महिला भलिबल टोलीको लगातार दोस्रो जीत, लक्ष्मीको डेब्यु

महिला भलिबल टोलीको लगातार दोस्रो जीत, लक्ष्मीको डेब्यु

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ९, २०७८

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जीत निकालेको छ । बंगलादेश ढाकाको शहीद सुरावर्दी कभर्ड हलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । 

सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलो पटक टाइम आउट लिन बाध्य भएको थियो । माल्दिभ्सले ४ अंक मात्र बनाएको थियो । 

मुख्य प्रशिक्षक जगदीश भट्टले अनुभवी खेलाडी ओपन स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीलाई बाहिर राख्दै उनीहरूको स्थानमा पहिलो रोजाइमा नयाँ खेलाडी शान्ति थारू, कामना विष्टलाई कोर्टमा उतारेका थिए ।  

यस्तै, राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएकी लक्ष्मी चन्दले समेत डेब्यु गरिन् । नेपाल पुलिस क्लबकी खेलाडी चन्दले पहिलो पटक टोलीमा स्थान बनाएकी हुन् । 

पहिलो पटक राष्ट्रिय टोलीमा परेका शान्ति र कामनाले श्रीलंकाविरुद्धको खेलबाट नै डेब्यु गरिसकेका छन् । साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९ र २५-५ मा स्तब्ध पार्‍याे । 

प्रशिक्षक भट्टले अन्तिम सेटमा प्रतिभा र सरस्वतीलाई कोर्टमा उतारेका थिए । बिहीबार आफ्नो पहिलो खेल खेलेको नेपालले श्रीलंकामाथि ३–२ को जीत हात पारेको थियो । 

नेपालले शनिबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ः१५ मा हुनेछ ।