'एमसीसीबारे धेरै बोल्दा देश खतरातर्फ जान्छ, पार लगाइन्छ'

'एमसीसीबारे धेरै बोल्दा देश खतरातर्फ जान्छ, पार लगाइन्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १६, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका महाधिवेशन प्रतिनिधि सामु मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे अमूर्त जबाफ दिएर टार्ने प्रयत्न गरेका छन् । 

गत सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जबाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जबाफ दिएका हुन् । एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताए । 

‘एमसीसीका बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने संभावना भएको हुँदा धेरै बोल्नुपरेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रूपमा बुझ्नुहोला । पार लगाइन्छ’, उनले भने । 

एमसीसी पार लगाउने भन्ने प्रचण्डको जबाफको आशय पारित गर्ने वा खारेज गर्ने हो भन्ने स्पष्ट हुन नसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । उनको सो धारणा एमसीसी खारेज गर्नुपर्ने केही महाधिवेशन प्रतिनिधिको बुझाइ छ भने अधिकांश अलमलमा परेका छन् ।