जागरण अभियानमा नेतृत्वलाई कांग्रेस कार्यकर्ताको सुझाब : पहिला नेता जागृत बन्नुस्

जागरण अभियानमा नेतृत्वलाई कांग्रेस कार्यकर्ताको सुझाब : पहिला नेता जागृत बन्नुस्

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७६

काठमाडाैं । संगठन सुदृढीकरण, आन्तरिक एकता र सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्न ७७ वटै जिल्लामा जागरण अभियान चलाएको कांग्रेस नेतृत्वलाई पहिले आफैँ जागृत हुन कार्यकर्ताले सुझाब दिएका छन् । २५ वैशाखदेखि सबै जिल्लामा एकसाथ सुरु भएको जागरण अभियानका क्रममा कार्यकर्ताले नेतृत्व सुध्रिए मात्रै पार्टी सुध्रिने बताए । 

एक महिनासम्म चल्ने जागरण अभियानमा कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । अभियानभर छरितो भेला, सदस्यता वितरण व्यापक बनाउने, स्वदेश र विदेशका सबै तहमा बृहत्तर रूपले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कांग्रेसको योजना छ । संघर्षकालका ऐतिहासिक घटनास्थलहरूमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गर्ने, पार्टीका पुराना अग्रजहरूलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति बुझ्नुका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाब लिने काम पनि अभियानका क्रममा गरिनेछन् । यस्तै, सरकारका गलत कामको भन्डाफोरलाई स्थानीय तहसम्मका नेता–कार्यकर्ता पंक्तिमा पुर्‍याउने गरी कांग्रेसका कार्यक्रम लक्षित छन् । 

जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले केन्द्रको निर्देशनअनुसार जिल्लामा समन्वय गर्दै अभियानका कार्यक्रमलाई व्यवस्थित बनाउनुपर्नेछ । अभियानमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघसहितका सबै भ्रातृसंस्थालाई पनि सक्रिय हुन पार्टीले निर्देशन दिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।