माओवादी केन्द्रको सम्मेलन महाधिवेशनमा रूपान्तरण: रोकिएला त क्षयीकरणको शृङ्खला ?

लोकसंवाद टिप्पणी

माओवादी केन्द्रको सम्मेलन महाधिवेशनमा रूपान्तरण: रोकिएला त क्षयीकरणको शृङ्खला ?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०७८

नेपालमा बन्दुकमार्फत सत्ता ल्याउने अठोट गरेर १० वर्षसम्म हिंसात्मक विद्रोह गरेको माओवादी केन्द्रले आज माओको जन्मजयन्तीको अवसर पारेर पार्टीको महाधिवेशन सुरु गर्दैछ ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनेको माओवादीले शनिबारमात्रै महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । पछिल्ला १५ वर्षमा पटक पटक एकता र फुटका शृङ्खला बेहोरेको माओवादी यसपटक नयाँ विचार निर्माण गर्ने बताउँदै आएको छ । तर माओवादीले भनेको कस्तो विचार हो र त्यसले पार्टीलाई कसरी नयाँ उत्साह ल्याउन र छलाङ मार्न सक्छ भन्ने बारेमा केही बताइरहेको छैन । 

२०६३ सालमा विद्रोहको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी २०६४ को संविधानसभाको निर्वाचनमा देशकै सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो । प्रत्यक्षतर्फत २४० सिटमध्ये १२० स्थानमा जित हात पारेको माओवादी पहिलो संविधानसभामा २३७ सिटसहित पहिलो पार्टी थियो ।

माओवादीले २०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा (एकता केन्द्र) सँग एकता गर्‍यो र पार्टीको नाम एकीकृत नेकपा (माओवादी) राख्यो । यो एकतासँगै माओवादीमा विभाजनको शृङ्खला पनि सुरु भयो । मातृका यादवले पार्टी एकताप्रति असहमति जनाउँदै नेकपा (माओवादी) पार्टी ब्युँताए । तर उनी नाम राख्न बाहेक अरु गतिविधिमा पूर्णतः असफल सावित भए । माओवादीले पार्टी एकताका लागि भन्दै पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा अपनाउँदै आएको ‘प्रचण्डपथ’ छाड्यो भने माओवादलाई छाडेर माओविचारधारा बनायो ।

माओवादीले आफ्नो नेतृत्वमा २०६५ मा बनेको सरकार एक वर्षभन्दा बढी टिकाउन सकेन । तत्कालीन सेनापति रुक्मांगद कटुवाललाई हटाएपछि राष्ट्रपति डा.रामवरण यादवले थमौती गरिदिए । त्यसपछि नागरिक सर्वोच्चता हरण गरेको र द्वैध सत्ताको अवस्था सिर्जना भएको भन्दै प्रचण्डले राजीनामा दिए । उनीपछि कांग्रेससहित माधवकुमार नेपालको नेतृत्वमा गठबन्धन सरकार बन्यो ।

पहिलो संविधानसभाको अवधिमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री भए । तर दलहरु संविधान निर्माण गर्न अफसल भए । सबैभन्दा ठूलो पार्टीका रुपमा माओवादी सबैको विश्वास जितेर र सबैलाई साथमा लिएर संविधान निर्माण गर्न असफल भयो । डा. भट्टराईको प्रधानमन्त्रीत्व कालमा २०६९ सालमा सर्वोच्चको आदेशअनुसार संविधानसभा भंग भयो । त्यसपछि सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा सरकार बनाएर दोस्रो संविधानसभाको निर्वाचन २०७० मा भयो । 

शान्तिप्रक्रियापछिका १५ वर्षलाई नियाल्ने हो भने माओवादीले अन्य राजनीतिक दललाई प्रतिक्रियावादी, पश्चगामी र प्रतिक्रान्तिकारीको संज्ञा दिँदै आफूलाई क्रान्तिकारी शक्तिका रुपमा ब्याख्या गर्दै आएको छ । तर माओवादीका पछिल्ला डेढ दशकलाई नियाल्ने हो भने न हाँसको चाल न त बकुल्लाको चाल देखिन्छ । माओवादीले १० वर्षसम्म युद्ध सञ्चालन गरेको सैद्धान्तिक पृष्ठभूमि भुलेको छ भने जनमुखी कार्यक्रम ल्याउन असफल भएको छ ।

२०६९ मा माओवादी पार्टीमा मोहन वैद्य नेतृत्वमा ठूलो विभाजन आयो । यो विभाजन र माओवादी पार्टीको असफलताका कारण दोस्रो संविधानसभामा माओवादी तेस्रो पार्टीमा खुम्चिन पुग्यो । २०७० मा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाको निर्वाचन बहिस्कार गर्‍यो । २०७१ मा वैद्यको माओवादी पार्टी पनि विभाजित भयो र विप्लव नेतृत्वमा अर्को पार्टी जन्मियो । सो पार्टी आज पनि नेपाल कम्युनिस्ट पार्टीका रुपमा क्रियाशील छ ।

२०७२ सालमा संविधान निर्वाणसँगै डा.बाबुराम भट्टराई पार्टीबाट बाहिरिए र नयाँ शक्ति पार्टी जन्माए । २०७३ मा मोहन वैद्यको पार्टी फुटाएर रामबहादुर थापा बादल प्रचण्ड नेतृत्वको तत्कालीन एनेकपा (माओवादी)मा सामेल भए । सोही समयमा मणि थापा, मातृका यादव, जयपुरी घर्तीसहित साना साना १० वटा माओवादी समूहहरु एकता भएर नेकपा (माओवादी केन्द्र) बन्यो ।

२०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा माओवादी र एमालेबीच चुनावी गठबन्धन भयो । गठबन्धनका कारण एमाले सबैभन्दा ठूलो दल बन्यो भने प्रत्यक्षतर्फ माओवादी दोस्रो र समग्रमा तेस्रो ठूलो दल बन्यो । २०७५ मा एमाले र माओवादी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । यो एकतामा गोपाल किराती र विश्वभक्त दुलाललगायतका नेताहरु असहमत भए ।

किरातीले माओवादी केन्द्र ब्युताए भने दुलालले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निर्माण गरे । यही नाममा निर्वाचन आयोगमा दर्ता पनि भयो । तर ऋषि कट्टेलको नेतृत्वमा सोही नाममा अर्को पार्टी दर्ता भएका कारण सर्वोच्चमा उनले पार्टी नाम आफ्नो भएको भन्दै मुद्दा हाले । २०७४ मा वामपन्थी सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले सरकार एकलौटी रुपमा सञ्चालन गर्न थाले भने पार्टीमा पनि प्रचण्ड हेपिए ।

उनलाई ओलीले टेलिभिजन अन्तर्वार्तामै उपाध्यक्षसरहको दोस्रो तहको अध्यक्ष भएको प्रतिक्रिया दिए । नेकपामा विवाद बढ्दै जाँदा २०७७ पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरिदिए । ११ फागुन, २०७७ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्‍यो भने २३ फागुनमा ऋषि कट्टेलको मुद्दाको फैसला गर्दै नेकपा खारेज गरिदियो ।

नेकपाको खारेजीपछि माओवादी केन्द्र फेरि अस्तित्वमा आयो । तर माओवादी आन्दोलनमा लामो समयदेखि क्रियाशील रहेका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखराज भट्ट, प्रभु शाहसहित दर्जनबढी नेताहरु एमालेमा गए । अहिले माओवादी आन्दोलनको विरासत बोकेका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), विप्लव नेतृत्वको नेकपा छन् भने बाबुराम भट्टराईले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टीमा क्रियाशील छन् । 

अहिले पनि माओवादी आन्दोलनको सबैभन्दा ठूलो पंक्ति भने प्रचण्डसँगै छ । यही प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टीको महाधिवेशन गर्दैछ । तत्कालीन एनेकपा माओवादीको सातौं महाधिवेशन २०६९ सालमा हेटौडामा भएको थियो । त्यसपछि पटक पटक पार्टी एकता गरेको माओवादी केन्द्रले आठौं महाधिवेशन गर्न लागेको हो । यो महाधिवेशनबाट माओवादीले पार्टीको भावी कार्यदिशा तथा संगठनात्मक सिद्धान्तहरु विकास गर्ने दाबी गर्दै आएको छ । प्रचण्ड स्वयमले पनि पार्टी रुपान्तरणको प्रक्रिया आफूबाटै सुरु गर्ने बताउँदै आएका छन् । उनी २०४६ सालदेखि निरन्तर पार्टीको नेतृत्वमा रहँदै आएका छन् । पार्टीको सैद्धान्तिक कार्यदिशा कस्तो हुने भन्ने छलफल सुरु गर्ने माओवादी केन्द्रको तयारी छ । 

शान्तिप्रक्रियापछिका १५ वर्षलाई नियाल्ने हो भने माओवादीले अन्य राजनीतिक दललाई प्रतिक्रियावादी, पश्चगामी र प्रतिक्रान्तिकारीको संज्ञा दिँदै आफूलाई क्रान्तिकारी शक्तिका रुपमा ब्याख्या गर्दै आएको छ । तर माओवादीका पछिल्ला डेढ दशकलाई नियाल्ने हो भने न हाँसको चाल न त बकुल्लाको चाल देखिन्छ । माओवादीले १० वर्षसम्म युद्ध सञ्चालन गरेको सैद्धान्तिक पृष्ठभूमि भुलेको छ भने जनमुखी कार्यक्रम ल्याउन असफल भएको छ ।

माओवादी डेढ दशकमा राजनीतिक रुपमा बिचलित र पतनको बाटोमा अघि बढेको छ भने सैद्धान्तिक रुपमा शून्यतातिर लम्किएको छ । माओवादीमा सैद्धान्तिक रुपमा कति बिचलन आएको छ भन्ने उदाहरण २०७५ मा एमालेसँगको एकताबाट प्रष्ट हुन्छ । आफूलाई क्रान्तिकारी शक्तिका रुपमा ब्याख्या गर्ने माओवादीले संसदवादी भासमा फसेको एमालेसँग कुनै राजनीतिक, वैचारिक र सैद्धान्तिक मिलनबिन्दु बिना नै हठाथ एकता गर्‍यो । जसको परिणामस्वरुप उसले आफ्नो राजनीतिक धरातल गुमाउन पुग्यो । 

२०६५ मा माओवाद छाडेर माओविचार भनेको माओवादी केन्द्रले २०७५ मा एमालेसँगको एकताका क्रममा माओविचार पनि छाडेर माक्सवाद लेनिनवादमात्रै मान्न सहमती जनाउन पुग्यो । त्यसबेला पार्टीको मार्गदर्शक सिद्धान्तबारे महाधिवेशनबाट टुंगो लगाउने सहमति भएको थियो । तर एकता नै टिक्न सकेन ।

एमालेले गत मंसिरमा भएको १०औं महाधिवेशनबाट जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने निर्णय गरेको छ । माओवादीमा जनार्दन शर्मालगायतका नेताले प्रचण्डपथ छाड्नु गम्भीर गल्ती भएको बताउँदै आएका छन् । उनले पार्टी कमजोर हुनुमा यो प्रमुख कारण भएको बताएका छन् । तर २०६४ को संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेपछि माओवादी नेताहरुमा यति अहंकार बढ्यो कि माओवादीका नेताहरु सहर केन्द्रित भए भने आधारक्षेत्र गाउँ फर्किएनन् ।

संगठन गर्ने, पार्टीलाई निरन्तर जनतासँग जोडाउने भन्दा पनि नेतृत्वको चाकडी गर्ने, सत्तामा पुग्न जस्तासुकै हर्कत गर्न पनि तयार हुने प्रवृत्ति हाबी भयो । जसका कारण जनतामा माओवादीप्रतिको भरोसा टुट्दै गयो । माओवादी पार्टीले जनतासँग टुटेको सम्बन्ध र गुमाएको विश्वास पुनः आर्जन गर्न कस्तो नीति तयार गर्छ त्यो भने हेर्न केही दिन पर्खिनुपर्नेछ ।