क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ जना बोर्ड सदस्यको माग

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ जना बोर्ड सदस्यको माग

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ७, २०७८

नेपाल क्रिकेट संघ (क्यान)का ६ जना बोर्ड सदस्यले ४ जना खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । 

बुधबार पत्रकार सम्मेलन गर्दै ६ जना बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेको हो । 

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै सन् २०२१ को सुरुवाती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै, क्रिकेट टोलीको कप्तानीमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । 

'नेपाल क्रिकेट संघ विधि र पद्धतिअनुसार चलोस्, आर्थिक कारोबारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजनाअनुसार संचालन होस् भन्ने हाम्रो मान्यता हो । यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षणसमेत गराउँछौँ । साथै, नेपालमा संचालन भएको ट्राई नेसन टी- २० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौँ', ३  पानाको लामो विज्ञप्तिमा भनिएको छ । 

कारबाही माग गर्ने ६ सदस्य :

ऋषिराम गौतम, केन्द्रीय सदस्य
अमितवीर पाण्डे, केन्द्रीय सदस्य 
करन महतारा, केन्द्रीय सदस्य 
मोहम्मद दाउद अन्सारी, केन्द्रीय सदस्य 
संजयराज सिंह, केन्द्रीय सदस्य
छुम्बी लामा, केन्द्रीय सदस्य (राखेप प्रतिनिधि)