माओवादी महाधिवेशनले प्रचण्डको प्रतिवेदन पारित गर्‍यो

माओवादी महाधिवेशनले प्रचण्डको प्रतिवेदन पारित गर्‍यो

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १६, २०७८

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । 

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्द सत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलका पूरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् । 

गत आइतबारदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार २ दिन समूहका नेताहरूले आआफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए । 

तत्‌पश्चात् शुक्रबार अध्यक्ष प्रचण्डले जबाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।