अर्को धरती अर्थात् आमा

अर्को धरती अर्थात् आमा

जुनू राना  |  साहित्य  |  पुष १७, २०७८

प्रकृति वा धरती
एकै स्वरुप हो आमा
एउटै नाम हो आमा ।

हरेक रात ओच्छ्यानमा
धरती नै ओच्छ्याउँछ मान्छे
भौतिकता त फगत अस्थायी हो
मातृत्व नै शाश्वत हो
हो, शाश्वत हो धरातल ।

कालो वा गोरो
रङ रङका जन्महरू
फरक फरक उचाइका रूपहरू
ती स्वतः उत्पादित होइनन्
ती सबै जन्म नै हुन् ।

महामानवहरू
महान् सम्राटहरू
विश्वविजेताहरू
महादेश पहिल्याउने कोलम्बस
सबै सबै जन्म नै त हुन् ।

यहाँ स्वचालित अथवा
स्वउत्पादित त कोही छैनन्
अहङ्कार र इबी मात्र स्वयम् हो
‘म’ उच्चारण नै गलत हो
बाँकी त सृष्टिको साझा सृजना
हावा, पानी, घाम–जून
सबै सबै जमिन हुन् ।

म धर्ती हुँ, स्त्री हुँ, जननी हुँ
बुझ्नू–
आग्रहहरू मेरा कमजोरी होइनन्,
म त मानवधर्मको एक पहरेदार हुँ
यसभन्दा माथि म आमा हुँ
धरतीको अर्को स्वरूप हुँँ  ।

ए मान्छे !
जन्मले तिमी मान्छे नै हौ भने
मान्छेको इमान देखाउन सक
आग्रह यो छ कि–
अनुचितलाई अनुचित नै लेख्न सक
अन्यायलाई अन्याय नै भन्न सक
अपमानलाई अपमान नै भन्न सक ।

भिन्नता देखाउन सक
जन्तु र मानवबिचको
फरक दर्साउन सक
यो जरुरी छैन कि
अन्याय नभोग्दासम्म बोल्नु ।

धर्म मान्छेकै हुन्छ
धर्म आफ्नै समाजको हुन्छ
जहाँ आफूले श्वास लिइन्छ
यो हो आग्रह सन्ततिलाई
दुस्साहस होइन यो
अर्को धरतीको ।

जसको रगत नश्ल बनेर
नसा–नदीमा दौडिरहेको हुन्छ 
जसले प्रत्येक सेकेन्ड सेकेन्डमा
जन्म ‘जिउँदो’ राखिरहेको हुन्छ
अर्को धरती अर्थात् आमा ।