श्रीओम श्रेष्ठ रोदन : नयाँ कृति निबन्धकृति 'अभिवन्द्य'माथि परिचर्चा

श्रीओम श्रेष्ठ रोदन : नयाँ कृति निबन्धकृति 'अभिवन्द्य'माथि परिचर्चा

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष १०, २०७८

 काठमाडौं ।  शंकर लामिछाने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनको नयाँ कृति 'अभिवन्द्य'बारे चर्चा परिचर्चा भयो । उक्त कृतिमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिनुहुने ४१ व्यक्तिहरूबारे लेखिएका आलेखहरू छन् । कार्यक्रममा उक्त कृतिमा चित्रित विशिष्ट व्यक्तिहरू तेजेश्वरबाबु ग्वङ, तुलसी दिवस, मन्जुल, मदनदास श्रेष्ठ, हरिप्रसाद पोखरेल, अशेष मल्ल, चिन्तामणि योगी, निर्मोही व्यास आदिको पनि उपस्थिति थियो ।

कार्यक्रममा वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वङले श्रीओमको कृतिबारे चर्चा गर्दै उनले नेपाली निबन्धका क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको धारणा राख्नुभयो ।

वरिष्ठ कवि तुलसी दिवसले कवि लेखकले परम्परागत  भाषाशैली भत्काउनुपर्ने र आफ्नो छुट्टै पहिचान बनाउनुपर्नेमा जोड दिनुभयो । 

अभिवन्द्य कार्यक्रममा समालोचक ज्ञानु अधिकारी र कवि मोमिलाले कृतिको समीक्षा गरेका हुन् । समीक्षकद्वय मोमिला र ज्ञानु अधिकारीले अभिवन्द्य कृति नेपाली निबन्धसाहित्यको महत्त्वपूर्ण कृति भएको बताउँदै प्रशंसा गर्नुभएको थियो । 

समालोचक अधिकारीले अभिवन्द्य कृति विशिष्ट व्यक्तिहरूप्रतिको अभिनन्दन भएको र कृतिमा जीवन बोध गराउने निवन्धहरू सङ्ग्रहित रहेको बताउनु भयो । 

कार्यक्रममा कवि तथा समिक्षक मोमिलाले साधकहरूलाई गर्नुपर्ने सम्मान अविवन्द्य कृतिले गरेको बताउनु भयो । लेख्नेबेला हरेक लेखक बुद्व बन्ने  भन्दै अविवन्द्य कृति पढेर आनन्दको महशुष गर्न सकिने बताउनु भयो । उनले कृतिभित्रका शीर्षक पढेरै ४१ सर्जकबारे सरल तरिकाले चिन्न सकिने कलात्मक कलाले रोदनका निबन्ध भरिएको बताउनु भयो ।

अध्यक्षको आसनबाट शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले श्रीओम श्रेष्ठ रोदन साहित्यका विभिन्न क्षेत्रमा स्थापित नाम भएको बताउनुभयो । सो अवसरमा मन्जुल, अशेष मल्ल, मदनदास श्रेष्ठ, चिन्तामणि योगी, हरिप्रसाद पोखरेल, डा। लक्ष्मणप्रसाद गौतम, यादव भट्टराई  आदि स्रष्टा, कलाकार, समाजसेवीले पनि बोल्नुभएको थियो ।

अभिवन्द्य निबन्ध कृति यस अघि नै ग्वंग सिरपा भक्तपुरबाट पुरस्कृत कृति हो ।