प्रा.डा. लक्ष्मण गौतम : नेपाली भाषा साहित्यका अविचलित साधक

प्रा.डा. लक्ष्मण गौतम : नेपाली भाषा साहित्यका अविचलित साधक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष १०, २०७८

सिर्जना, समालोचना र प्राध्यापनका माध्यमबाट नेपाली भाषालाई गुनको भारी बोकाउने ‘निर्मम’ साहु हो, प्रा.डा. लक्ष्मणप्रसाद गौतम । नेपाली भाषा तथा साहित्यमाथि कसैले खेलबाड गर्न खोजे वा तलमाथि पार्ने दुष्चक्र गर्न खोजे समालोचनाको हतियार लिएर जाइलाग्नुहुन्छ उहाँ । नेपाली भाषालाई च्यात्ने, उधार्ने काम कतैबाट भएमा प्राध्यापनको माध्यमबाट धेरैलाई सिउने, मर्मत गर्ने विधि सिकाउनुहुन्छ प्राध्यापक गौतम । 

समय, सन्दर्भ र ऋतु-काल हेरी कहाँ, कसरी शब्दको खेती गर्ने भन्ने पाठ पढाउने उहाँ शब्द व्यवस्थापक तथा संयोजक पनि हो । आफ्ना यस्ता अद्भुत क्षमताका कारण शब्द संयोजनका माध्यमबाट उहाँले नेपाली भाषाको भकारीमा थुप्रै अनाज भर्नुभएको छ । 

शब्दको अनाज उत्पादनका लागि उहाँको परिश्रम र साधना अद्भुत छ । उहाँ यो कला आफूसँग सीमित नराखी वितरणका लागि आतुर हुनुहुन्छ । यसको भरपुर फाइदा काइदा नजान्ने तथा साहित्य बजारका नवप्रवेशीहरूले लिइरहेका छन्, जसका कारण नेपाली भाषा साहित्य उर्वर र ओजस्वी भएको छ । 

शब्द-योद्धा गौतम हुनका लागि जति कठिन छ, त्यतिकै सहज पनि छ । संघर्ष, समर्पण र संसर्गले जन्मने नाम हो- लक्ष्मण गौतम । 

०००

उहाँका बुबा सामान्य कृषक । आमा घर व्यवहारमा व्यस्त । कृषिबाहेकको अन्य आयस्रोत केही थिएन । परिवारको पालन पोषणमा समेत आर्थिक कारणले समस्या थियो । त्यसैले उहाँका बुबा बसाइँ सराइ गरेर बागलुङबाट पहिले पाल्पा सर्नुभयो । 

पाल्पापछि भने उहाँहरूको बसाइँ चितवन सर्‍यो । चितवनमा उहाँलाई हेक्का रहेसम्म त्यसबेला उहाँको घर रहेको स्थानमा पनि सालको रूख काटेका ठुटाहरू देखिन्थे । 

०००

आजभन्दा ५८ वर्षअघि गौतमको जन्म बागलुङको गलकोटमा भएको हो । उहाँका कुल ५ दाजुभाइ तथा दिदीबहिनी । उहाँ भने जेठो । 

उहाँको बाल्यकाल खास सुखद रहेन । घरको आर्थिक अवस्था तथा जेठो भएका हुनाले पनि परिवारमा केही सघाउ गर्नै पर्थ्यो ।उहाँको स्वभाव अन्तर्मुखी भएका कारण पनि साथीभाइसँग घुलमिल र खेलकुद त्यति भएन । 

०००

उहाँको प्रारम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालयबाट भएको हो । स्कुल घरबाट एक/डेढ किलोमिटरको दूरीमा थियो ।कक्षामा २५-३० जना हुन्थे । छात्राको संख्या न्यून थियो । 

२ वटा मुढामा ठोकेका फलेकका बेन्च हुन्थे बस्नलाई ।  प्राथमिक विद्यालयपछि उहाँ करिब ३ किलोमिटर परको राष्ट्रिय प्राथमिक विद्यालय जानुभयो । त्यहाँ विद्यार्थी संख्या केही बढी थियो । छात्रा भने कमै थिए । 

पिताजीमा संस्कृतको प्रभाव परेका कारण हुन सक्छ, त्यसपछि उहाँको पढाइ देवघाटको संस्कृत गुरुकुलमा भयो । 

देवघाट गएपछि विद्यार्थीलाई सक्रिय बनाउने वातावरणले उहाँको अन्तर्मुखी स्वभाव बहिर्मुखी बन्यो । साथीहरू पनि भए । नारायणी नदीमा पौडी खेल्न जाने, वनभोज गर्ने आदि गर्दा उहाँको स्वभाव बहिर्मुखी बन्न मद्दत गर्‍यो । 

गुरुकुलको कडा अनुशासनमा पनि यसो आँखा छलेर साथीहरूसँग पौडी खेल्न जाँदा देवघाटको पारिपट्टि कालीगण्डकीको किनारमा उहाँ झन्डै नडुबेको । धन्न, पछि जान्ने साथीहरूले बेलैमा जोगाए । 

मित्र झसेन्द्रसँग एक पटक बाँधी राखेको डुंगा त्यत्तिकै फुकाएर हिँड्नुभयो उहाँहरू । बाहना पनि थियो सँगै । डुंगा आफैँ जाँदाजाँदा कहाँ पुग्यो । बल्लतल्ल कसोकसो डुंगा उहाँहरूले किनारा लगाउनुभयो । आत्तिएर खलखल पसिना आएको आज पनि अनुभव गर्नुहुन्छ गौतम । 

संस्कृत छात्रावास भएका कारण त्यहाँको वातावरण राम्रो थियो । ६ महिना खानका लागि आफ्नो घरबाट चामल लिएर गएर पकाएर खाने । त्यसपछि भने आश्रमको सामूहिक भान्सा जिन्दावाद !

घर भने हप्ता, १५ दिनमा एक पटक । आश्रममा एकदमै सामूहिक भावना हुने गर्थ्यो । उहाँ नितान्त एक्लो अनुभव गर्ने मान्छेलाई छात्रावासले उहाँलाई एकदमै सामूहिक बनायो । सामूहिक भावनाको विकास गरायो । 

खाना खाँदा पनि समूहमा, सानासाना बच्चालाई पनि सामूहिकीकरण गर्न गण्डकीको तीर, जंगलतिर वनभोज लैजाने र त्यहीँ खिर पकाउने, घीउ हालेको भात खाने आदि वातावरणले गर्दा सामूहिक भावनाको एकदमै विकास भयो गौतममा । र, उहाँको अन्तर्मुखी स्वभाव करिब करिब हट्यो । 

०००

गुरुकुलको औपचारिक शिक्षा भने थिएन । तर, त्यहाँको ८ कक्षाको पढाइ, जसलाई प्रथमा भनिन्थ्यो, त्यसलाई भने बनारसको संस्कृत विश्वविद्यालयले मान्यता दिने गरेको रहेछ । 

चन्द्रमणि गुरुले प्रत्येक वर्ष गुरुकुलबाट विद्यार्थीलाई भारतमा संस्कृत पढाउन लैजाने गर्नुहुन्थ्यो । त्यस वर्ष पनि उहाँले १०-१२ जना विद्यार्थी लिएर जानुभयो, जसमध्ये एक हुनुहुन्थ्यो गौतम । 

गुरुले लगेर ऋषिकेशमा भर्ना पनि गरिदिनुभयो । भाषाले केही समस्या परे पनि कलिलो उमेर भएका कारण भाषामा चाँडै नै पकड भयो । सबै सँगै पढेका साथी हुनाले एक्लो अनुभूति हुन पनि पाएन । 

उहाँको माध्यमिक तथा प्रमाणपत्र तहको पढाइ त्यहीँ भयो ।

०००

उहाँ पढेको विद्यालय देहरादुन जिल्लामा पर्थ्यो । गौतम देहरादुन जिल्लामा सर्वोत्कृष्ट हुनुभयो । हरेका जिल्लाका सर्वोत्कृष्टलाई दिल्लीको राष्ट्रिय संस्कृत संस्थानबाट संचालित उत्कृष्ट कलेजहरूमा पठाउने गरिन्थ्यो । तर, त्यहाँ पनि अन्तर्वार्ताबाट छनोट गरिन्थ्यो । 

उहाँ त्यहाँ तेस्रो नम्बरमा पर्नुभयो । उहाँले त्यहीँ शास्त्री पढ्नुभयो । उहाँलाई शास्त्री पढ्दै गर्दा संस्कृत मात्र पढेर हुँदैन भन्ने लाग्यो । अनि, उहाँले समाजशास्त्र र साहित्य लिएर हिन्दी विषयमा बीएमा भर्ना हुनुभयो । 

छात्रावास त्यहीँ भएकाले खान, बस्न समस्या थिएन । तर, कक्षाको समय उही हुने हुँदा मिलाएर कक्षा लिने गर्नुहुन्थ्यो उहाँ । कहिले यताका कक्षा छुट्थे अनि कहिले उताका । तर पनि मिलाएरै पढिरहनुभएको थियो उहाँ । 

हुनत ऋषिकेशमा पढ्दै गर्दा २०३६ सालमा नै उहाँको 'मातृभूमि' शीर्षकको पहिलो कविता 'नयाँ पुकार' पत्रिकामा छापिएको हो । 

विवाह भएकै दिन उहाँको पहिलो जागिर भएको हो । साथी बुद्धिनाथ अधिकारी उहाँलाई खोज्न घरमा आउनुभएको थियो त्यो दिन । आमाले 'बजारमा कपडा किन्न गएका छन्' भनेपछि संभावित ठाउँमा पुगेर अधिकारीले उहाँलाई साइकल चढाएर जागिर खुवाउन लिएर जानुभएको हो । 

तर पनि उहाँको परिवारमा कोही पनि साहित्यमा संलग्न भने हुनुहुन्थेन । त्यस कारण पनि उहाँलाई उहाँको अन्तरचेतनाले नै साहित्यमा लाग्नुपर्छ भने जस्तो लाग्थ्यो । सायद त्यसै कारण साहित्यमा भर्ना हुन पुगेको हो कि भन्ने लाग्छ लक्ष्मणलाई । 

०००

दिल्ली गएपछि भने उहाँले बल्ल संसार यो रहेछ भन्ने थाहा पाउनुभयो । त्यसअघिसम्म उहाँलाई त्यस कुराको भेउ रहेनछ । 

त्यहाँ दिल्ली विश्वविद्यालयका मानिएका प्राध्यापक तथा हिन्दी साहित्यका प्रख्यात विद्वान् डा. रमाकान्त शुक्ल महिनाको एक दिन साहित्यमा उत्प्रेरणा जगाउन तथा प्रशिक्षण दिन आउनुहुन्थ्यो । त्यसले उहाँमा यति प्रभावित बनायो कि प्रश्न सोध्ने र अन्य कुरामा उहाँ नै अगाडि हुनुहुन्थ्यो । 

यसरी दुवै रतिर मिलाएर पढ्दा पनि उहाँ शास्त्रीको पहिलो तथा दोस्रो वर्षमा उत्कृष्ट हुँदै दिल्ली प्रदेशबाट नै उहाँले छात्रवृत्ति पाउन सफल हुनुभयो । गौतम आफूलाई उत्प्रेरित गर्ने तथा साहित्यमा लैजाने गुरुका रूपमा आज पनि डा. शुक्ललाई मान्नुहुन्छ । 

प्रश्न सोध्ने आदि इत्यादि कुराले प्राध्यापक शुक्ल यति प्रभावित हुनुभयो कि उहाँले गौतमलाई एकदमै प्रतिष्ठित साहित्यिक कार्यक्रममा लिएर जान थाल्नुभयो । 

उहाँ पहिलो वर्षको विद्यार्थी हुँदा शुक्लले दिल्ली विश्वविद्यालयको एकदमै प्रतिष्ठित पत्रिकामा उहाँको रचना छापी पनि दिनुभयो । 

शुक्लले आमनागरिकले हेर्न नपाउने ठूलाठूला शास्त्रीय नाटक हेर्न उहाँलाई लिएर जानुहुन्थ्यो । 'गान्धी' फिल्मको पहिलो प्रदर्शनी इन्दिरा गान्धीसँग एउटै हलमा हेर्ने सौभाग्य उहाँलाई डा. शुक्लकै माध्यमबाट प्राप्त भएको थियो । त्यो क्षण उहाँको स्मरणमा ताजा नरहने कुरै भएन । 

उहाँले गौतमभित्र अथाह प्रतिभा रहेको बताएर भारतमै बसेर एमए तथा पीएचडी गर्न अनुरोध नगर्नु भएको होइन । तर, विविध परिस्थितिका कारण उहाँ एमए नगरी फर्कनुभयो । 

०००

शास्त्री दोस्रो वर्षमा उहाँले ऐच्छिक नेपाली विषय पनि लिनुभएको थियो । नेपाली पढाउनका लागि भन्दा पनि त्यस बेला अनौपचारिक कक्षा लिनका लागि डा. ईश्वर बराल आउनुहुन्थ्यो । त्यतिखेर बराल जेएनयूमा पढाउनुहुन्थ्यो । 

हप्ताको एक दिने अनौपचारिक कक्षाका लागि कलेजले डा. बराल आउने व्यवस्था गरेको थियो । उहाँ आउँदा हामीले त नेपाली साहित्य के पढेका रहेछौँ र भन्ने भान भयो उहाँलाई । 

उहाँले कक्षा लिएपछि आफ्नो स्तर छर्लङ्गै हुन्थ्यो । डा. बरालको मिजास अलिक कडा पनि थियो । साहित्यको मूल्य के हो भन्ने आफूले डा. बरालबाट थाहा पाएको बताउन कुनै हिचकिचाहट मान्नुहुन्न गौतम । 

र, उहाँलाई साहित्यमा उत्प्रेरित गर्न दिल्लीका प्राध्यापक जाने उच्चस्तरीय साहित्यिक कार्यक्रम विरलै छुटेका होलान् । त्यो गौरवबोध अहिले पनि गर्नुहुन्छ लक्ष्मण । 

डा. शुक्ल भारतकै ठूला विद्वान् मानिनुहुन्छ । उहाँले गौतमलाई माया गरेर कैयौँ हस्त लिखित पत्रहरू पठाउनुभएको थियो । तर, विडम्बना ! चितवनको काठको घरमा महत्त्वपूर्ण दस्ताबेज सुरक्षित गरेर राख्ने क्रममा बाहिरी कपडा सग्लो रहे पनि भित्रका कागजपत्र भने सबै धमिराका प्यारा बने । 

डा. शुक्लको प्यार र गौतमको उहाँप्रतिको सम्मानलाई धमिराले धुलिसात बनायो । यसको अपूरणीय क्षतिमा उहाँलाई अहिले पनि पछुतो लाग्छ ।

०००

आमा बिरामी भएका कारण फर्केको ४ महिनामा केवल २२ वर्षको उमेरमा उहाँको विवाहसमेत भयो- २०४२ सालमा । 

उहाँको २ छोरी तथा एक छोरा । दुवै छोरीको विवाह भइसकेको छ । जेठी छोरी साहित्यकार तथा वीर अस्पतालको सातौँ तहको नर्सिङ अधिकृत हुनुहुन्छ । अर्की छोरी समाजशास्त्रमा एमए गरेर पोखरामा पढाउनुहुन्छ ।  छोरा भने आफ्नै इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत हुनुहुन्छ ।

०००

उहाँ घरको जेठो बाठो भएकाले परिवार हेर्नका लागि पनि उहाँलाई फर्कनुपर्ने बाध्यता रह्यो । शास्त्री सकिनेबित्तिकै उहाँ नेपाल फर्कनुभयो । फर्किएपछि जागिरका लागि भौँतारिनुपर्ने बाध्यता पनि भयो ।

नेपाल फर्किएको ४ महिनामा उहाँलाई बुद्धिनाथ अधिकारी भन्ने एक जना साथीले रामपुर क्याम्पसको भित्र रहेको रामपुर माध्यमिक विद्यालयमा जागिर खानका लागि उहाँकै साइकलमा लिएर जानुभयो । 

सँगै आएका साथी भने एमए गर्नतिर लागे । उहाँ भने पढाउन । सायद साथीहरू पढ्न थाले भन्ने खट्को कतै मनमा थियो कि उहाँलाई, २ वर्ष पढाएपछि अब पढाइलाई अरू कुनै विषयका माध्यमबाट अगाडि बढाउनुपर्छ भन्ने लाग्यो र उहाँले पत्रकारितामा बीए सुरु गर्नुभयो । 

त्यस बेला चितवनबाट निस्कने 'चितवन पोस्ट' र 'साप्ताहिक चितवन'मा पत्रकारिता गर्दै पत्रकारितामा बीए पनि पूरा गर्नुभयो । साथै, बीएड पनि गर्नुभयो । पत्रकार बन्ने बाटो त खुल्यो तर त्यसपछि उहाँलाई आफ्नो बाटो यो पनि होइन भन्ने लाग्यो ।

०००

अब सुरु भयो उहाँको पढाउने अर्को अध्याय चितवनको धेरै पटक एसएलसी बोर्ड ल्याउन सफल बालकुमारी माध्यमिक विद्यालयमा, जुन स्कुल राजा वीरेन्द्रले उद्घाटन गर्नुभएको हो ।

उहाँलाई यतिले मात्र पनि सन्तुष्टि दिएन । अब एमए गर्नुपर्छ भन्ने लाग्यो उहाँलाई । र, एमएमा भर्ना हुनुभयो कीर्तिपुरमा । 

उहाँ सरकारी कोटाको जागिरे भएकाले केही अप्ठ्यारो त थियो । तर, शिक्षाको महत्त्व बुझेका प्रधानाध्यापक भएका हुनाले नियमित कक्षा चलेको बेला पहिलो र दोस्रो दुवै वर्ष ३ महिना कक्षा लिन जानका लागि उहाँलाई रोक्नुभएन । ती ३ महिना भने उहाँले सट्टा शिक्षकको व्यवस्था मिलाउनुभयो । 

यसलाई सौभाग्य मान्ने कि नियति, उहाँ पनि स्पष्ट हुनुहुन्न । यसरी पढ्दा पनि उहाँले स्वर्ण पदक पाउन सक्नुभएन । केवल ४ नम्बरले उहाँले स्वर्ण पदक गुमाउनुभयो । सखीशरण सुवेदी सर्वोत्कृष्ट हुनुभयो । उहाँले नामका अगाडि डा. नलेखी आफ्नो शैक्षिक योग्यतामा बिट मार्ने काम गर्नुभएन । 

०००

एमए सकिएको भोलिपल्टदेखि नै उहाँले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा एमए दोस्रो वर्षमा पढाउन थाल्नुभयो । त्यस बेलासम्म उहाँ माध्यमिक शिक्षकलाई तालिम दिने, गाइड लेख्ने आदि इत्यादि गरेर चितवनमा आफूलाई चिनाइसक्नुभएको थियो । 

त्यस बेला त्रिवि सेवा आयोगमा जाँच दिन प्रथम श्रेणीकाले एक वर्ष तथा द्वितीय श्रेणीकाले भने २ वर्षको अनुभव भएपछि मात्र पाउने प्रावधान थियो । 

आयोगको परीक्षा १३ महिनामा खुल्यो । आयोगमा उहाँले पहिलो नम्बरमा नाम निकाल्नुभयो । पहिलो हुनेले त्रिविमै पढाउन पाउने व्यवस्था थियो । 

तर, उहाँले भने घर पायक र घर व्यवहार हेर्नुपर्ने कारणले चितवन जाने माग गर्नुभयो । 'अरू त्रिवि आउन मरिहत्ते गर्छन्, तपाईँ किन त्यसो गर्नुहुन्छ ?' भनेर उहाँलाई कर्मचारी प्रशासन प्रमुख पार्थ सारथि भट्टराईले नसम्झाएको होइन । तर, समय सन्दर्भ त्यस्तै रह्यो भन्नुहुन्छ उहाँ । 

बिस्तारै उहाँलाई चितवन साँघुरो हुँदै गयो । अनि, आयोगमा नाम निस्किएको ९ वर्षपछि फेरि 'घुम्दै फिर्दै रुम्जाटार' भनेझैँ उहाँ कीर्तिपुर आउनुभयो पढाउन । त्यस बेला पार्थ सारथिका एक-एक शब्द उहाँको मन-मस्तिष्कमा घुमिरहे । 

पढाउने क्रमसँगै उहाँको ब्याचमा रिडर हुने तथा प्राध्यापक हुने पनि उहाँ नै पहिलो भएको पनि उहाँ सुनाउनुहुन्छ । 

०००

चितवनको रामपुर माविमा उहाँको पहिलो जागिर हो । बीए गरिसकेको हुनाले 'निमाविमा के पढाउनु' भनेर उहाँ ५ किलोमिटर टाढा जानुभयो माविमा पढाउन । 

उहाँ चितवनकै नामी बालकुमारी माविमा आउनुभयो पढाउन । त्यहाँका शिक्षक घनश्याम शर्मा पौडेल राष्ट्रियसभाका सांसद भएपछि ठाउँ खाली भयो । आवेदन खुल्यो । लिखित, अन्तर्वार्ता र कक्षा अवलोकनपछि उहाँ छनोट हुनुभयो । 

शहरको मुटुको विद्यालय भएको हुनाले फैलन खोज्ने उहाँलाई त्यसले ठूलो मैदान दियो । त्यहाँ छँदै उहाँले त्रिवि सेवा आयोगमा नाम निकाल्नुभयो र त्यसको भोलिपल्ट नै स्कुलमा राजीनामा दिएर कलेज पढाउन लाग्नुभयो । 

०००

विवाह भएकै दिन उहाँको पहिलो जागिर भएको हो । साथी बुद्धिनाथ अधिकारी उहाँलाई खोज्न घरमा आउनुभएको थियो त्यो दिन । आमाले 'बजारमा कपडा किन्न गएका छन्' भनेपछि संभावित ठाउँमा पुगेर अधिकारीले उहाँलाई साइकल चढाएर जागिर खुवाउन लिएर जानुभएको हो । 

उहाँको तलब त्यस बेला ५९० रुपैयाँ थियो । उहाँसँग साइकल पनि थिएन । इन्डियन हिरो साइकलको दाम ८०० रुपैयाँ थियो । चाइनिज फोनिक्स साइकलको भने एक हजार ४०० रुपैयाँ थियो । 

तलबको आधा दाम उहाँले साइकलको किस्ताबन्दीका लागि छुट्याउनुभयो । बाँकी भने घर व्यवहारमा खर्च भयो । त्यो समय नै बेग्लै रहेको उहाँ सम्झनुहुन्छ । किनकि दही, चिउरा, तरकारी, चना र चिया महिनावारी खाएको बढीमा ३२ रुपैयाँ नत्र २८ रुपैयाँ हुन्थ्यो । 

करिब ३ महिनाको किस्तापछि भने हिरो साइकलले उहाँलाई मालिक घोषणा गर्‍यो । उहाँले घोषणालाई सहर्ष स्वीकार गर्दै साइकलको रफ्तारसँगै उन्नतिका रफ्तार बढाउँदै जानुभयो । 

०००

चुप लागेर नबस्ने उहाँको स्वभाव छ । फुर्सदको समयमा घर बस्दा उहाँको ८० प्रतिशत समय भनेको लेखपढमै बित्ने गर्छ । सायद त्यसकै परिणति हो- उहाँका डेढ दर्जन समालोचनाका किताब प्रकाशन भएका छन् । सम्पादन पनि त्यत्तिकै गर्नुभएको छ । 

अनुसन्धानात्मक लेखहरू झन्डै २०० जति होलान् । अन्य फुटकर लेख रचना झन्डै ५०० को हाराहारीमा रहेका उहाँ बताउनुहुन्छ । 

अहिले पनि करिब ८०० पेजको नेपाली कविताको इतिहास सम्पन्न गर्दै हुनुहुन्छ । उहाँलाई साहित्यबिना आफू अपूरो हुन्छु जस्तो लाग्छ । त्यसैले अधिक समय उहाँको प्राध्यापन तथा साहित्य सिर्जनामै बित्ने गरेको छ । 

०००

उहाँको संघसंस्थामा संलग्नता उत्तिकै बाक्लो रहेको थियो । तर, अहिले भने उहाँले धेरै समय अध्ययन तथा लेखनलाई नै दिने गर्नुभएको छ । चितवन साहित्य परिषद् (चिसाप), चितवन वाङ्मय प्रतिष्ठान, नारायणी कला मन्दिरलगायत थुप्रै संघसंस्थामा उहाँको संलग्नता रहेको थियो । 

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको महासचिवबाहेक अहिले उहाँ धेरै संस्थाको पदीय जिम्मेवारीमा भने हुनुहुन्न । 

सम्मानित तथा सल्लाहकारका भूमिकामा भने नारायणी कला मन्दिरको आजीवन सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको सल्लाहकार, नेपाल-जापान साहित्य समितिको सल्लाहकार, लघुकथा समाजको सल्लाहकार हुनुहुन्छ । 

उहाँलगायतका अन्य साथी मिलेर 'मधूलिका' नामक साहित्यिक पत्रिका पनि निकाल्नुहुन्थ्यो । प्रेस काउन्सिलले उत्कृष्ट साहित्यिक पत्रिकाका रूपमा पुरस्कृत गर्न छनोटमा परे पनि सम्पर्क ठेगाना केही थिएन । 

ठेगानामा चितवन वाङ्मय प्रतिष्ठान, चितवन मात्र लेखिएको थियो, जसका कारण नाम छनोट भए पनि पुरस्कृत हुन नसकेको तीतो अनुभव पनि छ उहाँको । 

०००

प्रकाशित पुस्तकहरू

नन्दनको काव्यिक परिवेश- समालोचना, चितवनको साहित्यः सर्वेक्षण र विश्लेषण- समालोचना, सान्दर्भिक समालोचना- समालोचनासंग्रह, समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण- अनुसन्धानात्मक समालोचना, विज्ञान शब्दकोश (सह)- नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, नोबेल पुरस्कार विजेता साहित्यकार (सह), नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना- अनुसन्धानात्मक समालोचना, समकालीन नेपाली कविताका प्रवृत्ति- अनुसन्धानात्मक समालोचना, उत्तरवर्ती नेपाली समालोचना: केही प्रतिरूप- समालोचना, राजनीतिक आन्दोलन र समकालीन नेपाली कविता- अनुसन्धानात्मक समालोचना, नेपाली कथाको इतिहास (सह)- अनुसन्धानात्मक समालोचना, कविताको सैद्धान्तिक विमर्श- समालोचना, चितवनको साहित्यिक रूपरेखा- समालोचना, लघुकथाको रचना विधान- समालोचना, ऊहापोह- कथासङ्ग्रह, आधुनिक नेपाली छन्दकवितामा युगीन यथार्थ- अनुसन्धानात्मक समालोचना) आदि गौतमका प्रकाशित पुस्तकहरू हुन् । 

००० 

सम्पादित 

शब्दहरू अविराम यात्रामा- संयुक्त कवितासंग्रह (२०५७), आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम: अभिनन्दन ग्रन्थ, (२०६०), नेपाली यौन कथा, भाग–२ (२०६१), समकालीन नेपाली द्वन्द्व कथा (२०६३), अन्तर-संवाद, अन्तर्वार्तासंग्रह, (२०६५), सनत रेग्मी: संवाद सन्दर्भ (२०६६), रत्न बृहत् नेपाली समालोचना-सैद्धान्तिक खण्ड (समालोचनासंग्रह, (२०६९), रत्न बृहत् नेपाली समालोचना- प्रायोगिक खण्ड (समालोचनासंग्रह, (२०६९), प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता (भाग १), (२०७०), प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता (भाग २), (२०७०), प्रज्ञा आधुनिक नेपाली कथा (भाग ३), (२०७२), प्रज्ञा समकालीन नेपाली कविता विमर्श, (२०७२)( अनुसन्धानात्मक समालोचनासंग्रह), प्रज्ञा आधुनिक नेपाली कथा (भाग ४), (२०७३), प्रज्ञा आधुनिक नेपाली कथा (भाग ५), (२०७३), प्रज्ञा आधुनिक नेपाली कविता, (२०७४), रत्न बृहत् नेपाली समालोचना- तेस्रो खण्ड (समालोचनासंग्रह, (२०७८) आदि गौतमले सम्पादन गरेका प्रमुख पुस्तक हुन् ।

००० 

पुरस्कार/सम्मान 

उहाँले निम्न पुरस्कारका अलावा अन्य थुप्रै पुरस्कार प्राप्त गर्नुभएको छ । 
नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मान (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०), रत्न श्रेष्ठ पुरस्कार (२०६१), रोहिणी अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट कृति पुरस्कार (सन् २००३-००४, अमेरिका), अभिव्यञ्जना साहित्य सम्मान (२०६४), कालिका स्रष्टा सम्मान (२०६५), चिसाप कृष्णकुमारी स्मृति पुरस्कार (२०६६), तन्नेरी विशिष्ट साहित्य सम्मान, (२०६७), रत्न श्रेष्ठ पुरस्कार (२०६७)(दोस्रो पटक), नेपाल विद्या भूषण- 'क' (२०६७) ।