गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न

गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष १२, २०७८

गण्डकीका लोकसंस्कृति र साहित्य सङ्गोष्ठी सम्पन्नकास्की  । पोखराको बाटुलेचौर स्थित जनकविकेशरी धर्मराज थापाको गृहमा गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभाग र साहित्य (लोकवार्ता र बालसाहित्य) विभागसँगको सहकार्यमा जनकविकेशरी धर्मराज–सावित्री थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभयो ।

बाटुलेचौरको गणेश मन्दिरदेखि नै पञ्चेबाजा र शिवपार्वती नृत्यसहितको सांस्कृतिक झाँकीले स्वागत गर्दै अतिथिहरूलाई कार्यक्रम स्थलसम्म पुर्‍याएपछि प्रमुख अतिथिलगायतका अतिथिहरूले जनकविकेशरी धर्मराज थापा सङ्ग्रहालय अवलोकन गर्नुभएको थियो भने प्रमुख अतिथि कुलपति उप्रेतीले पानसमा दीप प्रज्वलन र जनकविकेशरीको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  

जनकविकेशरी धर्मराज सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुलपति उप्रेती प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने उपकुलपति तथा संस्कृति विभागका प्रमुख डा. जगमान गुरुङ र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभागका प्रमुख डा. देवी नेपाल विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो ।

समुद्घाटनका क्रममा कुलपति उप्रेतीले यो कार्यक्रम लोकसाहित्य र संस्कृतिको महोत्सव नै भएको विचार व्यक्त गर्नुभएको थियो । दुई दिने कार्यक्रममा प्रस्तुत कविता, गीत, गजल र विविध सांस्कृतिक झाँकीहरूले धर्मराज थापालाई खोजी गरिएको र पूर्ण रूपमा प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, जनकविकेशरी नेपाल प्रज्ञा–प्रतिष्ठानको अभिभावक हुनुहुन्थ्यो । उहाँको भौतिक रूपमा अवसान भए पनि यस पटक बाटुलेचौरमा आइपुग्दा उहाँलाई सशरीर भेटेको अनुभूति भइरहेको छ । धर्मराज थापालाई शिरमा राखेर हामी एउटा विचार गोष्ठी गर्नका लागि यहाँ आएका थियौँ तर लोकसंस्कृति र लोकसाहित्यको मनोत्सव सम्पन्न गरी फर्कंदै छौँ । यो यस पटकको सबैभन्दा ठुलो उपलब्धि हो ।

कार्यक्रममा उपकुलपति डा. जगमान गुरुङले गण्डकी प्रस्रवण क्षेत्रको भौगोलिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका बारेमा विशेष प्रवचन प्रस्तुत गर्नुभएको थियो भने प्राज्ञ डा. देवी नेपालले विभागीय मन्तव्य राख्ने क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले हालसम्म सम्पन्न गरेका कामहरूका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । यस क्रममा उहाँले प्रथम विश्वयुद्धमा जर्मनी पुगेर बन्दी बनेका गोर्खाली सेनाहरूको १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई ल्याएर प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको र त्यसमा कास्की, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, गोर्खा आदि क्षेत्रका दर्जनौँ गोर्खाली सेनाहरूका लोकसामग्रीहरू समेटिएको हुनाले तिनका सन्तानलाई खोजी गरिदिनका लागि सबैलाई आह्वानसमेत गर्नुभयो । साथै उहाँले आगामी दिनमा प्रज्ञा–प्रतिष्ठानले यस्तै ऐतिहासिक सामग्रीको खोजी, सङ्कलन, संरक्षण र संवद्र्धनमा विशेष ध्यान दिएर अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । 

डा. जगन्नाथ रेग्मीको सञ्चालन र जनकविकेशरीका कनिष्ठ सुपुत्र डा. बुलन्द थापाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले नेपाल प्रज्ञा–प्रतिष्ठान र प्रदेश प्रज्ञा–प्रतिष्ठानले सहकार्यमा गर्नुपर्ने कामहरूका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त अवसरमा पृध्वीनारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख प्रा.डा.कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशमा प्रचलित लोकगीत, गाथा र लोकसङ्गीतको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै हाम्रा लोकसम्पदाहरू दिनदिनै लोप हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको थियो भने युवा समालोचक तर्कना शर्माले ‘गण्डकी प्रस्रवण क्षेत्रका भौतिक लोकसंस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै खोजी गर्न थाल्ने हो भने वर्षौंसम्ममा पनि खोजेर नसकिने लोकसम्पदाहरू यस क्षेत्रमा रहेको विचार व्यक्त गर्नुभएको थियो । तर्कनाको कार्यमाथि डा. लक्ष्मीशरण उपाध्यायले टिप्पणी गर्नुभएको थियो । 

यस अवसरमा गण्डकी क्षेत्रको साहित्य र लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत तेजनाथ घिमिरेलाई र कलाकारिताका क्षेत्रमा योगदान दिएबापत गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई विशेष सम्मान गरिएको थियो । उक्त कार्यक्रममा जनकविकेशरीकी सुपुत्री प्रसिद्ध गायिका ज्ञानु राणाले सरस्वती वन्दनाका साथै विभिन्न गीतहरू प्रस्तुत गर्नुभएको थियो भने अर्की गायिका बाबा राणाले जनकविकेशरीको कालजयी गीत ‘कालीपारे दाइ कति राम्रो...’ प्रस्तुत गर्नुभएको थियो । यसरी नै कलाकार ताराबहादुर गुरुङले हरियो डाँडामाथि... गीतमा अभिनय प्रस्तुत गर्नुभएको थियो भने क्याप्टेन कृष्णबहादुर थापाले ‘सिरिमा सिरि...’ गीत गाउनुभएको थियो ।

यस अवसरमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजनमा लमजुङको गुरुङ समूहबाट घाटुनाच प्रस्तुत गरिएको थियो भने विश्वहिन्दु महासङ्घ, कास्की परिवारले शिवपार्वती नृत्य र रोइला भजन, बाटुलेचौरका गन्धर्व बालकहरूले सारङ्गीमा मङ्गलधुन र पञ्चेबाजा समूहले स्वागत धुन प्रस्तुत गरेको थियो । 

कार्यक्रमको अन्त्यमा जनकविकेशरीले बसेर कविता तथा लोकगीतको साधना गर्ने बेलको चौतारोमा गुन्द्री र काम्लोमा पलेँटी कसेर बसी प्राज्ञ डा. देवी नेपालले आफ्ना दुईओटा कविताहरू वाचन गर्नुभएको थियो भने घरको पिँडीमा बसेर गायिका ज्ञानु राणाले जनकविकेश।रीका दुईओटा गीतहरू गाउनुभएको थियो ।

विहान ११ बजे सुरु भएर साँझ ६ बजेसम्म अनवरत रूपमा सञ्चालित उक्त कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न ठाउँका सयौँ साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीहरूको सहभागिता रहेको थियो । यस अवसरमा थापा परिवारका तर्फबाट धन्यवाद दिँदै प्रा. कुञ्जराज थापाले यस्तो सभ्य, भव्य र ऐतिहासिक कार्यक्रम आफूले आजभन्दा अगाडि नदेखेको प्रतिक्रिया दिँदै यस्तो कार्यक्रम सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।