धरामा कर्ण भएर ‘अग्नि’ सल्काइरहनू प्रिय कवि डा. लम्साल !

धरामा कर्ण भएर ‘अग्नि’ सल्काइरहनू प्रिय कवि डा. लम्साल !

अर्जुनबाबु दाहाल  |  साहित्य  |  पुष १७, २०७८

मेरा एक जना मित्र छन् कृष्ण दाहाल, दाजुभावका मित्र । उनी सर्लाही बस्छन् । डा. नवराज लम्सालको तेस्रो महाकाव्य अग्नि विमोचनका दिन उनी पनि काठमाडौँ आइपुगेका थिए । सर्लाहीबाट काठमाडौँ किन आए होलान् ? मनमा कुरा खेलिरह्यो । किन आइस् दाइ भनेर सोध्ने कुरा पनि भएन ।

केही दिनअघि उनले एउटा स्टाटस लेखे, झन्डै लेखै लेखेजस्तो लामो स्टाटस । जसमा उनेले भनेका छन्–‘नेपाली समाज, राजनीति र इतिहास टेकेर लेखिएको यति सशक्त कृति नेपाली साहित्यको संभवतः पहिलो कृति हो भन्नेमा सायदै कसैको विमती रहला । नेपालका शासक, राजनीतिज्ञ, क्रान्तिवीर, अनुसन्धानकर्ता, समालोचक, विश्लेषक, चिन्तक आदि सबै एकै साथ उभिएर बोल्न, भन्न र लेख्न नसकेको, नभ्याएको  विषयमा एउटा लेखकले यति सहजै नेपाली समाज, शासक र राज्य व्यवस्थालाई बुझाउन कसरी सम्भव भएको होला भन्ने कौतुहल अग्नि महाकाव्यको प्रमुख विशेषता हो ।’

म न त समालोचक हुँ न त त्यति माथिल्लोस्तरको कवि । गीत र कवितामा यसो बग्ने मेरो पुरानो रुचि हो, त्यो पनि बेला बेला । अचेल त त्यही पनि कम भइसकेजस्तो भएको छ । तर म पढ्न मन पराउँछु । पढेको छु अग्नि र यो स्टाटसले पनि यी हरफ लेख्न प्ररित गर्‍यो ।

डा. लम्सालसँगको र मेरो प्रत्यक्ष भेट भएको त्यति धेरै भएको छैन तर उनको रेडियो कर्ममार्फतको भेट त आफू कक्षा ४ पढ्दैदेखिको हो । यस विषयमा पहिले नै केही लेखिसकेको छु ।  नभेटे्दाको नवराज लम्साल जति प्रिय लागेको थियो, भेटेपछि त्यो भन्दा झन् बढी प्रिय लाग्यो । कति सहज सहज । कति सरल सरल । त्यो भेटअघि मैले कर्ण र धरा पढेकै थिइनँ । म उनको श्रोता मात्रै । श्रोता गीतको पनि र रेडियोको पनि तर भेटपछि महाकाव्यमा छिर्न थालेँ बिस्तारै । अग्निका केही अँश प्रकाशनअघि नै सुनेको थिएँ । साक्षी थिए भरत महर्जन र मिलन कोइराला ।

विमोचनका दिन कृष्ण दाहालजस्तै म पनि पुगेँ कार्यक्रममा कमलादी । वक्ताहरूको कुरा सबै सुनेँ । स्वयं लम्सालकै कुरा सुनेँ । उपस्थितहरूका बीचमा भएका अनौपचारिक कुरा सुनेँ । किताब पढेँ । दशैँमा संखुवासभा जाँदा बाटैभरि र घर पुगेर पनि पढेँ । काठमाडौँ आएर दोहोर्‍याएँ । कर्ण र धराभन्दा सजिलो लाग्यो पढ्न तर कुरा ती दुईमा भन्दा कति हो कति धेरैजस्तो, दार्शनिकजस्तो, व्यावहारिकजस्तो, आफ्नै मनको कुराजस्तो, ए हो त हगि ! भनेजस्तो । 

दिमाखमा केही कुरा आइरहेको थियो । केही लेख्न र केही पोखिन मन लागिरहेको थियो । एक दिन केही लेखूँ भनेर सोच्दै थिएँ । संखुवासभाकै एक जना दाइ श्रवण शर्मासँग भेट भयो । उहाँसँग पनि लामो कुरा भयो । कुरा फेरि नवराज लम्सालकै पनि भयो । संयोग त्यही साँझ श्रवण दाइले नवराल लम्सालबारे लेख्नु भएछ फेसबुकमा– ‘अग्नि पढिसकेँ । राजनीतिलाई साहित्यको रड्ग लगाएर जे देखाउनु पढाउनु भएको छ, वेजोड छ । परिष्कृत छ । इतिहास छ, संस्कार, सभ्यता, चिन्तन, दृष्टिकोण छ र रहस्य पनि  । सिमाहीन छन् भावना । सलल अरुण बगेजस्तो बगिरहेछ लेखन । जीवनको जिजीविषामा मानवीय संवेदनाहरु कसरी जलिरहेछन् । सन्तप्त छ समाज आफैँ, के दिन्छ त्यसले अरुलाई । प्रसङ्गहरु पनि लजिकल छन् । अंग्रेजीमा उयधभच या यिनष्अ भनिन्छ, तपाईँको लेखाइ यिनष्अ ले उयधभच देखाएको छ । हुन त म साहित्यको साधक होइन र लाग्छ साहित्य बुझेर न्यायसंगत विवेचना मेरो क्षेत्र होइन  तर पनि यति भन्न सक्छु, समाजशास्त्रमा र मानवशास्त्रजस्तो mयलयतयलयगक बिषयमा काव्यिक स्वाद भरेर प्रस्तुत गर्नु भएको छ, सुन्दर अति सुन्दर छ ।

तपाईँको यस पुस्तकमा राजनीतिक, समाज र मानवशास्त्रीय र इतिहासका अतिरिक्त मानिसको हृदयका कुनामा बसेको मनुष्त्वमा लेखनले गर्न खोजेको अन्वेषणलाई ठम्याउन सक्ने विवेचक  चैँ खड्कियो नवराजजी ।’

कृष्ण दाहाल र श्रवण शर्माको चिनजान छैन सायद तर कसरी मिले होलान् यी तर्कहरू ? म न त त्यति गहिरो पाठक हुँ र न त समीक्षक । भावुकतामै रमाउने जस्ताले के ठम्याउनु यस्ता कुरा ! तर केही लेख्ने मन छ, के लेखूँ भनेर चिन्ता गरिरहेको बेला विमोचनका दिन आहुतीले भनेको हरफ सम्झिरहेँ । आहुती मलाई राम्रा चिन्तक र दार्शनिक लाग्छ । उनी हत्तपत्त कसैलाई स्वीकार गर्दैनन् । जस्को किताब विमोचन हो, विमोचनकै दिन उसैलाई ठोकिरहेका हुन्छन् । नवराज लम्सालको अग्नि विमोचनमा वक्ताका रूपमा आहुती आउने रे भन्ने सुनेपछि झन् उत्सुकता बढेको थियो ।

त्यस दिन आहुतीले अग्निको प्रशंसा गरे । यसबाट मैले दुइटा कुरा थाहा पाएँ । एकः आहुती सबैलाई नराम्रो भन्ने मान्छे होइन रहेछन् । दोसो, नवराज लम्सालको लेखनमा खास दम रहेछ ।

आहुतीले भनेको केही कुरा ख्याल गरेको थिएँ । एक, अग्नि दलित आन्दोलनलाई हेर्ने दृष्टिकोणमै एउटा टर्निङ प्वाइन्ट हुनुसक्छ । दुई, आजसम्म लेखिएको साहित्यमा दलितलाई कठै भनेर दया देखाइएको थियो तर यसका पात्र छेलाङी र जुनिमाया आफैँ सशक्त भएर उभिएका छन् । तीन, नवराज लम्साल लेख्नका लागि आदर्श लेख्दिने कवि होइन, ऊ आफैँ परिवर्तनको प्रतीक हो । चार, मलाई पढ्न अझै पुगेको छैन, फेरि एक पटक काव्यकै तहमा उक्लेर पढ्छु र केही लेख्छु । 

आहुतीले फेरि पढे पढेनन् थाहा छैन । लेखे लेखेनन् थाहा छैन । लेखे वा लेख्दै होलान् त्यो उनको कुरा हो तर उनकै भनाइबाट प्ररित भएर दुई पटक पढेँ । दोस्रो पढाइमा झन् बढी स्वाद आयो । 

म एकै पटक ह्वारह्वार्ती लेख्न सक्तिनँ । कुनै विषयले छोएपछि गन्थन लेख्ने हो । यी हरफहरूसँग रमाइरहँदा जमाना फेसबुकको छ, कविराज सुवेदीले लेखेको पढेँ फेसबुकमै । – ‘हामीले बाँचिरहेको समाजको कहालीलाग्दो चित्रण हो महाकाव्य,अग्नि । धेरै पाठकलाई अग्नि पढ्दै गर्दा नवराज लम्सालले अँध्यारो कोठामा छिरेर झ्याल खोलिदिएझैँ लाग्नसक्छ । मानवका अमानवीय व्यवहारको अग्निले पिल्सिएका र मानवीय संवेदनाले थाम्नै नसक्ने अत्याचार सहेर बाँचिरहेका  सामाजका रक्षकहरूको आवाज बुलन्द पार्न लेखिएको  महाकाव्य हो–अग्नि । कलुषित, पूर्वाग्रही ,अमानवीय मूल्यमान्यता र परम्परा बिरुद्धको ’मुर्दाबाद !!’ हो अग्नि । तपाईं समाज बुझ्न चाहानुहुन्छ वा समाजवादी बन्न चाहानुहुन्छ भने अग्निलाई नवराज घोषणापत्र मान्दा पनि हुन्छ ।’

विमोचनका दिन कविताकै विद्यावारिघि दुई प्राध्यापक रामप्रसाद ज्ञवाली र गीता त्रिपाठीले अग्निलाई २०५० यताका थोरै महत्पवूर्ण किताब मध्येकै एक किन भने होलान् भन्ने लागेको थियो । मैले भेटेर सोधिनँ । आफैँ साहित्यकार रहेका दुई प्रतिनिधिले भनेको कुरा विमोचनको आनन्दका लागि मात्र हो कि भन्ने पनि ठानेँ तर होइन रहेछ । दिलदेखिनै भनेका रहेनजस्तो लागेको छ । 

अग्निभित्र कविको सरल प्रवेश, छेलाङीको कुरालाई सप्रेम सुनेको, कवि हावी नभएर पात्रलाई पूर्ण रूपमा खुल्न दिएको, इतिहास, भूगोल, संस्कृति र जीवनको पाटो मूलप्रवाहमै बगेको सिलसिला । मलाई खूब मन परेको । ठूले कामी मरेपछि हेमकर्ण सेन राजा ग्लानिमा डुवेको क्षण, इन्द्रकुमारीको चिठी र जेठी तरबारसँगै भेट्दा पृथिवीनारायण शाहको मनोदशा, जुनीमायाले व्यक्त गरेको निजी जीवन र उनको उत्साह । अन्त्यमा कृष्ण भगवान् थुनिएको मन्दिरभित्रकै थुनाबाट छुटेको र कृष्णले ठूले कामीको सालिक बनाउँदै छन् रे भन्ने आवाजको प्रतिध्वनि । यी हुन् मलाई सबैभन्दा मजाले छोएका सन्दर्भ । पुरै पुस्तक नपढी यसको मजा लिन सक्नुहुन्न । डा. लम्सालका तर्क, पुराणका कुरा, दृष्टि दृष्टान्त यी बेजोड छन् । एउटा व्यक्ति जागिरे जीवन बाँचेर, काठमाडौँ भोगेर यति कुरा पढ्न कसरी भ्याउँछ र लेख्न कसरी भ्याउँ छ ? यो झन् छुट्टै खोजीको विषय हो ।

श्रवण शर्मा दाइले लेखेको ‘तपाईँको यस पुस्तकमा राजनीतिक, समाज र मानवशास्त्रीय र इतिहासका अतिरिक्त मानिसको हृदयका कुनामा बसेको मनुष्त्वमा लेखनले गर्न खोजेको अन्वेषणलाई ठम्याउन सक्ने विवेचक  चैँ खड्कियो नवराजजी ।’ भन्ने वाक्यको जवाफ त मसँग छैन तर श्रवण दाइलाई नै मेरो आग्रह छ, दाइ तपाईँ आफैँले एउटा घच्चीको बहस छेडिदिए कसो होला ? यो कुरा मनमा आएकै हो तर मैले कमेन्ट बक्समा लेख्न उचित ठानिनँ ।  कविराज र कृष्णहरू पनि अलि जुर्मुराए कसो होला ? नवराज लम्साल आफैँले एक दिन एउटा स्टाटस लेखे–खाल्डोमा उभिएर पनि अग्लो देखिनेहरूलाई सलाम ।

‘यतिखेर म शून्य छु । शून्य खुसीले पनि दिने रहेछ र यो पूर्ण अनुभूति रहेछ । एउटा सुखद अनुभव गरिहरेछु । धेरै कुरा छन् लेख्नुपर्ने र धेरै कुरा छन् लेखनको सिलसिलामा । थाहा छैन अब कुन बाटो कहाँ जान्छु । केही समय म फुर्सद लिएर शान्त बस्न चाहन्छु ।

यो कुनै पार्टीको महाधिवेशन ताका कुनै विजयी उमेदवारलाई संकेत गरेका होलान्जस्तो लाग्छ तर उनको मनमा खाल्डोमा उभिएर पनि अग्लो देखिन सकिन्छ भन्ने चेतना नभएको भए त यो स्टाटस लेख्ने सोच कसरी आउँथ्यो र ? दौडेर शिखर पुगेर अग्लो देखिने लिगलिगे शैलीभन्दा खाल्डैमा उचाइ खोज्ने चेतनालाई कविराज सुवेदीले नवराज घोषणा पत्र भनेका होलान् । नवराज लम्साल खाल्डैमा उभिएर अग्लो देखिने मान्छे हुन् र त खाल्डैमा रहेका सीमान्तकृतहरूका कथा लेख्ने गर्छन् ।

अग्नि उनको तेसो महाकाव्य हो । पहिलो कर्ण र दोस्रो धरा । पहिलो महाकाव्य कर्णमै आफ्नो मन्तव्य खण्डमा उनले लेखेका छन् –‘आज पनि घरघरमा कर्ण देख्छु । उनी खोलामा फ्याँकिए –आज कुपोषणले वा खान नपाएर कति बालबालिका मरेकै छन् । उनले द्रोणचार्यकहाँ पढ्न पाएनन् –आज पनि कयौँले राम्रो विद्यालय, महाविद्यालय वा विश्वविद्यालय देख्नसम्म पाएका छैनन् । उनलाई प्रतिस्पर्धा गर्नै नदिएर अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर घोषणा गरियो–आज पनि सम्पर्क सूत्रकै आधारमा क्षमताहीनहरुले महत्वपूर्ण पद र पगरी पाएकै छन् । उनलाई छल गरेर मारियो– आज क्षमतावान्हरुको क्षमतालाई कुल्चेर उसको प्रतिभाको हत्या गरिएकै छ । उनले परशुरामकहाँ गरेको हतियार अभ्यास र नेपालमा भएका र हुँदै गरेका विभिन्न सशस्त्र विद्रोहबीच पनि अध्ययनका लागि प्रशस्त समता भेटिन्छ ।

त्यो कालखण्डको मायावी युद्ध आजको छापामार युद्ध हो । आज पनि समाजमा प्रशस्त कर्णहरु छन् र तिनले पनि नियतिको उही पुरानो रुप भोगेकै छन् । कर्ण नायक हुन् तर इतिहासदेखि आजसम्म उनको नायकत्व निषेध गरिएको छ । ससम्मान कर्णको नायकत्व स्थापित गर्न र वर्तमानमा धेरै कर्णहरुको सम्भावनाको हार्दिक सम्मान गर्न चाहन्छु म ।’

यही हो नवराज घोषणपत्रको मूल भन्ने लाग्छ । समसामयिक नेपालमा मलाई धेरै मन पर्ने पात्र हुन् नवराज लम्साल । त्यसैले होला उनका बारेमा लेखिएका कुराको सोधखोज गर्छु, सङ्ग्रह पनि गर्छु । सायद अरुको विषयमा यति कुरा बोल्न, लेख्न सक्तिनँ होला किनकि मसँग सूचना छैन तर उनको बारेमा थाहा छ सबै कुरा । अग्नि विमोचन हुनुअघि नै एउटा अनलाइनमा निर्भीकजङ्ग रायमाझीले लेखेका थिए–‘गीत, कविता, निबन्ध, समालोचना र महाकाव्यमा समानान्तर लेखिरहेका नवराज लम्साललाई आम जनताले रेडियोकर्मीको रुपमा चिन्छन् ।

२०५१ देखि रेडियोमा बोल्न थालेका उनी आज पनि रेडियो नेपालमा कार्यक्रम चलाइरहेका छन् । साहित्यिक वृत्तमा भने कवि र गीतकारका रुपमा स्थापित छन् । तीन सयभन्दा बढी गीत रेकर्ड भइसकेका लम्साल पछिल्ला वर्षहरूमा कवितामै केन्द्रित छन् । लेख्ने–पढ्ने सबैसँग हातेमालो गर्दै अघि बढिरहेका लम्साल आफ्नो पुस्तासँग भन्दा बढी युवाहरूसँग उठबस गर्न रुचाउँछन् । युवाहरू भनिरहेका हुन्छन्, ‘नवराज दाइ सरल छन् । सहृदयी छन् ।’ नभनुन् पनि किन, किशोरावस्था मात्र पार गरेका युवा कविहरूको कवितासंग्रह प्रकाशित हुँदा उनले ती सबै युवाकविलाई रेडियो नेपालमा बोलाएर अन्तर्वार्ता लिए । मधुवन कार्यक्रममा फोनबाटै देशैभरिका कविहरूको कविता प्रसारण गर्छन् । लम्साल जुन जिल्ला जान्छन् त्यहीँको साहित्य र संस्कृतिलाई मियो बनाएर कार्यक्रम बनाई रेडियो नेपालबाट प्रसारण गर्छन् । ‘म भविष्य युवाहरूको कर्ममा देख्छु । यसैले उनीहरूसँग निकट रहेर काम गर्न मन पराउँछु’ उनी भनिरहेका हुन्छन् ।’

अग्नि सार्वजनिक भएपछि एक अनलाइनसँग कुरा गर्दै उनले भनेका थिए – ‘यतिखेर म शून्य छु । शून्य खुसीले पनि दिने रहेछ र यो पूर्ण अनुभूति रहेछ । एउटा सुखद अनुभव गरिहरेछु । धेरै कुरा छन् लेख्नुपर्ने र धेरै कुरा छन् लेखनको सिलसिलामा । थाहा छैन अब कुन बाटो कहाँ जान्छु । केही समय म फुर्सद लिएर शान्त बस्न चाहन्छु । ३८ वर्ष भयो काठमाडौँ आएको र पूरै दिनहरू मेलामा जोतिएको । दुःखको हलो केही समय कान्लामै राखेर सुस्ताउँछु केही दिन र फेरि शुरु गर्छु कर्मको खेत खन्न ।’ लाग्छ उनले एक जुनीलाई पुग्ने खेत खनिसकेका छन् ।

नवराज लम्सालको साहित्यिक घोषणा पत्रको बिउ त २०६६ मा प्रकाशित कर्णमै रहेछ । अग्नि त यी सबैको उत्कर्ष हो । मलाई लाग्छ अग्नि पढेमात्रै पनि पूर्ण नवराज बुझिन्छ तर कर्ण र धरासमेत जोडेर पढ्यो भने उसले नवराज लम्सालसँगै देश, देशको संवेदना, समय र  समाज पूर्ण रूपमा बुुझ्ने छ । सन्दर्भ अग्निको भए पनि कर्णका केही हरफ फेरि साभार गर्न मन लाग्यो । नढाँटी भन्दा कर्णका यी हरफ बिर्सिसकेको रहेछु ।

दीपक उपाध्यायले केही दिन अघि फेसबुकमा लेखे पछि ए ! हो त भन्ने लाग्यो र फेरि सम्झेँ । डा.  कर्णको एक अँश भन्छ: केन्द्रीकृत शक्तिकिल्ला भत्केर शक्तिको बहुकिल्ला हुनु, ठानिएको अकाट्य सत्य असत्य प्रमाणित हुनु, सीमान्तकृतहरुलाई केन्द्रमा ल्याउनु वा ल्याउन खोज्नु, बिचारको बहुलता स्वीकारेर पौरखको नीलगङ्गाले जीवन शुद्ध बनाउने अधिकार सबैलाई प्राप्त हुनु र उत्तरआधुनिक समय चेतनाले आच्छादित कर्णहरुको क्षमतासहितको अस्तित्व स्वीकार गर्नु नवयुगको मानवीय पक्ष हो भन्ने लाग्छ । जातीय, क्षेत्रीय, वर्गीय वा अन्य आधारमा हुने शोषणका कारण सीमान्तकृत भएका वा अन्यायमा परेका व्यक्ति वा समुदायमाथिको न्यायीकरण यो युगको उज्यालो हो ।’

नवराज लम्सालसँग यति गहिरो चेतना नभएको भए त न कर्ण, न धरा, न अग्नि ! यतिखेर श्रवण शर्माले खास समीक्षा भएन भनेको पनि ठीक लाग्यो र कविराजले नवराज घोषणपत्र भनेको पनि ठीक लाग्यो । म त एउटा पाठक र उनको शुभेच्छुक न हुँ ।  अर्काले भनेको कुरा यसै गरी सङ्ग्रह गरिदिन सक्छु, जो गरें ।

लेखाइको बिसौनीमा कृष्ण दाहालले लेखेको यही हरफ साक्षी राख्छु । उनले लेखेका छन् –‘अग्नि यानिकि आगो; जो आफैँ सल्किन्छ र सल्काउँछ पनि सारालाई । नेपाली साहित्यमा पनि अग्नि महाकाव्य सल्किएको छ आफैँ; लेखकको आफ्नै चिन्ता, चिन्तन र चैतन्यले अनि सल्काउँदै छ नेपाली समाज, शासक र राज्य व्यवस्थालाई समताको मार्गमा ।’ 

सबैको आवाज बन्न सफल भएकोमा सादुवाद छ, नवराज तिमीलाई !!’ कृष्ण दाहालकै शब्दमा मेरो पनि,साधुवाद छ नवराज तिमीलाई । तिम्रो गहिरो शालिनता र सबैसँग मिठोसँग घुलमिल हुने शैली नभएको भए मजस्तो एउटा आयुर्वेदिक स्वास्थ्यकर्मी कसरी यसरी लोभिन्थ्यो र साहित्यतिर ?

अग्निको उज्यालोले तिमी हिँड्ने बाटो सहज होस् प्रिय कवि, मानव मर्यादाका कवि डा. लम्साल । धरामा कर्ण भएर अग्नि सल्काइरहनू !