ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोक साहित्यसम्बन्धी गहन विमर्श

ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोक साहित्यसम्बन्धी गहन विमर्श

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष १२, २०७८

भक्तपुर । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग तथा साहित्य (मातृभाषा) विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा शनिबार ‘ताम्बा दर्शन’, ‘तामाङ भाषा’ एवम् ‘तामाङ लोक साहित्य’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । गोष्ठीमा ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोक साहित्यसम्बन्धी गहन विमर्श गरिएको हो । सो अवसरमा तामाङ भाषाका कविताहरूसमेत वाचन गरिएका थिए ।

ममता केन्द्र नेपालका अध्यक्ष सङ्गम लामाको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’को प्रमुख आतिथ्य रहेको उक्त विचार–गोष्ठीको शुभारम्भअघि तामाङ कलाकार टोलीद्वारा डम्फुको तालमा साङ सेग्र्याम (स्वस्ति) गान प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा। उपाध्यायले उक्त गोष्ठीलाई सम्बोधन गर्दै ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोक साहित्यसम्बन्धी विचार–गोष्ठी अत्यन्तै सार्थक भएको विचार व्यक्त गर्नुभयो । उहाँले अरूका भाषा तथा संस्कृतिलाई सम्मान गर्दै आफ्नो भाषा तथा संस्कृतिको संरक्षणमा सम्बन्धित सबै लागिपर्नु पर्नेमा जोड दिनुभयो । उहाँले ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोक साहित्यका कारण तामाङ जाति विशिष्ट जाति भएको विचार व्यक्त गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले गोष्ठीमा प्रस्तुत गरिएका तीन ओटै गोष्ठी पत्र सूचनामूलक र ज्ञानवर्धक भएको उल्लेख गर्नुभयो । प्रा.डा. यादवले दर्शन, मातृभाषा तथा लोक साहित्य कुनै पनि जाति/समुदायको पहिचान भएको र त्यो लोप भयो सभ्यता र ज्ञानको क्षेत्र नै लोप हुने हुनाले त्यसको संरक्षण र संवर्द्धन  लागि सम्बन्धित पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोप हुने खतरामा रहेका दर्शन, मातृभाषा तथा लोक साहित्यलाई डिजिटल आर्काइममा सुरक्षित गरिनुपर्ने बताउनुभयो ।

प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीले आफ्नो मातृभाषा, संस्कृति तथा लोक साहित्यको संरक्षण तथा संवर्द्धन गर्नका लागि घर घरमा सबैले अनिवार्य रूपमा मातृभाषा बोल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबैले घर घरमा आफ्ना नानी–बाबुहरूलाई मातृभाषा सिकाउनुपर्ने बताउनुभयो ।

गोष्ठीमा क्रमशः ताम्बा दर्शनसम्बन्धी डा। अमृत योञ्जन, तामाङ मातृभाषासम्बन्धी अजित मान तामाङ र तामाङ लोक साहित्यसम्बन्धी विष्णु थिङले गोष्ठी पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विष्णु थिङ र अजित मान तामाङको गोष्ठी पत्रमाथि रवीन्द्र तामाङ र डा. अमृत योञ्जनको गोष्ठी पत्रमाथि अभय शर्माले परिपूरक समीक्षा गर्नुभएको थियो । गोष्ठीपत्रमाथिको खुला छलफलमा योगेश राल्फाली, पासाङ मोक्तान, साङ्माला तामाङले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।    

गोष्ठीमा बोल्दै ताम्बा सङ्घका अध्यक्ष पासाङ मोक्तानले ताम्बा दर्शनको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै तामाङ समुदायमा अनियन्त्रित रूपमा बढिरहेका थरहरूको व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्राज्ञ सभा सदस्य तथा सञ्चार एवम् डायास्पोरा संयोजक शशी लुमुम्बू, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, प्रज्ञा–प्रतिष्ठान समितिका अध्यक्ष धनबहादुर कार्की, कलाकार जीतबहादुर खड्का, चित्रबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।  

मोहन दोङले सञ्चालन गर्नुभएको कार्यक्रममा कुमार स्याङ्बो, योगेश राल्फाली, रचना मोक्तान, सीमा तामाङ लगायतका कविले तामाङ भाषामा आ–आफ्ना कविता सुनाउनुभएको थियो । कार्यक्रममा गायक भीम बैरागीले गीत गाएर दर्शक/श्रोतालाई मन्त्रमुग्ध पार्नुभएको थियो ।