नेप्सेमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन

नेप्सेमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १३, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९.५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस शेयर समायोजन भएको हो । 

समायोजनपछि महालक्ष्मी विकास बैंकको शेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । 

निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । यस लघुवित्तले गत वर्षको नाफाबाट २९.५ प्रतिशत बोनस शेयर र कर तिर्न १.५५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

नेपाल हाइड्रो डेभ्लपर्सको समायोजनपछि ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५६ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा महालक्ष्मीको शेयर प्रतिकित्ता ५६४ रुपैयाँ ४० पैसा, निर्धन उत्थानको एक हजार ५५५ रुपैयाँ र नेपाल हाइड्रो डेभ्लपर्सको ३९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।