पठाओले सुरु गर्‍यो राइड सेयरिङ बीमा, के छ प्रावधान ?

पठाओले सुरु गर्‍यो राइड सेयरिङ बीमा, के छ प्रावधान ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ९, २०७८

वैकल्पिक सार्वजनिक यातायात कम्पनीको रूपमा आएको पठाओले राइड सेयरिङ बीमा सेवा सुरु गरेको छ । पठाओले एभरेस्ट इन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो ।

राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले 'राइड सेयरिङ बीमा' सुरु गरेको पठाओ नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बीमा माग दाबी गर्न मिल्नेछैन ।

पठाओ एपमार्फत सहजीकरण गरी उपलब्ध सेवाहरू प्रयोग गर्ने सेवाग्राही तथा राइडर (चालक)हरूको एक लाख रुपैयाँसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा ५ लाख रुपैयाँसम्म बीमा दाबी गर्न सकिन्छ । दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सकिने बस्न्यात बताउँछन् ।

सेवाग्राहीले राइड सेयरिङ बीमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, व्यक्तिगत जानकारी सही हुनुपर्ने र यात्रा सुरु गर्नुपूर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भएबमोजिम छ कि छैन, जाँच गरेर मात्र सवारी लिनुपर्ने शर्त राखिएको छ ।

त्यसैगरी सेवाग्राही र राइडरको पठाओ एपमा व्यक्तिगत विवरण सही हुनुपर्ने र दुर्घटना भएपश्चात् सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने र सोही दिन  पठाओमा खबर गरी र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बीमा माग दाबी गर्न सकिने बताइएको छ ।