एनआरएनए निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित

एनआरएनए निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को डिसेम्बर महिनाका लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ ।

एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रूपमा प्राप्त भई नसकेको जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको जनाएको हो ।

‘यसले गर्दा छानबिन प्रक्रिया प्रभावित भई यसअघि प्रकाशित कार्यतालिका स्थगन गरिएकामा हालसम्म पनि मतदाता सूची प्राप्त नभएकाले  निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशन गरिनेछ’, समितिले भनेको छ ।

यसअघि निर्वाचन समितिले गत १५ डिसेम्बरमा सूचना प्रकाशन गरी २६-२७ डिसेम्बरमा मतदान गर्नेबाहेकका सबै निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको थियो । संघद्वारा प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा व्यापक धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि गत अक्टोबरमा तोकिएको संघको दशौँ महाधिवेशन र चुनाव पर सरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेल तथा निर्वाचन समितिका सदस्य डा. गणेशमान गुरुङले मतदाता नामावलीसम्बन्धी विवाद समाधान नभई चुनाव गराउन नसकिने भन्दै राजीनामा दिएपछि डिसेम्बरभित्र चुनाव गराउने कार्यतालिका अलपत्र परेको थियो ।

डेलिगेट्ससम्बन्धी विवाद समाधान गर्न अध्यक्ष कुमार पन्तद्वारा गठित ४ सदस्यीय उच्चस्तरीय समितिले विभिन्न विकल्पबारे छलफल जारी राखेको छ । समितिमा संघका केन्द्रीय सल्लहकार विश्वआदर्श पण्डित, डा. यादव पण्डित, सचिव गौरी जोशी र प्रवक्ता डीबी क्षेत्री छन् ।