६ गोल भएको खेलमा एपीएफ र एनआरटीले अंक बाँडे

६ गोल भएको खेलमा एपीएफ र एनआरटीले अंक बाँडे

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ९, २०७८

लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमा विभागीय एपीएफ क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष लामा, दीपेश धिमाल र नवीन लामाले १-१ गोल गरे ।एनआरटीका लागि दर्शन गुरुङले २ गोल गर्दा मेसौके ओलोमोउले १ गोल गरे । 

सुरुवाती अग्रता बनाएको एनआरटी दोस्रो पटकसमेत अग्रता बनाउँदा जीतबाट बन्चित भयो  । ७ अंक जोडेको एनआरटी छैटौँ स्थानमा छ । ५ अंक बनाएको एपीएफ ११औँ स्थानमा यथावत् छ । 

अहिले साँझ पौने ५ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ । 

फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा  छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

लिगमा १४ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका २ टोली रेलिगेसनमा पर्नेछन् । जारी लिगमा मनाङ-मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ ।