विद्युत् चुहावट २.८३ प्रतिशत विन्दुले घट्यो

विद्युत् चुहावट २.८३ प्रतिशत विन्दुले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ११, २०७८

चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ४ महिनामा विद्युत् चुहावट २.८३ प्रतिशत विन्दुले घटेको छ । नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट विद्युत् चुहावट घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार गत आ.व.को कात्तिकमा प्रणालीबाट १७.१८ प्रतिशत चुहावट हुने गरेकामा चालू आ.व.को कात्तिकमा २.८३ प्रतिशत विन्दुले घटेर १४.३५ प्रतिशतमा झरेको छ । कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत र बाँकी प्रसारण तथा उत्पादनतर्फबाट हुने गरेको छ । 

प्राधिकरणले चालू आ.व.मा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो ४ महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आ.व.को बाँकी अवधिमा लक्ष्य पूरा हुने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।

‘गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहन गर्नेलगायतका काम अभियानकै रूपमा चलाएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रामण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौँ ।’