हिसान सुनसरी : धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशालाकाे आयोजना

हिसान सुनसरी : धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशालाकाे आयोजना

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष १८, २०७८

सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको आयोजनामा धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा सुनसरी जिल्लाका पन्ध्रओटा विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी, २० जना शिक्षक र अन्य स्थानीय स्रष्टाहरूको सहभागिता रहेको थियो । उक्त दुई दिन डा. नेपालले सिर्जनात्मक लेखनअन्तर्गत कविताका विविध रूप, कथा लेखन र निबन्ध लेखनका बारेमा प्रयोगात्मक जानकारी प्रस्तुत गर्नुभएको थियो । 

उद्घाटन सत्रमा प्राज्ञ नेपालले नयाँ पुस्ताले कवितालाई कविताका रूपमा नबुझिदिनाले गर्दा कक्षाकोठामा शिक्षकले कविता वाचन गर्दा कसैले ‘स्वाहा’ र कसैले ‘या..या..’ भनेर उडाउने गरेको हुनाले नयाँ पुस्तालाई कविताको सिर्जना कला र शक्तिका बारेमा जानकारी दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सिर्जनात्मक प्रतिभा प्रशिक्षणले जन्मिने त होइन तर प्रतिभाको करेन्ट, क्षमताको बल्ब हुँदाहुँदै पनि स्विच थिचिदिने व्यक्ति नहुँदा बल्न नसकेकाहरूलाई सिर्जनाको बाहिरी स्वरूपका बारेमा जानकारी दिँदा मात्र पनि सशक्त स्रष्टा बन्ने गरेको अनुभव प्रस्तुत गर्नुभयो । साथै रातभर कसैले नचलाएर सुकेको ट्युबेलमा बिहान चलाउँदा पानी नआए पनि एक जग पानी हाल्नासाथ दिनभर पानी आइरहने कुरा बुझेको हिसानले युवा विद्यार्थीहरूलाई प्रशिक्षणको एक जग पानी हालेर सिर्जना निकाल्ने प्रयास गरेकामा धन्यवाद दिनुभयो ।

कार्यशालाका क्रममा डा. नेपालले पहिलो दिन सिर्जनाका विविध विधा, कविताका विविध रूप र कविता सिर्जना हुने विविध लयका बारेमा जानकारी प्रस्तुत गर्नुभयो । साथै उहाँले नेपाली कवितामा प्रयोग हुने वार्णिक, मात्रिक, लोक र मुक्त छन्द अनि गजलको बहरका बारेमा सैद्धान्तिक जानकारी प्रस्तुत गरी प्रयोगात्मक कार्यशाला नै सञ्चालन गर्नुभएको थियो । प्रशिक्षण सुरु भएको एक घण्टापछि पाँच मिनेट समय दिँदा १७ जना विद्यार्थीले लोकछन्दमा त्यहीँ कविता लेखेर सुनाएका थिए ।

प्रयोगशालामा लोकछन्दअन्तर्गत बालोरी, सवाई र झ्याउरे, वार्णिक छन्दअन्तर्गत भुजङ्गप्रयात, स्रग्विणी, मालिनी, शिखरिणी, मन्दाक्रान्ता र शार्दूलविक्रीडित छन्द तथा मुक्त छन्द (गद्य कविता) का विविध शैलीका बारेमा प्रयोगात्मक जानकारी दिइएको थियो । कार्यशालाको दोस्रो दिन प्राज्ञ नेपालले कथा लेखन र निबन्ध लेखनका बारेमा पनि प्रयोगात्मक जानकारी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सुनसरी क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरू प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. भोलानाथ पोखरेल, लेखनाथ घिमिरे, डा. रमेश घिमिरे, सागर सुवेदी, काशीनाथ पौडेल, विष्णु वियोगीलगायतका दर्जनौँ स्रष्टाहरूको सहभागिता रहेको थियो । कार्यशालाको समापन सत्रमा गोपीकृष्ण खतिवडा, विष्णु वियोगी, ईश्वर लम्साल, युवराज दाहाल, कालिदास कोइराला र लक्ष्मण कटवाल गरी छ जना शिक्षकहरूले र समीर बिष्ट, झलनाथ गिरी, सुरज सदा, ज्योति बिक, विनिता पोखरेल, रोजिना चौलागाईं अर्जुन पौडेल, प्रमा थापा, उषा कार्की, स्मृति भट्टराई, उर्मिला खतिवडा, राधा कार्की, सुस्मिता अधिकारी, दिवस श्रीपाली, साहिल श्रेष्ठ, आदित्य विमल यादव, अस्मित कोइराला, अभय कोइराला र जीवन निरौला गरी २० जना विद्यार्थीहरूले सुन्दर कविता, गीत, गजल र मुक्तकहरू प्रस्तुत गरेका थिए । 

हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेको अध्यक्षता र सचिव सागर भट्टराईको सञ्चालनमा धरानको विष्णु मेमोरियल विद्यालयको भव्य सभाकक्षामा सम्पन्न उक्त कार्यक्रमको संयोजन गोपीकृष्ण खतिवडाले गर्नुभएको थियो भने समग्र कार्यक्रमको व्यवस्थापनमा सन्तोष कोइराला, रोमनाथ ढुङ्गेल र हेमन्त भण्डारीको विशिष्ट भूमिका रहेको थियो । शैक्षिक उन्नयन र खेलकुदमा बढी ध्यान दिने हिसानले यस पटक भने विद्यार्थीको सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरेको यो कार्यशाला हिसानले आजसम्म गरेका कार्यक्रमहरूमध्येमा सर्वोत्कृष्ट र ऐतिहासिक भएको जानकारी कार्यक्रम संयोजक सागर भट्टराईले दिनुभएको छ ।