माओवादी बन्द सत्र : प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्ड जबाफ दिँदै

माओवादी बन्द सत्र : प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्ड जबाफ दिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १६, २०७८

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत बन्द सत्र जारी छ । महाधिवेशनको छैठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जबाफ दिन सुरु गरेका छन् ।

दिउँसो १ बजेदेखि सुरु भएको बन्द सत्रमा यसअघि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेर अध्यक्ष प्रचण्डले उठेका प्रश्नमाथि जबाफ दिन सुरु गरेका हुन् ।

बन्द सत्रको दिन अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा छलफल तथा निष्कर्ष सुझाव सुनाउन २५ वटा समूह गठन गरिएको थियो । २५ वटै समूहले बिहीबारसम्म विभिन्न प्रश्न उठान गर्दै निष्कर्ष सुनाइसकेपछि अध्यक्ष दाहालले जबाफ दिन थालेका हुन् ।

समूहगत छलफलबाट कम्युनिस्ट नेताको आचारण, संस्कार, जीवनशैली, वैचारिक स्पष्टतादेखि अन्तर्राष्ट्रिय विषयसम्म थुप्रै सुझाव आएका छन्, जसलाई दस्तावेजमा समेट्न माग गरिएको छ ।