श्रीओम श्रेष्ठ 'रोदन' : सिर्जना, सक्रियता, सम्बन्ध र सम्पर्कले बनेका उम्दा स्रष्टा

श्रीओम श्रेष्ठ 'रोदन' : सिर्जना, सक्रियता, सम्बन्ध र सम्पर्कले बनेका उम्दा स्रष्टा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष १७, २०७८

१३ असोज २०३८ घटस्थापनाको दिनको बाढीमा उहाँ काठमाडौँ आउन हिँड्नुभएको थियो । हिँड्नु अगाडि उहाँले हिँड्दै छु भनेर आवा (आकाशवाणी) गर्नुभएको थियो । 

एक घण्टा बस गुडेपछि बाटो सबै बन्द भएका कारण रोकिनुपर्‍यो । बुटवल लगभग डुबेको स्थिति थियो । काठमाडौंसम्म आउँदा लगभग १०० वटा कलभर्ट बगाएको भयावह अवस्था थियो । 

उहाँ अरू ४ जना साथीसँग हिँड्दैहिँड्दै काठमाडौं आइपुग्नुभयो । पाल्पाबाट भैरहवा एयरपोर्ट जानुभन्दा बाटोमा कतै गाडी पाइयो भने छिटो हुन्छ भन्ने अनुमानमा उहाँहरू हिँड्नुभएको थियो । पाँचौँ दिन उहाँहरू चरौँदीमा आएर बास बस्नुभएको थियो । भोलिपल्ट उहाँहरू ट्रक चढेर काठमाडौं आइपुग्नुभयो । 

हरेक दिन बाढी-पहिरोले मानिस मरेका समाचार आउँथ्यो । त्यसबेला ल्यान्ड लाइनको फोन सुविधा थिएन । संचारको सुविधा भनेको आवा मात्र थियो । 

उहाँले काठमाडौं आउनुअघि आवा गर्नुभएको थियो । तर, भोलिपल्ट आइपुग्नुपर्नेमा नआइपुगेपछि परिवारका सदस्यहरू खोलाखोलामा लास बगाएर ल्याउँछ कि भनेर हेर्न जाने गर्नुहुन्थ्यो । 
नेपाली रङ्गमञ्च, साहित्य र पत्रकारितालाई एउटा उम्दा स्रष्टा जन्माउनु थियो सायद, त्यस कारण प्रकृतिलाई त्यो कुरा मन्जुर थिएन । 

०००

उहाँका बुबा नेसनल ट्रेडिङको एउटा सामान्य जागिरे । आमा भने सामान्य गृहिणी मात्र । बुबाको काँधमा आफूसहित श्रीमती र ५ जना छोराछोरीको दायित्व थियो । 

छोराछोरी पढाउन तथा वर्ष दिनको खाइपिइका लागि सामान्य जागिरले धान्न मुस्किल थियो । गुजारा चलाउन कठिन कठिन नै हुन्थ्यो, थियो । यस कारण पनि श्रेष्ठ आफ्नो परिवारलाई निम्न मध्यम वर्गीय भन्नुहुन्छ । 

परिवारलाई आर्थिक रूपले सघाउन भनेर उहाँले ५-६ कक्षा पढ्दै अर्थात् १२-१३ वर्षको उमेरमा झम्सिखेलमा किराना पसल चलाउनुहुन्थ्यो ।त्यस बेला कोकाकोला, बियर र रक्सी पाउने पसल भनेको झम्सीखेलमा उहाँकै पसल मात्र थियो । पसल पुरानो घरमा थियो । 

उहाँ पसलमा नै सुत्नुहुन्थ्यो । मुसा खुब दौडिन्थ्यो । अनि, सानो केटो देखेका कारण कुपण्डोलका गुन्डाले लुट्न आउँथे । त्यही रिसले उहाँले कराँते सिक्नुभएको रहेछ । पछि बस्नै नभ्याएपछि भने उहाँले पसल बेच्नुभयो । कतिमा भन्नेचाहिँ उहाँलाई थाहा भएन किनकि मोलतोल बुबाले गर्नुभएको थियो ।

कुखुरा पनि पाल्नुभएको थियो उहाँले । पैसाको केही भरथेग होस् भनेर यस्ता काम सानैदेखि गरेका श्रेष्ठको निम्न वर्गीय परिवारको परिभाषालाई यसले अझ पुष्टि गर्छ । 

०००

उहाँको बाल्यकाल पनि अरू बालबालिकाको जस्तै गरेर बित्यो । बाग्मती तथा विष्णुमतीमा पौडी खेल्ने, माछा मार्ने, भोगटे चोर्ने, गुच्चा खेल्ने, पाङ्ग्रा गुडाउने आदि गरेर बित्यो । 

दारासिंहको कुस्ती रङ्गशालामा हुने भएपछि उहाँहरू पनि कुस्ती खेल्न थाल्नुभयो । फुटबल, ब्याडमिन्टन तथा दौड पनि उहाँका प्रिय खेल रहे । तर, रुचि नाटकमा भएका कारण उहाँले स्कुलदेखि नै नाटक खेल्ने काम गर्नुभयो । 

किराना पसलमा बस्ने, साइकलमा सामान ल्याउने, ट्युसन पढाउने, कोचिङ कक्षा खोल्ने, नाटक खेल्ने, निर्देशन गर्ने, पत्रिकामा स्तम्भ लेख्ने, अडिट फर्ममा काम गर्ने आदि इत्यादि गर्दागर्दै 'रोदन' भन्नुहुन्छ, 'बिग्रने अवसर नै पाइएन ।'

०००

उहाँका बुबा नेसनल ट्रेडिङमा जागिरे हुनुहुन्थ्यो । सरुवा भएर कहिले भद्रपुर, कहिले जनकपुर कहिले वीरगंज जानुहुन्थ्यो । जनकपुरको गंगासागरमा सिलोटमा चक लिएर लेखेको सम्झनुहुन्छ प्रारम्भमा । उहाँको प्रारम्भिक शिक्षा भने त्रिपद्म स्कुलमा भयो । 

पुलचोकको नेवारी जनघनत्वमा रहेको स्कुल हुँदा कक्षामा झन्डै ८०-९० जना हुन्थे । बस्ने डेस्क, बेन्चहरू राम्रा थिए ।  कक्षा एकदेखि ४ कक्षासम्म त्रिपद्म स्कुल पुलचोकमा पढेपछि ५ कक्षामा पढ्न भने त्रिपद्मकै मंगलबजारमा रहेको स्कुलमा जानुपर्ने भयो । 

उहाँ नेवार भए पनि उहाँको बस-उठ गैरनेवारसँग मात्र थियो । उहाँ २-४ दिन भने स्कुल पनि जानुभयो । तर, त्यहाँ कोही पनि नचिनेको तथा संगत पनि मन नपरेपछि भने टीका विद्याश्रम सानेपामा पढ्न थाल्नुभयो- कक्षा ५ देखि ।

उहाँ कक्षामा पाँचौँ हुनुहुन्थ्यो । उहाँ अतिरिक्त क्रियाकलापमा भने सधैँ अगाडि । 'त्यसैले होला फेल पनि भइएन अनि त्यस्तो राम्रो पनि भएन पढाइ', भन्नुहुन्छ श्री ओम । 

नाटक खेल्ने, वादविवाद, हाजिरी जबाफ, दौडलगायत सबै खेलमा भाग लिनुहुन्थ्यो । कक्षामा छात्राहरूको संख्या कम थियो । त्यसैले स्वभावैले केटा साथीहरू बढी भए । 

उहाँले २०३५ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचमा २२ जना थिए । २ जना मात्र पास भए । प्रमोद विष्ट ‘फर्स्ट ब्वाइ’ र कृष्ण गिरी जस्तो लाग्छ उहाँलाई ‘लास्ट ब्वाइ ।’ उहाँलगायत बाँकी २० जना भने फेल । 

०००

उहाँले २०३६ सालमा फेल भएको विषय मात्र दिएर एसएलसी दिनुभयो । २०३६ सालको विद्यार्थी आन्दोलनले रिजल्ट पनि ढिलो भयो । २०३७ सालको अलिक पछि मात्र उहाँ पाटन क्याम्पसमा भर्ना हुनुभयो पढ्नका लागि । 

आईए तथा बीए पाटनबाटै पूरा गर्नुभयो । एमए पढ्न भने त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जानुभयो । पहिलो वर्ष सकेपछि दोस्रो वर्षदेखि जाने अवसर मिलेन । यो सबको कारण भने काम थियो । 

०००

एसएलसी गर्नु अगाडि नै उहाँ ट्युसन पढाउनुहुन्थ्यो । ३ जना मिलेर कोचिङ कक्षा पनि खोल्नुभएको थियो । २०३७ सालदेखि त उहाँले स्व. सुरेन्द्रबहादुर केसीको अडिट फर्मसँग सम्बन्धित भएर विभिन्न जिल्लामा गएर काम गर्न थाल्नुभयो । 

अडिट फर्ममा काम गर्ने क्रममा उहाँले त्यस बेलाका काठमाडौंका प्रायः स्कुलको अडिट गर्नुभएको छ । त्यस्तै, पाल्पाका डाँडाकाँडादेखि सुगमसम्मका स्कुलमा पनि अडिट गर्नुभएको छ । 

उहाँ स्कुटर चढेर कलेज जानुहुन्थ्यो । कलेजमा नाटक अभिनय, निर्देशन गर्नुहुन्थ्यो । अनि, प्रत्येक शनिबार १०० रुपैयाँमा किनेको साइकलमा यताउता सबैतिर झोला झुन्ड्याएर सामान ल्याउनुहुन्थ्यो । 

बाटोमा कलेजका साथीहरू पनि भेट्नुहुन्थ्यो । स्कुटर चढेर कलेज जाने मान्छे अर्कै शान थियो । त्यस कारण सुरुसुरुमा त लाज नलागेको पनि होइन, तर पछि कामप्रतिको सम्मानले लाज मान्न छाड्नुभयो श्रेष्ठले । 

आईटीसीजे नामक दक्षिण कोरियाको एउटा संस्थाले दिएको तालिममा राम्रै गरेपछि उहाँले तालिमका लागि देश छान्ने अवसर पनि पाउनुभएको थियो । त्यस बेला उहाँले चेक रोज्नुभयो र करिब एक महिना चेक बसेर प्रेमलाई सुदृढ बनाउने अवसर पनि पाउनुभयो ।  तर, प्रेम गरेको ९ वर्षपछि मात्र २०५३ सालमा उहाँको विवाह भयो ।

त्यसबेला चामल लिन भृकुटी मण्डप जानुपर्थ्यो । उहाँ साइकल लिएर ५० किलोको बोरा लिएर आउनुहुन्थ्यो । कुपण्डोलको होटेल हिमालयको बाटो अहिले जस्तो पिच थिएन । उकालो पनि थियो । 

२-३ पटक लगाएर उहाँ उकालो पार गर्नुहुन्थ्यो । अहिले पनि कोही मान्छे साइकल ठेलेर हिँडेको देख्दा उहाँ त्यो समयमा पुग्नुहुन्छ ।

०००

उहाँको स्वभाव एउटा कुरामा मात्र संलग्न रहने परेन । जागिर खाँदा पनि सँगै अरू कुनै क्षेत्र वा काममा व्यस्त रहनुहुन्थ्यो । 

जागिर गर्दा उहाँलाई साहित्यको रङ चढिसकेको थियो । जागिरका अलावा पढ्ने, लेख्ने हुन्थ्यो अर्को काम भनेको । किताब किन्ने पैसा नहुने कारणले ३ वटा पुस्तकालयको सदस्य हुनुभएको थियो । पढ्न रुचि भएका कारण खुबै पढ्नुहुन्थ्यो । उहाँको त्यसै चुप लागेर नबस्ने स्वभाव अद्यापि कायम छ । 

ट्युसन पढाउने, कोचिङ सेन्टर खोल्ने काम गरे पनि उहाँको जागिरको सुरुवात भने अडिट फर्ममा लेखापरीक्षकको सहायकबाट भयो । पाल्पाका डाँडाकाँडामा उहाँले करिब ६ महिना बसेर स्कुलमा लेखापरीक्षण गर्नुभयो । 

तलब राम्रो थियो । होटलमा बसेर खाएर उहाँले एक हजार ५०० रुपैयाँ पाउनुहुन्थ्यो । त्यस बेला अधिकृतको एक हजार २०० रुपैयाँ थियो तलब । उहाँका लागि त्यो उमेरमा त्यति पैसा भनेको एकदमै धेरै थियो । 

नेपाल बैंकमा जागिर हुनुअघि उहाँले खरिदारमा लोकसेवामा जाँच दिनुभयो, पास हुनुभएन । टकसारमा लिखितमा नाम निस्कियो, अन्तर्वार्ता फेल । साझा भण्डारमा पनि त्यस्तै, कृषि विकास बैंकको हालत उस्तै । यसरी हार नमान्दै गर्दा नेपाल बैंकमा भने नाम निस्कियो २०४० सालमा । 

पहिलो तलबले के गरियो भन्ने खासै हेक्का छैन श्रेष्ठलाई । पहिलेदेखि खाली नबसी कमाइरहेका कारण पनि उहाँलाई त्यस्तो विशेष लागेन तलब । खर्च त सायद घरमा पनि गरियो होला भन्ने लाग्छ श्रीओमलाई । 

उहाँले नेपाल बैंकमा करिब ५०० रुपैयाँ तलब बुझेको जस्तो लाग्छ । त्यस बेला उहाँलगायत अन्य २ जना साथी नाङ्लो रेस्टुरेन्टमा बसेर खाएर टिप्स दिएको समेत सम्झना छ उहाँलाई । उहाँलाई पैसाको दुरूपयोग गरेको थाहा छैन । 

उहाँ केही महिना विदेश जाँदा पनि गएको दोस्रो महिनादेखि नै पैसा पठाउन थाल्नुहुन्थ्यो ।  

०००

उहाँ त्यस बेला कसैको प्रेममा हुनुहुन्थ्यो । प्रेमिका छात्रवृत्ति पाएर पढ्न चेकस्लोभाकियामा ४ वर्षका लागि पढ्न जानुभयो । चेकस्लोभाकियामा द्वन्द्व भएर चेक र स्लोभाक छुट्टियो । द्वन्द्वका कारण पढाइ सकिन झन्डै ७-८ वर्ष लाग्यो । 

आईटीसीजे नामक दक्षिण कोरियाको एउटा संस्थाले दिएको तालिममा राम्रै गरेपछि उहाँले तालिमका लागि देश छान्ने अवसर पनि पाउनुभएको थियो । त्यस बेला उहाँले चेक रोज्नुभयो र करिब एक महिना चेक बसेर प्रेमलाई सुदृढ बनाउने अवसर पनि पाउनुभयो । 

तर, प्रेम गरेको ९ वर्षपछि मात्र २०५३ सालमा उहाँको विवाह भयो । सायद प्रतीक्षाको फल मीठो हुन्छ भनेको यही नै हो । 

हाल उहाँका एक छोरा र छोरी हुनुहुन्छ । उहाँहरू पढ्दै तथा काममा व्यस्त हुनुहुन्छ । 

०००

टीका स्कुलमा आइसकेपछि उहाँले जिल्लास्तरीय वीरेन्द्र सिल्डको तयारीका लागि नाटक खेल्न थाल्नुभयो । नाटक निकै लोकप्रिय भयो । उहाँहरूले त्यो नाटक स्कुलबाट बाहिर पनि देखाउन जानुभएको छ । नाटक भने सेनाका दीपकबहादुर विष्टले सिकाउनुभएको थियो । 

नाटकको नाम भने उहाँलाई 'खीर चोर' जस्तो लाग्छ । प्रहसन थियो त्यो । उहाँको जोडी हुनुहुन्थ्यो हालका हास्य कलाकार पूर्ण थापा । थापा उहाँको मीतज्यू पनि हुनुहुन्थ्यो । मीतज्यूसँग उहाँको जोडी पछिसम्म जम्यो । 

त्यो प्रहसन चर्चित भएपछि एउटा प्रतियोगिताका लागि सूर्यनाथ शर्माले विजय मल्लको 'कोही किन बरबाद होस्' नाटकमा उहाँलाई खेलाउनुभयो । 

स्कुल सकिएपछि स्कुलमा नै उहाँहरू नाटकको अभ्याससमेत गर्नुहुन्थ्यो । एक पटक स्कुलले राष्ट्रिय नाच घरमा 'मुना-मदन' नाटक देखाउन लगेको थियो । फर्कँदा गाडी नभएर उहाँ हिँड्दै आउनुभएको थियो । त्यो नाटकले पनि उहाँलाई निकै प्रभावित गरेको थियो । 

सायद नाटकको यस्तै प्रभावले हो- उहाँहरू ३ जनाको कोचिङ चलाउने समूह पछि नाटकमा पद्म सांस्कृतिक समूह बन्यो । समूहमा पूर्ण थापा (उहाँका मीतज्यू), मनोज दुवाडी र उहाँ हुनुहुन्थ्यो । 

त्यस समूहमा सहभागी बनेर उहाँले ३० चैत २०३६ मा राष्ट्रिय नाचघरमा सार्वजनिक प्रस्तुति पनि गर्नुभएको थियो ।

नाचघरका महाप्रबन्धक स्वर सम्राट् नारायण गोपाल हुनुहुन्थ्यो । उहाँले आफ्नो नाटकको रत्नपार्कमा आफैँ ब्यानर टाँगेर अनि टेबुल राखेर माइकिङ गरेर टिकटसमेत बेच्नुभएको थियो । 

नाटकमा काम गर्न थालेपछि उहाँहरूले पद्म सांस्कृतिक समूहलाई युवा नाट्य परिवार (युनाप) बनाउनुभयो । युनापबाट नाटक देखाउँदै विभिन्न जिल्ला, भारतलगायत विदेशसमेत जानुभयो उहाँहरू । । नाटक गर्न छाडेपछि युनाप ललितपुर कला प्रतिष्ठानका रूपमा परिणत भयो २०५३ सालमा ।

उहाँ निर्देशन तथा अभिनय दुवै गर्नुहुन्थ्यो । २०७२ सालमा शिल्पी नाटक थिएटरले आयोजना गरेको 'थ्री सिस्टर' नाटकमा खेलेपछि उहाँले नाटक गर्नुभएको छैन । 

०००

२०४० सालदेखि नयाँ मार्ग भन्ने पत्रिकामा नियमित स्तम्भ नै लेख्न थाले पनि साहित्यको सुरुवात भने कहाँबाट भयो, उहाँलाई थाहा छैन । 

'एउटा उमेरमा मिले पनि नमिले पनि कविता लेख्ने हुँदोरहेछ', श्रेष्ठ भन्नुहुन्छ । त्यस्तो समय सबैलाई आउने श्रेष्ठको बुझाइ छ । 'त्यो उमेरमा चोरेर पनि लेखिने रहेछ', भन्नुहुन्छ रोदन । 

जाने पनि, नजाने पनि उहाँले पम्प्लेटका पछाडि ४ लाइन लेखेर राखेका कविता अझै सुरक्षित छन् उहाँसँग । तर, धेरै किताब पढ्ने कारणले आफूलाई लेख्न मन लागेको हुन सक्ने उहाँको तर्क छ । 

तर, त्यसको निरन्तरता, साहित्यप्रतिको प्रेम अनि हुटहुटीका कारण नेपाल बैंकको जागिर छाडेर चोखो तलब मात्र खान गोरखापत्रमा किन आउँथे भनेर आफैँलाई प्रश्न गर्नुहुन्छ उहाँ । 

२०४६/०४७ सालदेखि उहाँ 'मधुपर्क'मा नाटकको समीक्षाका बारेमा रङ्गमञ्चअन्तर्गत मनोविनोद स्तम्भ नै लेख्नुहुन्थ्यो । एउटा लेखको २५० रुपैयाँ पाएको पनि सम्झनुहुन्छ रोदन । अनि, २०४८ सालमा भने खुला प्रतियोगिताबाट उहाँ गोरखापत्रको जागिरे नै हुनुभयो । 

लामो समय उहाँ मधुपर्कमा रहनुभयो । सम्पादक पनि हुनुभयो । २०७० सालमा गोरखापत्रमा प्रबन्धसम्पादक हुनुभयो । एक वर्ष प्रबन्धसम्पादक भएपछि मधुपर्कको ५०औँ वर्ष मनाउने क्रममा उहाँ फेरि मधुपर्कमा नै फर्कनुभयो । 

मधुपर्कको सायद अहिलेसम्मको सबैभन्दा मोटो अंक त्यही हुनुपर्छ भन्नुहुन्छ उहाँ । सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले विमोचन गर्नुभएको थियो त्यो अंक । 

२०७५ सालको सुरुतिर उहाँ गोरखापत्रको प्रधानसम्पादक हुनुभयो । झन्डै ३० महिना प्रधानसम्पादक भएर उहाँले अवकाश प्राप्त गर्नुभयो । 

०००

उहाँको लेखनको सुरुवात भने कविताबाट नै भयो । २०४५ सालमा उहाँको पहिलो कवितासंग्रह निस्कियो । २०४७ सालमा भने संयुक्त कवितासंग्रह निस्कियो । 

उहाँ, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशका ४-४ वटा निबन्धसहित एउटा निबन्धसंग्रह निस्कियो । त्यसपछि भने उहाँका ५ वटा निबन्धसंग्रह प्रकाशन भइसकेका छन् । 

एउटा अन्तर्वार्ताको सङ्ग्रह पनि छ- 'प्रसंगवश ।' साझा प्रकाशनबाट २ वटा नियात्रासंग्रह प्रकाशित छन् भने २ वटा लघुकथाका पुस्तक प्रकाशित छन् । यसरी उहाँका १३ वटा पुस्तक प्रकाशित छन् । 

उहाँ उद्घोषकको भूमिकामा पनि राम्रै जम्नुभएको थियो । हप्तामा ५ वटा साहित्यिक कार्यक्रममा उद्घोषक भएको सम्झना छ उहाँलाई । एक समय यस्तो थियो, अधिकांश साहित्यिक कार्यक्रमका उद्घोषक उहाँ नै हुनुहुन्थ्यो । त्यस्तै, उहाँका सिर्जना ७ वटा विश्वविद्यालयका पाठ्य सामग्रीका रूपमा पनि समावेश भएका छन् । 

०००

उहाँका बैठकमा सजिएका पुरस्कार र सम्मानले सबै उल्लेख गर्न गाह्रो छ भन्ने देखाउँछ । निबन्ध विधामा सबैभन्दा ठूलो मानिने 'उत्तम शान्ति पुरस्कार', प्रेस काउन्सिलको साहित्यिक पत्रकारिता पुरस्कार, 'युवा वर्ष मोती पुरस्कार', 'प्रतिभा पुरस्कार' आदि थुप्रै पुरस्कार र सम्मान छन् उहाँका । 

एउटा रमाइलो प्रसंग भने उहाँले जति पुरस्कार पाउनुभएको छ, त्यसभन्दा धेरै पुरस्कार दिनुभएको छ अर्थात् उहाँ निर्णायक भएर धेरैलाई पुरस्कार दिनु पनि भएको छ । 

यकिन नभए पनि उहाँको उमेरमा निर्णायकका रूपमा उहाँले नै धेरै पुरस्कार वितरण गरेको जस्तो लाग्छ उहाँलाई । 

साहित्यमा पनि निकै भ्रष्टाचार, विकृत रहेको दाबी छ उहाँको । 'पुरस्कारका नाममा धेरै लेनदेन छ, विवाद छ, टिप्पणी छ, साटफेर छ', भन्नुहुन्छ उहाँ । 

तर, आफूले पाएको पुरस्कारका लागि कसैलाई एक कल फोन, एक कप चिया अनि कुनै चाकडी नगरेको दाबी छ उहाँको- त्यो पनि संसारको जुनसुकै कुनाबाट २ हात उठाएर । 

उहाँ निर्णायक भएका कतिपय पुरस्कारका लागि 'वरिष्ठ' भनिनेहरूले समेत उहाँलाई केके चाकडी मात्र गर्ने कोसिस गरेका छन्, त्यो आफूलाई मात्र थाहा भएको उहाँको टिप्पणी छ । 

कतिपय पुरस्कारमा विवाद हुँदा उहाँले छाडेर पनि हिँड्नुभएको छ । तर, कतै १९-२० भए पनि आफूले हुँदै नहुनेलाई कहिले पनि पुरस्कृत नगरेको पनि दाबी छ उहाँको । 

सायद त्यही निष्पक्षता, निडरताको मूल्यांकन पनि होला आफ्नो निर्णायकको भूमिका भन्नुहुन्छ श्री ओम । 

०००

उहाँ पहिले धेरै सामाजिक तथा साहित्यिक संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो । तर, अहिले भने उहाँले त्यसलाई धेरै कम गर्दै लग्नु भएको छ । 

हाल भने उहाँ लघुकथा समाज नेपाल, नेपाल स्रष्टा समाज, सारांश नेपाल, ललितपुर कला संस्कृति प्रतिष्ठान, शमि साहित्य प्रतिष्ठान, नियात्रा समाज नेपाल, नेपाल साहित्यिक पत्रकार संघलगायतमा आबद्ध हुनुहुन्छ ।