ओमिक्रोन संकट: भ्याक्सिनका दुवै डोज सङ्क्रमणको जोखिम रोक्न अपर्याप्त

ओमिक्रोन संकट: भ्याक्सिनका दुवै डोज सङ्क्रमणको जोखिम रोक्न अपर्याप्त

ज्ञानमित्र  |  दृष्टिकोण  |  पुष १६, २०७८

पृथ्वीकै मायानगरी हो अमेरिका । अमेरिकामा बसोबास गर्न मानिसले लाखौँ रकम तिर्न तयार हुनुका साथै अवैध तरिकाले प्रवेश गर्ने क्रममा ज्यानको बाजीसमेत थाप्छन् । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकामा व्याप्त कोरोना संकटले भने जो कोहीलाई पनि आश्चर्य हुनुपर्ने हो । भ्याक्सिनको कमी छैन अमेरिकामा, झण्डै ७१ प्रतिशत जनसंख्यालाई पूर्ण डोज भ्याक्सिन प्राप्त भइसकेको छ ।

गएको साता विश्वभर कोरोना संक्रमणका ८२ लाख ५६ हजार ६८७ नयाँ संक्रमित  थपिए । संक्रमणका कारण एक सातामा ४१ हजार ४०४ जना संक्रमितको मृत्यु भयो । यसभन्दा अघिको सातामा ५३ लाख ४ हजार ३८८ जनामा संक्रमण देखिएको थियो, जुन एक सातामै झण्डै ५६ प्रतिशतले वृद्धि भएर ८२ लाख ५६ हजार ६८७ पुग्यो ।

अमेरिकाको मात्र कुरा गर्ने हो भने विश्वमा ८२ लाख ५६ हजार ६८७ संक्रमित थपिँदा यहाँ २४ लाख २९ हजार ५२३ संक्रमित थपिएका हुन् । यो भनेको कुल संख्याको २९ प्रतिशत हो । यसभन्दा अघिको सातामा अमेरिकामा १३ लाख ४९ हजार ५५१ संक्रमित आएका थिए, जुन एक सातामा झण्डै ८० प्रतिशतले वृद्धि भएर अमेरिकाको कोरोना संक्रमणको अवस्था बयान गरिरहेका छन् ।

३० डिसेम्बरका दिन अमेरिकामा ५ लाख ६५ हजार ९८७ नयाँ संक्रमित थपिए । यसभन्दा एक दिन पहिला २९ डिसेम्बरमा ४ लाख ७५ हजार ८३१ संक्रमित थपिएका थिए । यसबारे न्युोर्क टाइम्सले लेख्यो- The U.S. breaks its single-day virus case record for the second day in a row. (https://www.nytimes.com/2021/12/30/us/coronavirus-cases-high.html?fbclid=IwAR2c5jEFV1p7fgnlC3ZK0nTxRnsHT53Zn9rEhYLRkjHqi_dsmBS326grdZY)

यो भनेको पहिलाको कोरोना लहरभन्दा दोब्बर संक्रमित आउनु हो ।

कोरोनाबाट मृत्यु हुनेमा पनि अमेरिकाकै रेकर्ड कायम छ । २९ डिसेम्बरमा एक हजार ७९१ तथा ३० डिसेम्बरमा एक हजार ३५४ संक्रमितको निधन भयो अमेरिकामा । एक सातामा ७ हजार २७६ अमेरिकीले ज्यान गुमाए । यसभन्दा अघिको सातामा ज्यान गुमाउनेको संख्या ७ हजार ९७४ थियो ।

कोरोनाको ओमिक्रोन भेरिएन्टको प्रकोपले अमेरिकाबाहेक विभिन्न युरोपेली देश, क्यानडा, अर्जेन्टिना, रूस ,ब्राजिल, दक्षिण कोरिया, इजरायल आदि रहेका छन् ।

नेपाल सरकारले यी सबै तथ्यांक हेरेर ७-८ हजार आईसीयू बेड र ४ हजार भेन्टिलेटर बेडको व्यवस्था गर्नुका साथै देशभर एक लाख आइसोलेसन बेडको व्यवस्था गर्नमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । ओमिक्रोन संक्रमितले घरमा आइसोलेसन बस्नु भनेको सारा परिवारलाई उच्चजोखिममा पुर्‍याउनु हो ।

यूकेमा गत साता ९ लाख ७८ हजार ९४४, फ्रान्समा ८ लाख ५० हजार ९६४, स्पेनमा ५ लाख ७६ हजार ७३८, इटालीमा ४ लाख ६४ हजार ३८३, टर्कीमा एक लाख ९४ हजार १५८, जर्मनीमा एक लाख ८८ हजार ४३३, ग्रिसमा एक लाख १३ हजार ७१०, पोर्चुगलमा एक लाख ५ हजार ७२३, डेनमार्कमा एक लाख ४ हजार ६२४, आयरल्याण्डमा ८८ हजार ७४, नेदरल्याण्ड्समा ८७ हजार ९०२, स्विट्जटरल्याण्डमा ८० हजार ९९४, बेल्जियममा ४९ हजार ३२४, स्विडेनमा ३६ हजार ३११, नर्वेमा २३ हजार ३४८, फिनल्याण्डमा २१ हजार ७८९, क्यानडामा एक लाख  ९६ हजार ५५६, अर्जेन्टिनामा एक लाख ७७ हजार ७८८, रूसमा एक लाख ६० हजार ६९४ र भियतनाममा एक लाख १० हजार ३० संक्रमित थपिएका छन् ।

विश्वमा  झण्डै दैनिक ७ हजारभन्दा बढी मानिसको संक्रमणका कारण मृत्यु भइरहेको छ । अमेरिका, युरोप, इजरायललगायतका देशमा कोरोना भ्याक्सिनको बुस्टर डोज वितरण भइसकेको छ अथवा धमाधम वितरण भइरहेको छ । भ्याक्सिनका अतिरिक्त एन्टी भाइरल ड्रगका रूपमा फाइजर कम्पनीको प्याक्सलोभिड र मर्क कम्पनीको मोल्नुपिराविर औषधिको प्रयोग पनि भइरहेको छ । तर, अमेरिका तथा युरोपको कोरोना संक्रमण नियन्त्रण हुनुको सट्टा शीर्ष उन्मुख नै छ । अहिले संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने देशमा अमेरिका तथा रूस अग्रपंक्तिमा रहेका छन् ।

विज्ञहरूको अनुमानमा अमेरिका तथा युरोपमा आउने १५ दिनसम्म कोरोना प्रकोप अझै चुलिन्छ । जनवरीको तेस्रो सातादेखि भारतमा कोरोनाको तेस्रो लहर आउने आँकलन छ, जुन झण्डै २ महिना अर्थात् १५ मार्चसम्म कायम रहने अनुमान छ । अहिले अमेरिका, युरोपले भोगिरहेको कोरोना सन्त्रास आउने दिनमा भारत र नेपालले भोग्ने बाध्यता हुन्छ ।

विभिन्न अध्ययनले देखाएको कोरोना भाइरसको प्रसार दर पहिलाको कोभिड- १९ भेरिएन्टमा २ देखि २.५ प्रतिशत रहेको थियो । पछि आएको डेल्टा भेरिएन्टमा यो ३ गुना बढेर ६-७ प्रतिशतसम्म हुन पुगेको थियो । अहिलेको ओमिक्रोन भेरिएन्टमा संक्रमण प्रसार दर झण्डै २०-२१ प्रतिशत  हुन पुगेको छ । अहिलेको ओमिक्रोन संक्रमित एक जनाले २०-२१ जनालाई संक्रमित बनाउन सक्छ ।

कमजोर स्वास्थ्य सुविधा भएका देशका लागि भाइरसको संक्रमण प्रसार दर नै घातक हुन जान्छ । नेपालभन्दा  झण्डै दोब्बर जनसंख्या भएका युरोपेली देश फ्रान्स, यूके, स्पेन, इटाली जस्तै दैनिक लाखभन्दा बढी संक्रमित आइरहेका देशका जस्तै नेपालमा पनि तीव्र गतिले ओमिक्रोन फैलियो भने स्थिति अत्यन्त नाजुक हुनपुग्छ ।

ओमिक्रोन घातक छ कि छैन भन्ने अनुमान यसै एउटा तथ्यांकले आफैँ बोल्छ । अहिले विश्वमा २ करोड ८२ लाख २५ हजार २० जना सक्रिय संक्रमित छन् । यीमध्ये ९० हजार २९३ जनाको अवस्था क्रिटिकल/सिरियस छ । अन्य ५ लाख मानिस अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । बितेको साता विश्वमा ५३ लाख ४ हजार ३८८ नयाँ संक्रमित थपिँदा ४७ हजार २३२ जनाको मृत्यु भयो । यो भनेको झण्डै एक प्रतिशत मृत्यु दर हुनु हो । विश्वको ट्रेन्ड हेर्दा ओमिक्रोनको मृत्यु दर एक प्रतिशत रहेको देखिन्छ । अस्पताल भर्ना हुने चिकित्स्कीय सहायता चाहिनेको प्रतिशत झण्डै ३-४ कायम रहेको छ ।

नेपाल सरकारले यी सबै तथ्यांक हेरेर ७-८ हजार आईसीयू बेड र ४ हजार भेन्टिलेटर बेडको व्यवस्था गर्नुका साथै देशभर एक लाख आइसोलेसन बेडको व्यवस्था गर्नमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । ओमिक्रोन संक्रमितले घरमा आइसोलेसन बस्नु भनेको सारा परिवारलाई उच्चजोखिममा पुर्‍याउनु हो ।

ओमिक्रोन भेरिएन्टबाट डराएर, त्रसित भएर, आत्तिएर पार पाइँदैन । होसियारीपूर्वक, सतर्कतापूर्वक यसको मुकाबिला गर्नुपर्ने हुन्छ ।सरकारले लकडाउन गरेपछि मात्र आफ्ना गतिविधि नियन्त्रित गरौँला भन्ने मानसिकता राख्नु उचित होइन । आजैदेखि आफ्ना गतिविधि सीमित गर्नुहोस् । शंका लाग्नसाथ परीक्षण गराउनुहोस् । संक्रमित भएमा आफूलाई पूर्ण रूपेण आइसोलेसनमा राखेर अरूलाई सुरक्षित बनाउनुहोस् । होस गर्नुहोस्- एक प्रतिशत मानिसका लागि संक्रमण अझै खतरनाक छ । तपाईं एक प्रतिशतमा नपरे पनि तपाईंबाट संक्रमित हुने यस प्रतिशतभित्र आउन सक्छन् ।

विश्वका धनी देशले बुस्टर डोज प्रदान गरिरहेकाले नै स्पष्ट छ- भ्याक्सिनका २ डोज संक्रमणको जोखिम रोक्न पर्याप्त छैनन् । नेपालले चाहेर पनि २ महिनामा बुस्टर डोज वितरण गर्न सक्दैन । दुवै डोज भ्याक्सिन लगाएका मानिसले पनि संक्रमित नहुन सबै उपाय पालन गर्नुपर्ने हुन्छ । अहिलेसम्मको उपलब्ध तथ्यांकअनुसार ओमिक्रोनबाट भ्याक्सिनका दुवै डोज लगाएका मानिस पनि भ्याक्सिन नलगाएका मानिस सरह नै संक्रमित भइरहेका छन् ।