लिङ्देनका लागि उनिएको २५ किलोको माला जब टेबुलले लगायो...

लिङ्देनका लागि उनिएको २५ किलोको माला जब टेबुलले लगायो...

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १०, २०७८

स्वागत र सम्मानका लागि पहिले अतिथिलाई माला र खादा लगाइदिने परंपरा छ हामीकहाँ । राजनीतिक समारोह होस् या अन्य कुनै कार्यक्रम, सबैमा माला, खादा अनिवार्य जस्तै छ । माला खादा भएन भने त्यो कार्यक्रम मात्र होइन, अतिथिले समेत खल्लो महसुस गर्ने गर्छन् । कार्यक्रम पनि त्यति सुहाउँदो देखिँदैन ।

यो आधुनिक नेपाली समाजको 'थिति' जस्तै बनिसकेको छ । समाजको कुनै क्षेत्रमा केही गनिने वा चिनिने अथवा उच्चपदस्थ व्यक्ति छ भने त उसलाई लगाइदिने मालाको तौलमै प्रतिस्पर्धा हुने गरेको छ । १०० किलोचन्दा बढी तौलका माला लगाइदिने प्रतिस्पर्धा विशेषगरी राजनीतिक क्षेत्रमा बढेको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सम्मले भारी तौलका माला गलामा उनिसकेका छन् । र, उत्तिकै आलोचितसमेत बनेका छन्- माला-भक्ति स्वीकार गरेकामा ।

तर, कुनै त्यस्ता नेता पनि रहेछन्, जसले आफूलाई सम्मानका लागि ल्याएको खादा, माला नलगाएर फर्काइदिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दाङमा भएको एउटा भव्य आमसभामा यस्तै गरेका छन् । केन्द्रीय अध्यक्षको स्वागत सम्मानका लागि ल्याइएको २५ किलोको हजारी फूलको माला लिङ्देनले लगाएनन् बरु आफू बसेको कुर्सीको अगाडि रहेको टेबुलमा कार्यक्रम अवधिभर माला राख्न लगाए ।

अध्यक्षको गलामा लगाउन भनेर कपिलवस्तुबाट ल्याइएको माला लिङ्देनको गलाले नभएर कार्यक्रम अवधिभर टेबुलले लगायो । प्रदेश आमसभाको सिलसिलामा बिहीबार लिङ्देन दाङको तुलसीपुर आएका थिए ।

अध्यक्ष निर्वाचित भएपछि लिङ्देन दोस्रो अनौपचारिक कार्यक्रमको अवसरमा दाङ आएका हुन् । उनी आफैँले पनि इलामपछि दाङको कार्यक्रममा सहभागी भएको बताए । 

सयपत्री फूलको २५ कलोको माला कार्यक्रम स्टेजमा लिएर अध्यक्षलाई लगाउन खोजियो तर त्यो प्रयास असफल भयो । जब माला लगाउन र सम्मान गर्न भनेर कार्यकर्ताको स्वागत टोली मालासहित स्टेजमा उक्लियो, अध्यक्ष लिङ्देनले त्यो माला लगाउन मानेनन् । छोएजस्तो गरेर नजिकैको टेबुलमा राख्न भने । भारी फूलको मालाले स्वागत (चाकडी?) गर्नेहरूले अकबक्क गर्दै माला टेबुलमा राखिदिए । लिङ्देनलाई एउटा सानो खादा लगाइदिएर उनीहरू फिर्ता भए । 

१० मिनेटजति खादा लगाएका लिङ्देजले त्यो पनि निकालेर २५ किलोको मालासँगै टुबुलमा राखिदिए । आफूले रुद्राक्षको माला मात्र लगाएर बसे । त्यसको केही बेरमा फेरि सयपत्री र मखमली फूलबाट बनाइएको ५ किलोको अर्काे माला लिएर नयाँ टोली स्टेजमा उक्लियो । त्यो माला पनि लगाइदिन टोली सफल भएन । ३ पटक फरक फरक प्रकृतिका माला लिएर कार्यकर्ताहरू अध्यक्ष लिङ्देनलाई स्वागत गर्न गए पनि कुनै पनि माला उनको गलामा पसेन । सबै माला टेबुलमा राखियो  । 

माला नलगाएको विषयमा उनले सजिलो उत्तर दिए, 'मैले माला लगाउने गरी काम केही गरेको छैन । त्यसैले मालाको स्वागत स्वीकार गरिनँ ।‘

'मैले नै के काम गरेको छु र यो सुन्दर फूलको माला लगाउनलाई ?', उनले हाँस्दै भने, 'म यो माला लगाउन लायक अझै भइसकेको छैन जस्तो लाग्छ ।‘

लिङ्देनले कसैलाई खुसी पार्ने नाममा यति ठूलो माला तयार पार्नु र फूलहरू नष्ट गर्नु सही नभएको पनि बताए ।

अध्यक्षले नै माला लगाउन नमानेपछि मञ्चमा रहेका अरू नेताहरू उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्य, प्रदेश अध्यक्षले पनि लगाएको माला निकालेको दृश्य कार्यक्रममा अनौठो मजाको देखिएको थियो ।