महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ८, २०७८

सुदूरपश्चिम प्रदेशको जीतसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने ४ वटा टोलीको टुंगो लागेको हो । 

यसअघि समूह ‘ए’बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । 

बिहीबार नै हुने एपीएफ र गण्डकी प्रदेशबीचको खेलले समूह ‘बी’को विजेता र उपविजेताको टु‌ंगो लगाउनेछ । एपीएफ र सुदूरपश्चिमको समान ४ अंक छ ।

फाप्ला क्रिकेट मैदानमा १४४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रनमा समेटियो ।प्रदेश २ कि साना प्रविनले १४ रन तथा विमला मगरले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । 

यसअघि सुदूरपश्चिमले विन्दु रावलको अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । विन्दुले अविजित ५० रन जोडिन् । त्यस्तै, रुबी पोदारले २१, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले समान १३ रन बनाए । प्रदेश २ का लागि विमला मगरले २ विकेट लिइन् ।