेट पूर्ण प्रतिबन्धमा पर्ने खतरा रहेको छ । त्यो भनेको खेलाडीले समेत खेल्न नपाउने गरी प्रतिबन्धित हुन सक्नेछ ।

त्यसैले क्रिकेट विवादको यो असमझदारीमा दुवै पक्षको समन्वय गर्ने प्रयास खेलकुद मन्त्रीले गरिरहेका छन् । यद्यपि, क्यानका अध्यक्ष चतुरबहादुर चन्द सेन्ट्रल कन्ट्याकमा नरम भए पनि कप्तान परिवर्तनको निर्णय परिवर्तन नहुनेमा बलियो देखिएका छन् । उनले आईसीसीलाई कप्तान परिवर्तनको जानकारी गराइसकेको भन्दै अब फेरि निर्णय फिर्ता गर्न नमिल्ने र त्यसो भएमा संघलाई नै आईसीसीले कारबाही गर्ने खतरा रहेको भन्दै सेन्ट्रल कन्ट्याकको विषयमा नरम भएको बताउँछन् ।

क्रिकेट विवादकै कारण १२ डिसेम्बरबाट तय भएको क्लोज क्याम्पसमेत स्थगित भएको छ । अब नवनियुक्त प्रशिक्षक पुवुदु दशानायकी आएपछि खेलाडीसँग एक समझदारीमा पुग्ने विश्वास गरिएको छ ।

तत्काल एउटा निष्कर्षमा पुगे पनि केही खेलाडी र क्यान पदाधिकारीबीचको यो शीतयुद्ध कहाँ पुगेर टुंगिने हो, त्यसको तय भने भविष्यले नै गर्नेछ । यद्यपि, उठ्दै गरेको नेपाली क्रिकेट फेरि पनि केही सीमित व्यक्तिको स्वार्थको सिकार भने बनेको पक्का छ ।