सम्पादक केपी ढुंगानालाई ५० हजार राशिको अनलाइन जर्नालिजम अवार्ड

सम्पादक केपी ढुंगानालाई ५० हजार राशिको अनलाइन जर्नालिजम अवार्ड

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७८

पत्रकार केपी ढुंगानालाई 'अनलाइन जर्नालिज्म अवार्ड' प्रदान गरिएको छ । अनलाइन पत्रकार संघको ११औँ साधारणसभामा ढुंगानालाई अवार्ड प्रदान गरिएको हो । 

संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई ५० हजार रुपैयाँ राशिको उक्त अवार्ड प्रदान गरेका थिए । 

इञ्जिनियर विनोद ढकालले ५ लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलो पटक प्रदान गरिएको हो ।

अक्षयकोषबाट आएको रकमबाट संघले अब हरेक २ वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्यालले बताए । 

पत्रकार कुवेर चालिसेको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका अध्यक्ष तथा अवार्ड छनोट समितिका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको हो । 

कार्यक्रममा पत्रकार कुवेर चालिसेले पहिलो पटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्‍याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरेको बताए । उनले आगामी वर्षदेखि संघका सदस्यहरूलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने पनि जानकारी दिए ।  

ढुंगाना डेढ दशकदेखि पत्रकारितामा संलग्न छन् । कान्तिपुर दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, राजधानी दैनिक, पहिलोपोस्ट, शुक्रबार साप्ताहिक र नेपाललाइभडटकममा काम गरेका ढुंगाना अहिले उकेराडटकमका प्रधानसम्पादक छन् । उनी अन्तरदेशीय अपराधसम्बन्धी पुस्तक 'ओपन सेक्रेट'का लेखक पनि हुन् । 

'अनलाइन अब मूलधार हो'

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अनलाइन संचार माध्यम अब मूलधारको पत्रकारिताको माध्यम बनिसकेको भन्दै यसमा कुनै समस्या भए सरकार सहजीकरण गर्न तयार रहेको बताए । 

अन्य संचार माध्यमझैँ अनलाइन संचार माध्यमलाई समेत समानुपातिक विज्ञापन उपलब्ध गराउन कार्यविधि बनिरहेको भन्दै उनले वर्तमान सरकार प्रेस स्वतन्त्रतामा अवरोध हुने कुनै गतिविधिबारे सोच्नसमेत नसक्ने बताए ।

सापकोटाको नेतृत्वमा नयाँ समिति

११औँ अधिवेशनले शनिबार डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी, कोषाध्यक्ष निर्दोष घोरसाइने तथा सदस्यहरूमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेललाई चयन गरेको छ ।