माओवादी महाधिवेशन: ओली जस्तै प्रचण्डको देवत्वकरण, 'प्रचण्ड पथ' को सट्टा ‘प्रचण्ड युग’ बहसमा !

लोकसंवाद टिप्पणी

माओवादी महाधिवेशन: ओली जस्तै प्रचण्डको देवत्वकरण, 'प्रचण्ड पथ' को सट्टा ‘प्रचण्ड युग’ बहसमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०७८

कम्युनिस्ट पार्टीका महाधिवेशन विचार निर्माणको सबैभन्दा माथिल्लो तह  मानिन्छ । कम्युनिस्ट पार्टीले महाधिवेशनमा कार्यकर्ता भेला गरेर भोजभतेर गर्ने मात्रै होइन पार्टीको लामो भविष्यका लागि रणनीति, कार्यनीति, कार्यदिशा र कार्यक्रमहरू तय गर्ने थलोका रुपमा लिइन्छ ।

रुस र चीनजस्ता देशमा क्रान्ति सम्पन्न गरेर कम्युनिस्ट पार्टीको शासन व्यवस्था स्थापना गरेका पार्टीहरू राजनीतिक, वैचारिक, सांगठनिक र सैन्य हिसाबले पनि शक्तिका रुपमा स्थापित  भएको पाइन्छ । उत्तर कोरियामा पनि कम्युनिस्ट पार्टीले लामो समयदेखि सत्ता सञ्चालन गरिरहेको छ । 

नेपालमा धेरै कम्युनिस्ट पार्टीहरू क्रियाशील छन् । सबैले आफूलाई क्रान्तिकारी र अरूलाई दक्षिणपन्थी र कम्युनिस्ट आदर्शबाट च्युत भएको आरोप लगाउने होड नै चलिरहेको छ ।  पछिल्लो समयमा नेपालका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आफ्ना महाधिवेशन गरेका छन् । एमालेको महाधिवेशन सकिएको छ भने माओवादी केन्द्रको महाधिवेशन जारी छ ।

राजनीतिक कार्यदिशा र कार्यक्रमका हिसाबले दक्षिणपन्थी लाइनमा रहेका यी दुवै कम्युनिस्ट पार्टीका महाधिवेशनमा विचारको बहस भन्दा नेतृत्वको देवत्वकरणमा बढी ध्यान केन्द्रित हुने गरेको देखिन्छ । एमालेको महाधिवेशनमा पार्टीको नीति, वैचारिक मार्ग तथा भावी राजनीतिक कार्यदिशा भन्दा पनि नेतृत्व चयनले प्राथमिकता पायो । एमालेको महाधिवेशन नै यसपटक अध्यक्ष केपी ओलीमय बनेको थियो । एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा ओलीलाई एमालेको पर्याय र ओलीबिनाको एमाले, एमाले नै नरहनेजस्तो गरी प्रचार गरिएको थियो । 

एमालेको उद्घाटन कार्यक्रमको बीचमा देखाइएको एक वृत्तचित्रमा ओलीलाई पार्टीभन्दा माथि देखाउनुका साथै एमाले नेतृत्वको सरकारले गरेका काम, अघि सारेका योजना जस ओलीलाई दिइएको थियो । व्यक्तिको देवत्वकरणले कुनै पनि पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाउने गर्दछ । एमालेमा अहिले ओली सबैका ‘बा’ का रुपमा चर्चित छन् । 

यतिबेला माओवादी केन्द्रको महाधिवेशन जारी छ । यो महाधिवेशन पनि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई देवत्वकरण गर्नेतिर अघि बढेको संकेत देखिएको छ । उद्घाटनका क्रममा उनको डमीहरू राखिएकोमा चर्को आलोचना भएपछि हटाउन लगाएका थिए । तर प्रचण्डलाई फेरि एकपटक नेतृत्वको रुपमा देवत्वकरणको प्रयास महाधिवेशनको हलमा भइरहेको छ । 

महाधिवेशनमा प्रचण्ड आफैँले छाडेको प्रचण्ड पथ फेरि ब्युँताउने गरी बहस भइरहेको छ भने उनको प्रतिवेदनमाथि सुझाव दिने क्रममा उनलाई ‘प्रचण्ड युग’ भन्नेसम्मको सुझाव आएको छ । तीन दशकयता माओवादीको एजेन्डामा नै देश अघि बढेको दाबीसहित 'प्रचण्ड युग' घोषणा गर्नुपर्ने आवाज उठेको छ। यसअघि नै पार्टीका नेता जनार्दन शर्माले प्रचण्ड पथ छाडेर गल्ती गरेको बताउँदै आएका थिए । महाधिवेशनमा पनि यही विषय उठेको छ । यसले एमालेमा ओलीको देवत्वकरण जस्तै माओवादीमा पनि प्रचण्डको देवत्वकरणको क्रम सुरु भएको रुपमा लिइएको छ ।

प्रचण्ड पथ प्रचण्डको आफ्नै सम्पत्ति थिएन

प्रचण्डको नेतृत्वमा नेपालमा १० वर्ष जनयुद्ध भयो । उनले अहिलेको राजनीतिक व्यवस्थाका लागि ठुलो योगदान पनि गरेका छन् । तर उनी आफैँ यसलाई संस्थागत गर्न भने चुकेका छन् । विश्वमा माओ विचार र माओवाद मान्ने थुप्रै दलहरू छन् । माओवाद मान्ने कि नमान्ने भन्नेमा पनि मतभेद पाइन्छ । माओवाद मान्ने र जनयुद्धरत पार्टीहरूमा पनि त्यहाँका नेताहरूलाई जोडेर विचारको रुपमा व्याख्या गर्ने क्रम सुरु भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको संगठन रिममा नै विवाद उठेको थियो ।

नेपालमा पनि 'प्रचण्ड पथ' वा ‘प्रचण्ड युग’ को रटान कम्युनिस्ट आन्दोलनमा वैचारिक दृष्टिकोणको पूर्णतासँगै देशलाई समाजवाद हुँदै साम्यवादतिर लैजान हो कि नेतालाई जीवनभरि नेतृत्वमा बस्ने साधनका रुपमा अघि बढाइएको भन्ने कुरा चैँ समयसँगै प्रस्ट हुँदै जानेछ । 

नेपालमा माओवादीले जनयुद्ध गरिरहेका बेला नेतृत्वको केन्द्रीकरण आवश्यक रहेको भन्दै सबै कुरा प्रचण्डमा सीमित पारियो । माओवादीले अघि सारेको राजनीतिक विचारलाई पनि प्रचण्ड पथका रुपमा व्याख्या गर्न मोहन वैद्य किरणसहितका नेताहरुले ठुलो भूमिका रहेको  थियो । प्रचण्ड पथको सबैभन्दा ठुलो व्याख्याता रुपमा वैद्य नै थिए । तर उनले पनि प्रचण्ड पथ भनेर भन्नु गल्ती भएको पटक पटक स्वीकार गरिसकेका छन् । 

२०६५ सालमा नारायणकाजी श्रेष्ठसँगको एकताका क्रममा प्रचण्ड आफैँ भने प्रचण्ड पथ छाड्न तयार भएका हुन । उनले यसलाई वैचारिक हतियारका रुपमा बोकेर हिँड्न सकेनन् । प्रचण्ड वास्तवममा शान्ति प्रक्रिया पछि क्रान्तिको राप र तापसहितको नेता भन्दा पनि पुरानै सांसदवादी ढर्रा बोकेको आम नेतामा परिणत भइसकेका छन् । उनी राजनीतिमा देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिसँग जोगिन सकेनन् ।

उनी अब संसदीय राजनीतिमा पनि बिकाऊ नेताका रुपमा रहन सकेनन् । त्यसैकारण फेरि उनलाई देखाएर माओवादी पार्टी ठुलो भएको भ्रम दिनका लागि पनि प्रचण्ड पथको कुरा उठिरहेको छ । प्रचण्ड पथको वैचारिक पक्ष के हो, के यसअघि व्याख्या गरेको प्रचण्ड पथ नै अब माओवादीको आगामी कार्यदिशाका रुपमा अघि बढ्न सक्छ ? यो प्रश्नको उत्तर महाधिवेशनको हलमा खोज्ने कुरामा चुक्दै जाने सम्भावना बढेको छ  । तर निरन्तर प्रचण्ड पथको कुरा भने उठिरहेको छ ।

यो भनेको प्रचण्ड आफैँले दस्ताबेजमा विगतमा गलत निर्णय भएको भन्दै पटक पटक आत्मालोचना गरेको विषयजस्तै भोलि फेरि अर्को आत्मालोचना गर्नुपर्ने अवस्थाबाट नभएर वैचारिक रुपमा नवनितासहित बहस हुनुपर्नेमा त्यसो भएको देखिँदैन । उनले प्रतिवेदनमा व्याख्या गरेजस्तै समाजवाद उन्मुख पार्टीको कार्यदिशामा प्रचण्ड पथ कुन स्थानमा जोडिन्छ भन्ने समेत प्रस्ट छैन । प्रचण्डले ल्याएको समाजवादी कार्यक्रमको मोडल पनि प्रस्ट भएको छैन ।

समाजवादी व्यवस्थामा वर्गहरूको व्यवस्थापन कसरी हुन्छ ? किनकि विगतमा आफूलाई समाजवादी दिशामा अघि बढाएका देशका कम्युनिस्ट पार्टीमा पनि समाजवादी प्रणालीभित्रै वर्गहरू जन्मिएर पार्टी र सत्तालाई सिद्ध्याएको उदाहरण प्रशस्त छन् । रुस र चीनमै समाजवादी राजनीतिक व्यवस्था र कम्युनिस्ट शासनभित्र वर्गहरू उत्पत्ति भए प्रतिक्रान्ति भयो । त्यस कारण प्रतिक्रान्ति रोक्नका लागि कम्युनिस्ट पार्टीमा स्पष्ट विचार र दृष्टिकोणको विकास गरिनुपर्छ ।

कुनै व्यक्तिका नाममा अपनाइएको विचारहरू भनेका ती नेतालाई सधैँ नेतृत्वमा राख्ने तिकडम बाजी मात्रै देखिन्छन् । कम्युनिस्ट पार्टीका नेताहरू जीवनभरि शक्तिमा रहने भोक हुने र त्यसका लागि विभिन्न नाममा विचारहरू देखाउने गरेको पाइन्छ । लेनिनदेखि माओ हुँदै किम इल सुङ र हो चि मिन्हसम्मका नेताहरू जीवनभरि शक्तिको वरिपरि वा मुख्य नेतृत्वका रुपमा नै रहेको देखिन्छ ।

नेपालमा पनि 'प्रचण्ड पथ' वा ‘प्रचण्ड युग’ को रटान कम्युनिस्ट आन्दोलनमा वैचारिक दृष्टिकोणको पूर्णतासँगै देशलाई समाजवाद हुँदै साम्यवादतिर लैजान हो कि नेतालाई जीवनभरि नेतृत्वमा बस्ने साधनका रुपमा अघि बढाइएको भन्ने कुरा चैँ समयसँगै प्रस्ट हुँदै जानेछ ।