हिन्दु धर्मको उठान: गगन थापा त के अनेक राजनीतिका 'महारथी'को धराशायीको नियति

हिन्दु धर्मको उठान: गगन थापा त के अनेक राजनीतिका 'महारथी'को धराशायीको नियति

ज्ञानमित्र  |  दृष्टिकोण  |  पुष १४, २०७८

धेरैपछि भेट हुनुभएका पत्रकार मित्रले परैबाट नमस्कार शैलीको मुद्रामा भने, ‘लौ अपूर्व भेट भयो आज, तपाईंसँग भेट नभएको त वर्षौँ बितिसक्यो ।’

‘कता हुनुहुन्छ अचेल ?’, मैले नमस्कार फर्काउँदै सोधेँ ।

मसँग रहेका मित्रतर्फ औँल्याउँदै, ‘उहाँ नेकपा प्रगतिशीलतिर, म नेकपा प्रतिगामीतिर’, उनले विनोदपूर्वक भने ।

‘ए ‘एस’ र ‘नो’ हुनुभएछ तपाईंहरू !?’

‘होइन, ‘एस’ र ‘नो’को कुरै होइन । उहाँका नेताहरूले हामीलाई प्रतिगामी देख्नुहुन्छ तसर्थ उहाँ प्रगतिशील कित्ताको, म प्रतिगामी कित्ताको ।’

‘ए ध्रुवजी, म त सधैँको कन्जर्भेटिभ; तपाईं दुवै जनाको व्याख्यामा सनातन प्रतिगामी । अहिले मेरो र तपाईंको वर्ण र समूह एवं गोत्र पो मिल्न आयो ।’

‘हो नि- तथानामका कम्युनिस्ट र थरिथरिका समाजवादी हुनुभन्दा कन्जर्भेटिभ भएकै राम्रो होइन र ?’, उनले प्रगतिशील नेकपा (एस) मित्रसँग जिस्किँदै भने ।

‘हेर भाइ, न तँ कन्जर्भेटिभ, न म प्रगतिशील । पार्टी विभाजन हुँदा मानिस अपुग भएर तँ र म अटाएका हौँ । हाम्रो हैसियत यति नै हो’, मसँग रहेका नेकपा (एस) अर्थात् प्रगतिशील भन्ने कम्युनिस्ट मित्रले जीवनभरको भोगाइ ओकले ।

मन मिल्ने साथी पत्रकार भेट हुँदा गफ गर्ने शैली बहुधा यस्तै हुन्छ ।

अब ‘थ्री इडियट’ भेट हुँदा वर्तमानको चिरफार कसरी नहोस् ?

नेपाली कांग्रेस महाधिवेशन र प्राप्त परिणामबारे खुबै तर्क वितर्क  भए । अहिलेको मात्र होइन, १५औँ महाधिवेशनसम्मको पोस्टमार्टम पनि गर्न भ्यायौँ हामीले । निठल्लागिरीको यही त मज्जा हुन्छ- तपाईं भविष्यका नायक र रामचन्द्र अहिले नै निर्धारण गर्न सक्नुहुन्छ ।

वाम मित्रहरूको विचारमा अब कांग्रेसमा भविष्य अथवा कांग्रेसको भविष्य गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्माको हो । कांग्रेसइतरका राजनीतिक समूह अथवा विश्लेषकहरूबाट कांग्रेसप्रति यस्तो अवधारणाको ‘प्रि  ब्लु प्रिन्ट’ कोरिन/देखिन थाल्नु समग्र कांग्रेसका लागि भने उत्साहजनक, सुखद, सम्मान एवं प्रतिष्ठाकै विषय होला ।

अचानक ध्रुवले भने, ‘नेपाली कांग्रेसले आउँदो चुनावमै गगन थापालाई अबको प्रधानमन्त्री घोषित गरी चुनाव लडे २० देखि २५ बढी सिटमा विजय पाउँछ । कांग्रेसमा मात्र होइन, देशभरका नेपाली युवामा गगनको व्यापक क्रेज छ ।’

अर्का वाम मित्रले पनि उनको कुरामा सहमति देखाए । गगन र उनका समर्थकहरूलाई पनि यस्तै लाग्न सक्छ ।

केपी ओलीले २ पटक प्रयास गर्दा पनि सफल एवं मूर्त हुन नसकेको संसदीय चुनाव गराउने अभिभारा घुमीफिरी कांग्रेसकै हातमा आएको अवस्थामा कांग्रेसले चुनाव कहिले गराउने भन्ने  प्रधानमन्त्री शेरबहादुर देउवाको मुडमा भरपर्छ । ‘अर्ली’ निर्वाचन भए पनि अथवा समयमा भए पनि आउने निर्वाचनले कांग्रेस र नेकपा ‘ओली’को शक्ति परीक्षण गर्नेबाहेक कुनै अन्य परिणाम दिँदैन ।

पार्टी निर्वाचनमा कमल थापालाई हराउनुका साथै उनको लामो दरबारिया ‘कनेक्सन’को पनि इतिश्री गराउन सफल राजेन्द्र लिङ्देनले जति ख्याति कमाए पनि, जति चर्चा बटुले पनि आउने चुनावमा आफ्नै अनुहार र बल बुताको दममा वैतरणी त के गछिया खोलो पनि तर्न सक्दैनन् । गत आमचुनावमा झापा निर्वाचन क्षेत्र नम्बर- ३ मा ४४ हजार ६१४ मत पाएर विजयी भएका लिङ्देनको दलले त्यस बेला सम्पूर्ण देशबाट प्रत्यक्ष निर्वाचनमा जम्मा एक लाख १८ हजार ३१८ मत प्राप्त गरेको थियो । समानुपातिकतर्फ उनको दलले जम्मा २.२२ प्रतिशत अर्थात् एक लाख ९६ हजार ७८२ मत प्राप्त गरेर समानुपातिक सिट बाँडफाँटमा योग्यता नै पुर्‍याउन सकेन ।

उनको दलको भन्दा त रवीन्द्र मिश्रको विवेकशील साझाले  समानुपातिकतर्फ २ लाख १२ हजार ३६६ मत पाएको थियो ।

आउने निर्वाचनमा पनि जतिसुकै प्रयास गरे पनि लिङ्देन र उनको दलको हैसियत कांग्रेस, नेकपा ‘ओली’, नेकपा ‘प्रचण्ड’, नेकपा माधव नेपाल, यावत् मधेसकेन्द्रित दलपश्चात् सातौँ, आठौँ नम्बरमा नगण्य सिटका साथ हुन्छ । राप्रपाको एकल प्रयास अथवा स्वनामधन्य मूढ दरबारिया हिन्दूको उफ्राइले नेपाल पुनः हिन्दू राष्ट्र हुन सक्ने विश्वास आमनेपालीले गर्न सक्दैनन् ।

कसैलाई तीतो लागे पनि, मीठो दिवा स्वप्न लागे पनि वास्तविकता यही हो- नेपाली कांग्रेस अथवा केपी ओलीको दल हिन्दु राष्ट्रको पक्षमा नआएसम्म धर्मनिरपेक्षता खारेज भएर नेपालमा हिन्दु धर्म स्थापना हुन सक्दैन ।

चाहे कम्युनिस्ट मतदाता हुन् वा कांग्रेस, नेपालका ८० प्रतिशतभन्दा बढी मानिसले नेपाललाई हिन्दु राष्ट्र भएको हेर्न चाहन्छन् । तिनको प्रतिनिधित्व गर्ने उचित भरपर्दो नेतृत्व देखिनासाथ कांग्रेस पार्टीमा रहेका धर्मनिरपेक्षता पक्षधरलाई  शेरबहादुर स्वयंले खोपीमा थन्क्याएर रामनामी ओढेर ‘म पनि हिन्दु हो’ भनी आउन धेरै बेर  लाग्दैन

राजनीतिको एउटा विचित्रको स्वभाव हुन्छ- बलियो अथवा सत्ताको निकट रहेको दलले आमूल परिवर्तनको कुरा गर्दैन । नेपाली कांग्रेसभित्र जो औँलामा गन्न सकिनेहरूले हिन्दु धर्मको उच्चारण (उच्चारण मात्र) गरेका छन्, ती गत निर्वाचनमा पराजित अनुहार हुनु । गत निर्वाचनमा झैँ कम्युनिस्ट एकता कायम रहेर अर्को चुनावमा पनि कांग्रेसले सत्ताबाट विमुख रहनुपरेको भए सम्पूर्ण कांग्रेस नै हिन्दु धर्मका पक्षमा ओर्लेर जनमत बटुल्ने प्रयास गर्ने थियो । तर, कुकुर-बिरालो भन्दा पनि अटुट मैत्री सम्बन्ध निर्वाह गर्ने कम्युनिस्ट प्रवृत्तिका कारण केही नगरी कांग्रेस पुनः सत्तामा पुग्यो र अगामी निर्वाचनमा पनि केही नगरी सबैभन्दा ठूलो दल हुने निश्चित भएकाले कांग्रेसबाट हिन्दु धर्म स्थापना सम्बन्धमा कुनै किसिमको प्रतिक्रिया अहिले नै आउँदैन ।

आउने निर्वाचनमा सबैभन्दा ठूलो दाउ कसैले थापेको छ भने त्यो ओलीले नै हो । झण्डै दुई तिहाइको सरकार हापेका हुन् ओलीले । उनलाई राम्ररी थाहा छ- आगामी निर्वाचनमा कुनै विशेष मुद्दा नउठाई गएमा उनी कांग्रेसभन्दा आधा सिटको ‘सेकेण्ड लार्जेस्ट पार्टी’मा खुम्चिन्छन् । माधव नेपालले ५-७ सिट मात्र पाए (अथवा एक सिट नपाए पनि), माओवादी २०-२५ सिटमा समेटिए पनि यिनीहरूभन्दा ओलीको पराजय शर्मनाक हुन्छ, दर्दनाक हुन्छ । कारणको विश्लेषण गर्नु आवश्यक छैन ।

ओलीले निर्वाचनमा उचाल्ने विशेष मुद्दा के हुन्छ अथवा के हुन सक्छ ? यसबारे उनी निकटका केही विश्वस्तबाहेक केही  निठल्लाले मात्र अनुमान गर्न सक्छन् । तर, यदि यस्तो निठल्ला पंक्तिमा राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्र पनि भइदिए ओलीलाई मुखरित हुन सजिलो हुन्थ्यो, सहज हुन्थ्यो । राजेन्द्र र रवीन्द्र दुवै जना परिवर्तनका पक्षमा खुलेर आइसकेका छन् । यी दुवै जना  परिवर्तनका नायक हुन सक्दैनन् । नायक हुने क्षमता ओलीसँग मात्र छ । यी दुवैैले ओलीलाई नायक स्वीकार गरी अघि बढेमा मात्र परिवर्तनको कल्पना गर्न सकिन्छ ।

आगामी निर्वाचनमा कुनै दलले परिवर्तनको नारा नदिए (स्पष्ट रूपमा हिन्दु धर्मका पक्षमा नआए) कसैको पनि बहुमत पुग्दैन ।  मित्रले भनेझैँ गगन थापालाई प्रधानमन्त्रीको रूपमा पेस गरे नेपाली कांग्रेसको २०-२५ सिट बढ्ने कुरा हावादारी र झिल्के कुरा मात्र हो । यस्तो हुनु संभव छैन र कल्पना गरौँ यस्तो भएमा सिट बढ्नुको सट्टा कम हुन्छ ।

गगन प्रधानमन्त्री हुनु भनेको नेपाली कांग्रेसमा अन्य २०-२५ जनाको प्रधानमन्त्री हुने सपनामा तुषारापात हुनु हो । आफू हारेर भए पनि यिनले गगनको नेतृत्वमा बहुमत आउन  दिँदैनन्  ।

पार्टीको चुनावमा विजयी हुनु भनेको डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई हराउनु हो । तर, आमनिर्वाचनमा क्षेत्रमा चुनिएका कांग्रेस प्रतिनिधिले भोट हाल्ने कुरा हुँदैन । गगन थापालाई अहिलेसम्म यस कुराको अनुभव नभए पनि विश्वप्रकाश शर्मालाई भने यस भोगाइको अनुभव छ ।

आगामी निर्वाचनमा हिन्दु धर्म विषयक मुद्दा उठान भएको खण्डमा गगन थापा त के अनेक महारथीले हिन्दु आँधीमा धरासायी हुने नियति बेहोर्नुपर्छ ।

चाहे कम्युनिस्ट मतदाता हुन् वा कांग्रेस, नेपालका ८० प्रतिशतभन्दा बढी मानिसले नेपाललाई हिन्दु राष्ट्र भएको हेर्न चाहन्छन् । तिनको प्रतिनिधित्व गर्ने उचित भरपर्दो नेतृत्व देखिनासाथ कांग्रेस पार्टीमा रहेका धर्मनिरपेक्षता पक्षधरलाई  शेरबहादुर स्वयंले खोपीमा थन्क्याएर रामनामी ओढेर ‘म पनि हिन्दु हो’ भनी आउन धेरै बेर  लाग्दैन ।