ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाउने, कप्तानमा सन्दीप नै रहने

ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाउने, कप्तानमा सन्दीप नै रहने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १५, २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायकेले ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्वजनिक गर्ने बताएका छन् । 

उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका छन् । क्यानले नियुक्त गरेको कप्तान परिवर्तन नहुने पनि उनले साे क्रममा जानकारी दिए । यसअघि क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्तसहित कारबाही गरेको थियो । त्यसपछि सन्दीप लामिछानेलाई क्यानले कप्तानकाे जिम्मेवारी दिएकाे छ । 'कप्तान परिवर्तन हुनेछैन किनकि याे सबै क्यानकाे अधिकार क्षेत्र हाे', पुबुदुले भने ।  

तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका हुन् । क्यानको २५ मंसिरकाे बोर्ड बैठकले मुख्य प्रशिक्षकका रूपमा पुबुदुलाई अनुमोदन गरेको हाे । 

यसअघि नेपालले सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षणमा खेलेको थियो । नेपालले डिभिजन ४ र ३ को उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।