'गणतन्त्र, संघीयता र समावेसिता धरापमा पर्न थाल्यो'

'गणतन्त्र, संघीयता र समावेसिता धरापमा पर्न थाल्यो'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०७८

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धिहरू धरापमा पर्न थालेका बताएका छन् । 

नेकपा (माओवादी केन्द्र)को आइतबारदेखि सुरु भएको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेसिता नै धरापमा पर्न थालेको हो कि भन्ने लाग्न थालेको बताए ।

राजनीतिक उपलब्धि रक्षाका लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको भन्दै उनले अबको सरकारले अघिल्लो सरकारको गल्ती कमजोरी बताएर मात्र नभएर सबैको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

संघीयता, समावेसीता र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताए । 

‘माधवकुमार नेपाल यहीँ हुनुहुन्छ । काठमाडौंमै हुनुहुन्छ’, उनले भने, ‘अब संसदमा अवरोध गरेर केही प्राप्त हुँदैन ।’

माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेस विद्रोहले गणतन्त्र ल्याएको उनको भनाइ छ । सबै पक्षको माग सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने यादवले बताए ।