चन्द्रशम्शेरलाई कृष्णप्रसाद कोइरालाको त्यो पार्सल, जसले निम्त्यायो राणा शासनको अन्त्य

'काङ्ग्रेसले बिराएको बाटो'

चन्द्रशम्शेरलाई कृष्णप्रसाद कोइरालाको त्यो पार्सल, जसले निम्त्यायो राणा शासनको अन्त्य

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  पुष ९, २०७८

राणाहरूको बोलवाला । २ असोज १९०३ मा कोतको हत्याकाण्ड मच्चाएर सत्ताका हर्ताकर्ता बनेका जङ्गबहादुर राणाले बसालेको जहानियाँ शासनको थितिको निरन्तरता कायमै रहेको समय । चन्द्रशम्शेर जस्ता धूर्त र क्षमतावान् प्रधानमन्त्री रहेको बेला ।

कृष्णप्रसाद कोइराला, जो त्यस समयमा केही सचेत, अधिकारका विषयमा जानकार र जनसरोकार र जनचासोका मुद्दामा अगाडि थिए, उनले तराईको सिरहाको माडर भन्ने स्थानबाट तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरलाई त्यहाँका बस्तीका दुखी, गरिबहरूले भोगेको विपन्नता र गरिबीको कहालीलाग्दो अवस्था देखाइदिन उनीहरूका झुत्रा कपडा पार्सल गरेर पठाइदिए- १९७४ साउनमा । उक्त घटना राणा शासकका लागि अप्रत्यासित मात्र थिएन, आक्रोश जगाउने पनि थियो ।

आफ्नो रजगज रहेका बेला, देश आफ्नै कब्जामा रहेका बेला, एउटा साधारण ‘प्रजा’बाट प्राप्त उक्त चुनौती चन्द्रशम्शेरका लागि काफी थियो ‘एक्सन’ लिन, त्यो पनि कडा एक्सन ।

उसो त, चन्द्रशम्शेर र कृष्णप्रसाद कोइरालाबीचको घनिष्ठ सम्बन्धका बारेमा बीपी कोइरालाले पनि आफ्नो पुस्तक ‘आत्मवृत्तान्त’मा केही रोचक कुरा लेखेका छन् । कृष्णप्रसाद समाज सुधारक त थिए नै, उनी सिन्धुलीको दुम्जाबाट तराईतिर लागेपछि सफल व्यापारी पनि भए । विभिन्न ठाउँका भन्सार अड्डाको ठेक्का लिनेदेखि भारतको कलकत्तामा समेत कार्यालय खोलेर जुत्ता, कपडाको व्यापार पनि गर्थे उनी । संस्कृतसँगै अङ्ग्रेजी पनि पढेका कोइराला हिन्दी, फारसी भाषा पनि राम्ररी जान्दथे ।

कृष्णप्रसाद चन्द्रशम्शेरका हितैषी पनि थिए तर अधिकारका सवालमा, न्यायका सवालमा कृष्णप्रसाद कसैसँग सम्झौता गर्न नरुचाउने स्वभावका पनि थिए । चन्द्रशम्शेरसँग निकट र हार्दिक सम्बन्ध नै रहे पनि कृष्णप्रसादले गरेको उक्त कार्य चन्द्रशम्शेरका लागि चिढिने प्रमुख कारक बन्यो ।

उसो त, निकै क्षमतावान् र चलाक कृष्णप्रसादलाई चन्द्रशम्शेरले आफ्नै नियन्त्रणमा राखिरहन चहन्थे । केही त्रास, केही डर र केही धम्कीको ‘लौरो’ बोकेर चन्द्रशम्शेर कृष्णप्रसादलाई आफ्नो निकटताबाट टाढा जान दिन पनि चाहँदैनथे र दबाब तथा नियन्त्रणमा पनि राखिरहने उपाय सोच्थे ।

तर, कृष्णप्रसादबाट अप्रत्यासित पाएको झुत्रो कपडाको पार्सलले चन्द्रशम्शेर स्वाभाविक रूपमै चिढिए । यसपछि कृष्णप्रसाद भारत निर्वासनमा गए ।

त्यही बेलादेखि नै नेपालमा लोकतन्त्र र राणाविरोधी क्रान्ति अघोषित रूपमा सुरु भएको इतिहासविद्हरूले बताउँदै आएका छन् । र, नेपाली काङ्ग्रेस स्थापनाको बीजारोपण पनि त्यही सन्दर्भबाट भएको मान्नेहरू पनि छन् । तथापि, नेपाली काङ्ग्रेसको विधिवत् स्थापना भने त्यसको झण्डै ३ दशकपछि १२-१३ माघ २००३ मा भारतमा भयो । भारतको कलकत्ताको भवानीपुरको अधिवेशनबाट नेपाली काङ्ग्रेस स्थापनाको औपचारिक घोषणा भयो ।

काङ्ग्रेस स्थापनाको पृष्ठभूमि

नेपालमा जहानियाँ राणा शासनको जगजगी । राणा परिवारबाहेकका अन्य रैती र प्रजाको हैसियतभन्दा माथि उठ्न नसकेको अवस्था । देशको शासनभार मात्र नभएर श्रीसम्पत्ति, प्राकृतिक स्रोत, साधनलगायत सबैजसो क्षेत्रमा राणा परिवारकै हालिमुहाली ।

शिक्षा, स्वास्थ्य, उद्योग, रोजगारीको अवसर सबै राणा परिवारका र तिनका आसेपासेका लागि मात्र उपलब्ध हुने । केही सम्पन्न र सुझबुझ भएकाहरू छिमेकी देश भारतका वनारसलगायतका स्थानमा गएर संस्कृत, अङ्ग्रेजी पढेका तर देशभित्र भने सबै कुरा राणाहरूको नियन्त्रणमा ।

त्यही समयमा भारतमा अङ्ग्रेजले जमाइरहेको उपनिवेशविरुद्धको लडाइँ उत्कर्षमा पुगेको । महात्मा गान्धीदेखि जवाहरलाल नेहरू आदि चर्चित नेताहरूको नेतृत्वमा ‘भारत छोडो’ आन्दोलनले तीब्रता पाएको बेला ।

हो, त्यही समयमा कृष्णप्रसाद कोइरालाका पुत्र विश्वेश्वरप्रसाद कोइरालाको हुर्काइको क्रम बढ्दो । सन् १९२० को दशकको सुरुतिरै ६ वर्षका बालक बीपी कोइरालामा महात्मा गान्धीको ‘असहयोग आन्दोलन’को छाप परिसकेको थियो । बीपीले सोही आन्दोलनलाई सहयोग गर्दै सरकारी विद्यालय बहिष्कार गरे ।

बनारसका घरघरबाट बेलायती कपडा जम्मा गर्दै चोकचोकमा लगेर जलाउने काममा सक्रिय रहे बीपी । सन् १९३४ मा २० वर्षको लक्का उमेर । राजनीतिक-सामाजिक चेतको बीजारोपण राम्ररी नै भइसकेको थियो बीपीमा । बीपीमा उमेरसँगै राजनीतिक चेतना पनि बढ्दै थियो । त्यही बेला भारतमाथि अङ्ग्रेजले जमाएको उपनिवेश, भारतीयमाथि गरेको दमन र अन्यायका साक्षी पनि बनेका थिए बीपी ।

अधिकार र स्वतन्त्रताबारे जानकार भइसकेका बीपी गान्धीको अहिंसात्मक भारतीय स्वतन्त्रता सङ्घर्षकाका सजग र सचेत युवा आन्दोलनकारी भइसकेका थिए । भारतीय राष्ट्रिय काङ्ग्रेसभित्रै समाजवादी समूह बलियो रूपमा देखापर्दै थियो । यस समूहले किसान, मजदुर र विद्यार्थीले गरेका अङ्ग्रेजविरोधी विभिन्न आन्दोलनमा बीपीको नेतृत्वदायी भूमिका रह्यो । समाजवादी समूहको बिहार प्रान्तको संगठन सेक्रेटरीका रूपमा बीपीले त्यस समूहको प्रचार एवं किसान, मजदुर र विद्यार्थी संगठनको नेतृत्व गरे । यही कारण बीपी धेरै पटक समातिए र भारतका जेलमा रहे ।

अब बीपीमा राजनीतिप्रतिको झुकाव मात्र बढेन, राजनीति नै आफ्नो मूल लक्ष्य बनाए बीपीले । भारतबाट अङ्ग्रेजलाई लखेट्ने र भारतलाई उपनिवेशबाट स्वतन्त्र बनाउने गान्धीको अभियानमा सक्दो साथ दिन थाले उनले ।

भारतीय राष्ट्रिय कांग्रेसले सन् १९४२ अगस्टमा बम्बई सम्मेलनबाट ‘भारत छोडो’ आन्दोलनको प्रस्ताव स्वीकृत गरेपछि आन्दोलनकारीमाथि धरपकड र गिरफ्तारी बढायो तत्कालीन अङ्ग्रेज शासकले । बीपी यसअघि नै अङ्ग्रेज शासकका नजरमा आन्दोलनकारी बनिसकेका थिए । यनीमाथि अङ्ग्रेज शासकको मिहीन र कडा निगरानी थियो ।

बीपी अब भूमिगत बन्नुपर्ने भयो । भूमिगत रूपमै बीपीले बिहार र उत्तर प्रदेशमा अङ्ग्रेजविरोधी आन्दोलनका लागि जनमत तयार पार्न थाले । विभिन्न कार्यक्रम र अभियानमा नेतृत्व लिन थाले । यसै क्रममा १९४२ नोभेम्बरमा बीपी बिहारको पटनामा पक्राउ परे ।

२ वर्षपछि १७ जनवरी १९४५ मा बीपी हजारीवाग जेलबाट रिहा भए । उनीसँगै अन्य धेरै राजबन्दीहरूलाई पनि रिहाइ गर्न अङ्ग्रेज शासक बाध्य भयो ।

बीपी महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रशिक्षित र प्रेरित रहेकाले पनि उनले १०० वर्षभन्दा लामो जहानियाँ निरङ्कुश राणा शासनको अन्त्य गर्ने अभियानमा हिंसाको नभई, शान्ति र अहिंसाकै बाटो समात्ने निर्णय गरे । उनमा प्रबल विश्वास थियो कि राणा शासनको अन्त्य अहिंसाबाटै सम्भव छ र त्यो पुष्टि गरेर पनि देखाए

यही बेला बीपीका पिताजी कृष्णप्रसाद कोइरालाको काठमाडौंमा निधन भयो । कृष्णप्रसादको २ माघ २००१ मा काठमाडौंमा बन्दी अवस्थामै निधन भएको थियो । संयोग कस्तो थियो भने, भारतमा अङ्ग्रेजविरोधी आन्दोलनमा छोरो बीपी जेलमा, यता राणाविरोधी अभियानमा बाबु कृष्णप्रसाद जेलमा । र, जेलमै रहँदा कृष्णप्रसादको निधन ।

सन् १९४५ मा ६ वर्ष झण्डै चलेको दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । अमेरिका, बेलायतलगायतका त्यस बेलाका ‘गठबन्धन’ देशहरूले विश्वयुद्धका क्रममा निकै ठूलो क्षति बेहोरिसकेका थिए । उनीहरू हरेक हिसाबले कमजोर बन्दै थिए । दोस्रो विश्वयुद्धको समाप्तिसँगै विश्वमा औपनिवेशिक शासन अन्त्य हुने क्रम पनि बढ्यो ।

विश्वका धेरै देशमा शासन जमाइरहेको बेलायतले भारतलगायत दक्षिण एसियाका नेपालबाहेकका सबैजसो देशमा उपनिवेश कायम राखेको थियो । यही क्रममा भारतमा पनि बेलायती उपनिवेशविरोधी आन्दोलनले उत्कर्ष प्राप्त गर्दै थियो ।

‘भारत छोडो’ आन्दोलनकै एक महत्त्वपूर्ण हिस्सा मात्र बनिरहेका बीपीमा अब भने नेपालको शासन व्यवस्थाबारे पनि सोच आयो । १०० वर्षभन्दा लामो समयदेखि जहानियाँ पारिवारिक शासन पद्धति कायम राखेर जनअधिकार खोसेर एकछत्र शोषण गरिरहेका राणाहरू र भारतमा उपनिवेश जमाइरहेका अङ्ग्रेजहरूबीच बीपीले तुलना गरे । आखिर नेपालीको अवस्था पनि राणाहरूको शोषण, पेलान र दलनका कारण भारतीय जनताको जस्तै रहेको निष्कर्षमा बीपी पुगे ।

त्यही बेला भारतमै ४ अक्टोबर १९४६ मा बीपी कोइरालाले निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न संगठित भएर आफ्नो देशप्रतिको कर्तव्य पूरा गर्न सम्पूर्ण नेपालीलाई आह्वान गर्दै एउटा महत्त्वपूर्ण र ऊर्जावान् भाषण गरे । सोही भाषणका कारण भारतमा रहेका अधिकारप्रति सचेत र सजग नेपालीहरू सङ्गठित हुन थाले, राणाविरोधी अभियानमा ।

अबको बीपीको ध्यान नेपालमा राणा शासनको अन्त्य गर्नमा केन्द्रित हुन थाल्यो । आफ्ना पिता कृष्णप्रसाद कोइरालामाथि राणाले गरेको अन्याय, राणाकै जेलमा पिताको निधनको प्रतिशोध अचानक बीपीमा जागेको र यही कारण अचानक बीपी राणाविरोधी आन्दोलनमा लागेका पनि हुन सक्छ ।

बीपी भारत छोडो आन्दोलनसँगै राणा शासनविरोधी आन्दोलनमा पनि सक्रिय हुन थाले भारतबाटै । भारतका विभिन्न भागमा पुगेर त्यहाँका नेपालीसित भेटेर राणाविरोधी आन्दोलनमा सहयोग गर्न आह्वान गरे । धेरै नेपालीलाई जहानियाँ राणा शासनको अन्त्य गरेर प्रजातन्त्र ल्याउन, जनताका अधिकार फिर्ता गर्न उत्साहित र उत्प्रेरित गरे ।

उनको अभियान छोटो समयमै सङ्गठित बन्यो । ३१ अक्टोबर १९४६ (१५ कात्तिक २००३) मा भारतको बनारसमा बीपीकै पहलमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ गठन भयो । यो सङ्गठनले नेपालमा निरङ्कुश जहानियाँ राणा शासनको अन्त्यका लागि एउटा नयाँ पार्टी स्थापना गर्ने निर्णय गर्‍यो । पार्टीकोको अधिवेशन, नाम, झन्डा, विधान आदि सबै तयारीको जिम्मेवारी बीपीलाई दिइयो ।

सोही वर्ष ३-४ डिसेम्बरमा बसेको बैठकले २५-२६ जनवरी १९४७ (१२-१३ माघ २००३) मा कलकत्तामा पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गर्‍यो र अधिवेशन तोकिएकै मितिमा सम्पन्न पनि भयो ।

बीपी कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्यो । पार्टीको झन्डा माथिल्लो भाग सेतो, बीचको हरियो, तल्लो भाग पहेँलो र त्यसको बायाँपट्टिको मध्यभागमा रातो रङको उदाइरहेको सूर्य अङ्कित थियो । अधिवेशनमै यस पार्टीको विधान र विभिन्न प्रस्ताव पारित गरियो ।

पार्टीकोे उद्देश्य ‘अहिंसात्मक साधनद्वारा, जनताको सहयोगले नेपालमा जनउत्तरदायी सरकारको गठन गर्ने’ रहेको थियो । बीपी महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रशिक्षित र प्रेरित रहेकाले पनि उनले १०० वर्षभन्दा लामो जहानियाँ निरङ्कुश राणा शासनको अन्त्य गर्ने अभियानमा हिंसाको नभई, शान्ति र अहिंसाकै बाटो समात्ने निर्णय गरे । उनमा प्रबल विश्वास थियो कि राणा शासनको अन्त्य अहिंसाबाटै सम्भव छ र त्यहीअनुसार बीपी अघि बढे ।

क्रमश: