जनकविकेशरी धर्मराज थापा: आँगनमै सन्ध्याकालीन काव्य अर्चना

जनकविकेशरी धर्मराज थापा: आँगनमै सन्ध्याकालीन काव्य अर्चना

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष ११, २०७८

कास्की । जनकविकेशरी धर्मराज थापाको पोखराको बाटुलेचौर स्थित कविगृहको आँगनमा शुक्रबार सन्ध्याकालीन काव्यअर्चना कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा धर्मराज थापा स्मृति प्रतिष्ठानले शनिवार आयोजना गर्ने गण्डकी क्षेत्रका लोकसंस्कृति र साहित्य विषयक विशेष सङ्गोष्ठीको पूर्वसन्ध्यामा आयोजित उक्त काव्यअर्चना कार्यक्रमको समुद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभयो ।

जनकविकेशरी धर्मराज थापाका सुपुत्र प्रा. कुञ्जराज थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुलपति उप्रेती प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने उपकुलपति डा. जगमान गुरुङ र प्राज्ञ परिषद् सदस्य डा. देवी नेपाल विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । समुद्घाटनका क्रममा कुलपति उप्रेतीले जनकविकेशरीको आँगनमा आएर काव्यअर्चना कार्यक्रमको समुद्घाटन गर्न पाएकामा खुसी व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठान गण्डकी क्षेत्रको लोकजीवन, लोकसंस्कृति र लोकसाहित्यको वर्तमान अवस्थाको खोजी गर्नका लागि पोखरा आएको विचार व्यक्त गर्नुभयो भने उपकुलपति डा. गुरुङले काव्यअर्चनाबाट जनकविकेशरीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको विचार व्यक्त गर्नुभयो । यस अवसरमा प्राज्ञ डा. नेपालले वाचित कविताहरूको समेत समीक्षा गर्दै जनकविकेशरीले टेकेको माटोमा उम्रिएका झार, यहाँका ढुङ्गा र रुखहरूमा पनि लोकगीत र लोककविताहरू सदैव गुन्जिरहने विचार व्यक्त गर्नुभयो ।

डा. जगन्नाथ रेग्मीको सञ्चालन र कवि छन्दमणि त्रिपाठीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा कविहरू रमेश श्रेष्ठ, शिव त्रिपाठी, गणेश खतिवडा, दुर्गाकिरण तिवारी, लालबहादुर भुजेल, छन्दिका त्रिपाठी, अम्बिका भण्डारी, लक्ष्मी थापा, डा. गेहेन्द्रमान उदास, अजित उत्सव, धर्मराज पौडेल अल्पायु, सावित्री गिरी, लीलाधर आचार्य, केशव ज्ञवाली, कृष्णप्रसाद बाँस्तोला, नेत्रबहादुर बानियाँ, नितेश गिरी, शरण आँसु, माधव खतिवडालगायतका डेढ दर्जन कविहरूले आआफ्ना कविता, मुक्तक, गीत र गजलहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गायक पदमराज ढकालले जनकविकेशरीको स्मरण गर्दै दुईओटा गीत गाउनुभएको थियो भने सरला अधिकारीले ‘साइँली रिमाई चौँरी गाई, झर्‍यो रिमाई मधुवनैमा’ गीत गाएर उहाँप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।

साँझ ६ बजेदेखि १० बजेसम्म सञ्चालित उक्त काव्यअर्चना कार्यक्रममा लोकगायकहरू बुद्धिमान धम्पुदुरा, सीता दुरा, बालकासी गुरुङ, चुनी गुरुङ, टसबहादुर गुरुङको समूहबाट प्रस्तुत ठाडो भाकाको प्रस्तुतिले सबैको मन जितेको थियो । 

उक्त कार्यक्रममा जनकविकेशरी धर्मराज थापाकी सुपुत्री प्रसिद्ध गायिका ज्ञानु राणा, सुपुत्रहरू मदनराज थापा, डा.बुलन्द थापा, थापा परिवारका सदस्यहरू, युवासमालोचक तर्कना शर्मालगायत पोखराका विशिष्ट साहित्य तथा संस्कृतिकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।