माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १३, २०७८

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका छन् । उचारका क्रममा चीनको सेनजेनमा रहेका उनले उपमन्त्री झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका हुन् । 

काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता भएको हो । स्वास्थ्यका कारण देखाउँदै महाधिवेशनमा सहभागी नभएका पुनले झाओ नेतृत्व टोलीसँग भेटवार्ता गरेका हुन् । 

झाओको टोलीसँग पुनको भेटवार्ता हुँदा पुनकी पत्नी पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग २ देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध बिस्तारलगायतका विषयमा कुराकानी गरेको बताएका छन् । 

पुनका अनुसार नेपालको समसामयिक राजनीति, वामपन्थीहरूबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरूका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेका छन् । 

सो भेटवार्ताका क्रममा पुनले अहिलेको ५ दलीय गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका छन् । 

वंशाणुगत तथा विश्वमा विरलै देखिने हेपाटाइटिस रोगका कारण करिब ३ महिनादेखि पुन उपचाररत छन् । उक्त रोग दोहोरिएपछि नेता पुन १३ असोजमा बैंकक गएका थिए । उनको १० मंसिरदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।