सातदोबाटोमाथि जावलाखेलको सहज जीत

सातदोबाटोमाथि जावलाखेलको सहज जीत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १२, २०७८

सातदोबाटो युथ क्लबलाई २-० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार भएको खेलमा वैकल्पिक खेलाडी विपीन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछि जावलाखेलले सहज जीत पाएको हो । 

खेलको ५०औँ मिनेटमा जावलाखेलले अग्रता बनाएकाे थियो । जावलाखेलका वैकल्पिक खेलाडी विपीन कँडेलले सिक्स यार्ड बक्सबाट सहज गोल गरेका थिए । ७०औँ मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । विदेशी खेलाडी निकोलास फर्नाण्डेजले बक्सबाहिरबाट गरेको प्रहारमा गोल रक्षक अभिषेक बराललाई टच हुँदै बलले जाली चुम्यो । 

खेलमा सातदोबाटोको तुलनामा जावलाखेलले बलमाथि पकड र पोस्ट बढी जमायाे । जीतसँगै जावलाखेल ६ खेलबाट ७ अंक बनाउँदै नवौँ स्थानमा उक्लिएको छ । यता, सातदोबाटो समान खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा यथावत् छ । 

योसँगै शीर्ष डिभिजन लिगको छैटौँ चरणको खेल सकिएको छ । १३ अंक बनाएको मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा छ । ३ अंक बनाएको फ्रेण्ड्स पुछारमा छ ।