सांसदवाददेखि संसदवादसम्म: माओवादीको महाधिवेशनमा लटरपटर नीति, पुरानै नेतृत्व

लोकसंवाद टिप्पणी

सांसदवाददेखि संसदवादसम्म: माओवादीको महाधिवेशनमा लटरपटर नीति, पुरानै नेतृत्व

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७८

राष्ट्रिय सम्मेलनका रुपमा प्रचार गरेर अन्तिम समयमा आएर आठौँ महाधिवेशनमा परिणत गरिएको माओवादीको ‘कुम्भ मेला’ सकिने चरणमा पुगेको छ । सुरुमा ११–१३ पुस भनिए पनि महाधिवेशनमा परिणत गरिएपछि ११–१५ पुसमा सक्ने भनिएको थियो । तर निर्धारित भन्दा थप ३ दिन बितिसकेको छ ।

मुख्य गरी पार्टीलाई पुनर्जीवन दिनका लागि भन्दै आयोजना गरिएको माओवादीको यो महाधिवेशनले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र देव गुरुङले पेस गरेको विधान संशोधनलाई पारित गरेको छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा आएका सुझावहरूलाई समेत समेटेर अघि बढ्ने बताएका छन् । उनले एउटा प्रस्तावलाई समर्थन गर्ने र अरूलाई समेट्ने बताएका छन् ।

प्रचण्डको दस्ताबेज दक्षिणपन्थी दिशाबाट आएको भन्दै युवा नेता लेखनाथ न्यौपानेले फरक मत राखेका थिए । पार्टीमा लामो समयदेखि एकछत्र नेतृत्व गरिरहेका प्रचण्डले सम्भवतः न्यौपानेको फरक मतलाई दस्ताबेजमा समेट्ने सम्भावना कम छ । किनकि प्रचण्डले आफ्नो प्रस्तावमाथिको यो आलोचनालाई त्यति मन पराएका छैनन् । उनले आत्मालोचना गर्दै पार्टी बिग्रनुमा आफू जिम्मेवार भएको भन्दै सुधारको थालनी गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रचण्डको दस्ताबेजमा सुझाव भन्दै पेस गरिएका राम कार्कीको दस्ताबेजमा उनको आलोचना गरिएको छैन । हरिबोल गजुरेलले त प्रचण्ड पथ छाडेपछि विचलन आएको भन्दै प्रचण्डको लाइनबाटै सुझाव राखेका छन् । महासचिवका दाबेदार रहेका जनार्दन शर्माले त यसअघि देखि नै प्रचण्ड पथ छाड्नु कमजोरी भएको भन्दै बहस नै चलाइरहेका छन् । प्रचण्ड यस्ता नेता हुन्, जसलाई कस्तो भिडभाडमा कस्तो बोल्ने भन्ने ठ्याक्कै आउँछ ।

उनी यति बेला प्रचण्ड पथलाई नै ब्युँताउने गरी अघि बढिरहेका छन् । यस्तो बेला प्रचण्डको दस्ताबेजमाथि आलोचनात्मक टिप्पणीसहित फरक मत ल्याएका न्यौपानेको दस्ताबेजका विषयले मूल दस्तावरमा स्थान पाउने सम्भावना न्यून छ  ।

माओवादीले प्रचण्डको शब्द जालमा झुलेको र केही नेता कार्यकर्ताको स्वार्थले नेतृत्वको चाकडीका लागि उठाएका विषयवस्तु र केही कार्यकर्ताको अकर्मण्यताको समेटिएको विचारमा टालटुले र पुरानै लटरपटर नीति पारित गरेको छ ।

प्रचण्डले चुनावदेखि चुनावसम्म सीमित रहने र चुनावमार्फत नै समाजवादको आधार तयार गर्ने भन्दै दक्षिणपन्थी र गैर कम्युनिस्ट चरित्रको समाजवादी व्यवस्थाको वकालत गर्न खोजेका छन् । प्रचण्डले पेस गरेको दस्ताबेजका कुराहरू शब्दजाल पूर्ण र सुन्दा मीठो लाग्ने, कमीकमजोरी समेत स्वीकार गरेर अब साँच्चै नयाँ दिशामा जान्छ कि क्या हो भन्ने स्तरबाट प्रस्तुत गरेका छन् ।

तर यथार्थमा के हो भने उनको गन्तव्य भनेकै सांसदवाददेखि सांसदवादसम्म हो । प्रचण्डको अहिलेको राजनीतिक दस्ताबेजमा समेटिएका विषयवस्तु, समाजवादको आधार तय गर्नका लागि उनले अवलम्बन गर्ने भन्दै देखाएको बाटोलाई गम्भीरतापूर्वक नियाल्ने हो भने यो अन्ततः समाजवाद उन्मुख भन्दै कार्यकर्तालाई भ्रमित पार्ने दस्ताबेजका रुपमा लिइएकाे  छ ।  प्रचण्डले प्रतिवेदनमाथि बहसको थालनी भएको भन्दै एक वर्षपछि विशेष महाधिवेशनले कार्यदिशालाई पूर्णता दिने बताएका छन् ।

माओवादी यो महाधिवेशनमा पनि नीति निर्माणमा भने चुकेको छ । जरी नयाँ क्रान्तिकारी पार्टी निर्माणका लागि विचारको बहस र नयाँ स्थानमा पुग्ने गरी बहलाई थालनी गरिनुपर्ने, त्यो हुन सकेन ।

बरु माओवादीले प्रचण्डको शब्द जालमा झुलेको र केही नेता कार्यकर्ताको स्वार्थले नेतृत्वको चाकडीका लागि उठाएका विषयवस्तु र केही कार्यकर्ताको अकर्मण्यताको समेटिएको विचारमा टालटुले र पुरानै लटरपटर नीति पारित गरेको छ । यहाँबाट माओवादी अघि बढ्ने सम्भावना कम देखिएको छ । किनकि कम्युनिस्ट पार्टीमा जब विचार निर्माणको पाटो कमजोर बन्छ: तब त्यो पार्टीको अधोगतिको यात्रा सुरु हुन्छ ।

माओवादीमा पनि वैचारिक रुपमा खरो बहस गर्न सक्ने भन्दा पनि नेतृत्वको सकारात्मक आलोचना समेत गर्न नसक्ने, दास मनोवृत्ति भएका र नेतृत्वको गुलामी तथा चाकडी चाप्लुसी गर्नेको बोलवाला देखिएको छ । महाधिवेशनमा पार्टीलाई २१औँ शताब्दीको चेतनशील वर्गलाई नेतृत्व गर्ने गरी नयाँ राजनीतिक विचार र कार्यदिशा निर्माणलाई प्राथमिकता दिनुपर्नेमा प्रचण्डको देवत्व करण, प्रचण्ड पथदेखि प्रचण्ड युग र  प्रचण्ड विचारधारा भन्नुपर्ने सम्मका सुझावहरू आए । यी दस्ताबेजमा समेटे पनि नसमेटे पनि पार्टीलाई गति दिने विषय होइनन् । 

यद्यपि यो महाधिवेशनमा भएको सकारात्मक कुरा भनेकै विचारको बहसका लागि ढोका खुला गरिनुलाई लिइएको छ ।  प्रचण्ड पथदेखि प्रचण्ड युग र प्रचण्ड विचारधारा भन्नुपर्छ भन्नेसम्मले एक वर्ष वैचारिक बहस पार्टीभित्र चलाउन सक्नेछन् । जसका कारण फरक मत राख्ने नेताहरुले पनि पार्टीभित्रै छलफल र बहसलाई लैजान सक्नेछन् । 

कार्यदिशाबारे बहसको ढोका खोल्ने निर्णयले भने सकारात्मक सन्देश प्रवाह गरेको रुपमा लिन थालीएक छ । यसबाट माओवादी केन्द्रसँग निकट भएका अन्य पार्टीहरूलाई समेत आकर्षित गर्न सक्नेछन् । माओवादीमा एमाले, काँग्रेस र राप्रपाको महाधिवेशनमा भन्दा खुला र व्यापक रुपमा वैचारिक बहस चलेको छ । यसबाट प्रचण्डको दस्ताबेजमा रहेका कमजोरीहरू सच्याउने अवसर समेत मिल्ने महाधिवेशन विशेषताका रुपमा लिइएको छ ।

पार्टीभित्र चल्ने बहसले माओवादीले कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिबारे खुला छलफल गर्ने र आन्दोलनभित्र वैचारिक बहस गर्नेहरूका लागि नयाँ ‘स्पेस’ भने  खडा गरिदिएको छ । 

पुरानै नेतृत्व

माओवादीमा नेतृत्व परिवर्तनका प्रश्न पटक पटक उठ्ने गर्छ । तर यस पटक पनि पुरानै नेतृत्व दोहोरिने निश्चित जस्तै छ । प्रचण्ड नै पार्टीको अध्यक्ष बन्ने र करिब करिब माओवादी आन्दोलनभित्र माथिल्लो तहमा जिम्मेवारी सम्हालेका नेताहरू नै यस पटक पनि समेटिने छन् । 

यद्यपि माओवादीमा विगतमा युवाहरू केन्द्रीय कमिटीमा आएका धेरै उदाहरण छन् । तर शान्ति प्रक्रियापछि माओवादीमा नेतृत्व विकासको प्रश्न निकै जटिल बनेको देखिन्छ । विद्यार्थी आन्दोलनमा निकै चर्चा कमाएका युवाहरूले अझै पनि केन्द्रीय जिम्मेवारी पाउन सकिरहेका छैनन् । 

प्रचण्ड आफैँ ३५ वर्षमा पार्टीको महामन्त्री बनेका थिए । उनले नेत्रविक्रम चन्द, नन्दबहादुर पुन, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, खड्गबहादुर विश्वकर्मा जस्ता नेतालाई युवा अवस्थामै केन्द्रीय सदस्य बनाएका थिए । तर अब प्रचण्डको पार्टीमा बुढा नेताहरूको बाहुल्यता देखिन्छ । त्यसैले यस पटक २० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा ल्याउने तयारी भइरहेको छ । तर अझै पनि माओवादीमा युवाको लेयरबाट नेतृत्वमा ल्याउने सम्भावना कम छ ।

उनलाई यस पटक महाधिवेशनमा निर्वाचनमा गएर फरक अवस्था सिर्जना नभएमा बुढा नेताको व्यवस्थापनमै शक्ति खर्चिनुपर्ने बाध्यता देखिन्छ । माओवादीले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । त्यसका लागि सुरुमा महाधिवेशनको हलमा सूची पेस गर्ने तयारी छ । तर त्यसमा चित्त नबुझे केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । विगतमा एमाले महाधिवेशनमा यसरी नै सुरुमा सूची ल्याएर पछि निर्वाचन गरिँदा विवादित बनेको छ । अब माओवादीले त्यसबाट पाठ सिक्दै कसरी नयाँ नेतृत्व चयन गर्छ भन्ने हेर्न बाँकी छ ।