'गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार': प्राप्त रकमबाट सोही नाममा अर्को पुरस्कार !

'गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार': प्राप्त रकमबाट सोही नाममा अर्को पुरस्कार !

विभूति शर्मा  |  अन्तर्मन्थन  |  पुष १८, २०७८

उमेर यसै वर्षदेखि ९१ पार गरेर ९२ । स्वास्थ्य अवस्था साह्रै कमजोर होइन तर बुढ्यौलीले गलाउँदै गएको शरीरका कारण घरबाहिरभन्दा घरभित्रै बस्न आनन्द लाग्ने । पुसको चिसोले पनि होला, बाक्ला कपडामा बेरिएर न्यानो कोठामा बसिरहन मन लाग्ने ।

‘बुढ्यौली छिप्पिँदै जाँदा त मोटाउनु पो भएछ त !’, मैले भेट्नेबित्तिकै भनेँ ।

‘त्यस्तै पो भयो’, मुजा परेका तर मोटाएर पोटिला बनेका गाला खुम्च्याउँदै हाँसिन् र भनिन्, ‘बूढो भएपछि पो के सन्तोक भयो, मोटाएछु ।’

यति मात्र के सुरु गरेको थिएँ कुराकानी, २००३ सालदेखिका एकएक स्मरण बडो फुर्तीका साथ सुनाउन थालिन् । कतिपय सन्दर्भका कुरा गर्दा त कुर्सीबाट जुरुक्क उठ्नै लाग्थिन् । अरे बाबा ! म भर्खर ४० पुगेको ठिटोमा पनि छैन यतिको जोस !

बाजे पहिलो विश्वयुद्ध लडेका । लाहुरेकी नातिनी । बाबु नेपाली सेनामा जागिर खाएर छाडेका । पछि राणा परिवारकै प्रचण्डशम्शेरले विश्वास गरेर बैठके बनाएका बाबुलाई । आमा २३ वर्षकै उमेरमा विधवा । २ दिदीबहिनी जीवित । ९४ वर्षकी दिदी र ९२ वर्षकी उनी काठमाडौंमै नजिकै बस्छन् । दुःखसुखका कुराकानी गर्छन् । विगत सम्झिन्छन् । हाँस्छन्, रुन्छन्, रमाउँछन् ।

‘अहिले के गर्दै हुनुहुन्छ नि ?’

जिज्ञासा खस्न नपाउँदै जबाफ फरर आयो सास नरोकी, ‘हिँडडुल गर्न सक्दिनँ । भएका संघसंस्था अरूलाई जिम्मा लगाएँ । घरमै बस्छु, लेख्छु, पढ्छु । बिहान १ बजे उठ्छु सधैँ । भजन, कविता, निबन्ध एक-एक पेज कम्तीमा लेख्छु । मनपरेका पुस्तक पढ्छु । ६ बजेदेखि नेपाली समाचार सुन्छु रेडियोमा । नुन-पानी-बेसार खान्छु । त्यसपछि दूध खान्छु र ९ बजे खाना खान्छु । दिउँसो फलफूल वा जुस खान्छु । १ बजे चिया पिउँछु । ४ बजेतिर चिउरा पुलाउ वा चाउचाउ खान्छु । राती खाना खान्नँ । ६ बजे सुतिसक्छु ।’

ओहो ! कति तीखा कान ! आँखा पनि उस्तै तगडा । शरीर मात्र धेरै फुर्तीसाथ नचलेको हो, अरू अंग दुरुस्त-तन्दुरुस्त । करिब एक घन्टाको कुराकानीमा कुनै कुरा पनि दोहोर्‍याएर सोध्नुपरेन ।

बालखैदेखि तीखो स्वभाव, कडा मिजास अनि निडर र निर्भीकपन । आमा विधवा भएपछि २ छोरीको लालनपालनमा ध्यान । उसो त आमा पनि गाउँकी चल्तापूर्जा समाजसेवी, नेतृ । सिप पनि भएकी आमा । गलबन्दीलगायतका सामग्री आफैँ बुनेर त्यस बेला पनि मनग्य आम्दानी गर्ने ।

उनी सानै छँदा अलिक रोगी जस्ती । काठमाडौंमै जन्मिएकी उनलाई ७ वर्षकी हुँदा ओखलढुंगा बाजे-बोजूकहाँ पुर्‍याइयो । पहाडको गाउँघरमा मान्छेको जीवन कसरी चलेको हुन्छ भन्ने बालखैमा देखिन् उनले ।

‘ओहो ! मसँगका (७ वर्षका) नानीहरू घाँस काट्ने, दाउरा बटुल्ने, घरको काम गर्ने’, उनी आश्चर्यपूर्वक सुनाउँछिन्, ‘म त त्यस्ता कामबारे पूरै थाहा नभएकी ।’

उनलाई केही समयमै दोलखामा रहेको उनको मावल लगियो । मामाघरका बाजे सम्पन्न र जमिन्दार । घरमा काम गर्नेहरू प्रशस्त । नातिनीलाई पुलपुल्याउने भइगए ।

मामाहरूलाई बाजेले पढाउँदै गरेका । उनलाई पनि पढ्न भने बाजेले । दुर्गास्तोत्र, सप्तशती, रुद्री, रामायण, महाभारत, स्वस्थानी आदि फरर पढ्ने भइन् उनी ।

‘यी किताब त यसरी पढेछु कि गाउँघरका महिलाहरूलाई रामायण, स्वस्थानी पढेर सुनाउने काम नै पो आयो’, उनी भन्छिन्, ‘गाउँका प्रौढ महिलाहरूका श्रीमानहरूलाई चिठी लेखिदिने पनि मैले नै ।’

पछि भारतको गोरखपुर गइन् उनी र त्यहाँको आर्मी स्कुलमा पनि पढिन् । पढाइमा भने उनले पनि ध्यान दिइन् र परिवारले पनि ।

२००३ सालमा काठमाडौंमै पद्मकन्या स्कुल खुल्यो । उक्त स्कुलकी कक्षा ३ की संस्थापक विद्यार्थी बनिन् उनी । सोही स्कुल अहिले क्याम्पस पनि बनेको छ । र, आफू संस्थापक विद्यार्थी भएको उक्त स्कुल र क्याम्पस दुवैलाई एक/एक लाख रुपैयाँको अक्षयकोष पनि राखिदिएकी छन् उनले अहिले ।

हो, यो सन्दर्भ र पृष्ठभूमि उनकै हो । उनी अर्थात् नेपाली राजनीतिमा ५ पटक राष्ट्रिय पंचायत सदस्य, एक पटक राज्यमन्त्री र पछि राजसभा स्थायी समिति सदस्य बनिसकेकी, साहित्य र समाजसेवामा विशिष्ट र छुट्टै पहिचान बनाइसकेकी सुश्री भद्राकुमारी घलेको सन्दर्भ हो यो ।

जोडौँ उनको जीवनयात्रा ।

२००४ सालमा कक्षा ४ मा पढ्थिन् भद्रा । तत्कालीन सरकारको छात्रवृत्तिमा उनले भारतका महाराष्ट्रमा रहेको गान्धी महिला आश्रममा गएर पढ्ने अवसर पाइन् । त्यहाँ पढ्दा उनले व्यावसायिक सिपसमेत सिकिन् । समाजसेवा र साहित्यप्रतिको रुचि र झुकाव पनि त्यहीँ पढ्दा बढेको उनी बताउँछिन् ।

 ‘सबै प्रान्तका विद्यार्थी त्यहाँ पढ्ने’, भद्रा भन्छिन्, ‘सबैले आआफ्ना कला, संस्कृति र साहित्य प्रदर्शन गर्ने । मैले पनि नेपाली गीत रचना गरेर गाएँ । नेपाली नाटक लेखेर खेलेँ ।’

मुजा परेका गालालाई मुस्कानले तन्काउँदै विजयी भावमा भनिन्, ‘निकै प्रसिद्ध पो भयो त मेरो गीत र नाटक !’

उनका अनुसार उनले त्यहाँ गाएको गीत अन्य स्थानमा जाँदा अरूले पनि गाएको सुनिन् । यसरी आफ्नै गीत अरूले गाएको सुन्दा उनलाई कति हर्ष लाग्यो होला ? उनले नै बताउन सकिनन् ।

उसो त, उनले त्यहाँ देखाएको नाटक यति मनपराए रे कि उनले भारतका ठूलाठूला कलेजमा गएर पनि उक्त नाटक देखाउनुपर्‍यो ।

अब भद्रा साहित्य क्षेत्रमा पनि छिरिन् । त्यहाँ ५ वर्ष पढ्दा भद्राले धेरै कुरा सिकिन्- साहित्य, कला, चित्रकला, समाजसेवा आदि ।

‘म त साहित्य, कला के हो भन्ने नबुझीकनै साहित्यकार भएछु, नाटककार भएछु’, भद्राको भनाइ छ ।

त्यही बेला साहित्यकार कृष्णचन्द्रसिंह प्रधानले हस्तलिखित साहित्यिक पत्रिका निकाल्नेरहेछन् । उक्त पत्रिकामा भद्राले सिर्जनाहरू पठाउने अनि छापिनेरहेछ । यसले साहित्य लेखनमा थप उत्साह थपिएको भद्राको भनाइ छ ।

आज भद्रा जे छन्, त्यो त्यही गान्धी आश्रममा पढ्दाको फल भएको उनी बताउँछिन् ।

पछि उनले नर्स पढिन् र जनकपुरमा आएर २०१३ सालमा सेवा गरिन् । उच्चशिक्षाका लागि उनी त्यहीबीचमा भारतकै पटना र वनारस धाइन् । वनारसबाट शास्त्री पास गरिन् । शास्त्री पढ्न वनारस जाँदाको स्मरण पनि सुनाइन् भद्राले ।

भएछ के भने, उनले जुन म्याट्रिक्स सरहको तह पास गरेर नर्स पनि पूरा गरेकी थिइन्, त्यसलाई त विश्वविद्यालयहरूले ८ कक्षा सरह मात्र मान्दारहेछन् । विश्वविद्यालयको एक कार्यक्रममा उनले मन्तव्य राख्ने क्रममा उक्त विषयलाई जोडदार उठाएपछि उनले उच्चशिक्षा अध्ययन गर्न पाइन् र त्यस बेलाकी ‘शास्त्री’ बनिन् ।

अनि राजनीतिमा

ऊबेलाकी पढालेखा, त्यसमा पनि जनजाति महिला ! समाजको उनलाई हेर्ने र सम्मान गर्ने पारै भिन्न । राजा महेन्द्रले महत्त्वाकांक्षी निर्दलीय पंचायती व्यवस्थाको अभ्यास गरिरहको समय । त्यस बेला अंचलाधीश रहेछन्, दिलबहादुर श्रेष्ठ । भरियासहित ३ दिन हिँडेर महोत्तरीको जलेश्वर पुगेकी भद्रालाई देख्नेबित्तिकै अंचलाधीश श्रेष्ठले भने, ‘तपाईं भद्रा घले होइन ? महिला संगठनका लागि तपाईं जस्तै तगडा मान्छे चाहिएको छ । तपाईं अब महिला संगठनको अंचल सभापति ।’

यति भनेर भद्रालाई अंचलाधीश श्रेष्ठले अबीर लगाइदिए अनि महिला संगठनका विधान र नियमावली बुझाए ।

भद्रा कति तगडा भने, सभापति बनाइएको एक महिनामै ११ वटै जिल्लाका जिल्ला समिति निर्माण गरेर अंचलाधीशकहाँ जिम्मा बुझाएर वनारस फर्किइन् पढ्न ।

उता, भद्राको वनारस बसाइ आरामको हुन सकेन किनभने यता नेपालबट अंचलाधीश श्रेष्ठले दिनदिनैजसो ट्रंकल गरेर ‘चुनाव उठ्न आउनुपर्‍यो’ भनेर हैरान् । उनी नआई सुख पाइनन् ।

त्यस बेला राष्ट्रिय पंचायतमा उम्मेदवारी दर्ता गर्न २०० रुपैयाँ चाहिनेरहेछ, भद्रासँग थिएन । ‘विद्यार्थीसँग कसरी हुन्थ्यो त्यत्रो पैसा ?’, भद्रा भन्छिन्, ‘मेरी सहपाठी थिइन् भुवनेश्वरी, उनका बुबासँग ५०० रुपैयाँ मागेर उम्मेदवारी दिएँ ।’

स्वाभाविक थियो, भद्राले रापंस जितिन् । अब माननीय बनिन् भद्रा ।

अलिक कडा मिजासकी र अधिकारबारे सचेत बन्दै गएकी भद्राले माननीय बनेपछि एउटा भाषणमा मुलुकी ऐनको विरोध गरिन् । भर्खरै राजाबाट लालमोहर लगाएर कानुन बनिसकेको मुलुकी ऐनमा रहेको महिलाविरोधी, विभेदकारी प्रावधानको उनले खरो विरोध गर्दै मुलुकी ऐनको प्रति फालिदिइन् ।

उक्त घटना दरबारसम्म पुग्यो । राजाबाट लालमोहर लगाइसकेको कानुनको बरिर्खलाप बोल्न पाइँदैन भन्ने भद्रालाई थाहा थिएन रे ! ‘मुलुकी ऐनको कडा विरोध त गरिहालेँ’, भद्रा भन्छिन्, ‘दरबारले त मलाई जेल हाल्ने तयारी पो गरेछ !’

तर, अधिराजकुमारी प्रिन्सेस शाहका कारण उनी जेल जानबाट बचिन् । दरबारमा भद्रालाई जेल हाल्ने सन्दर्भ चलिरहँदा प्रिन्सेसले राजा महेन्द्रलाई भनिछन्, ‘भद्राले राजतन्त्रको विरोध गरेकी होइनन्, मुलुकी ऐनमा भएका महिलाविरोधी प्रावधानमा मात्र आपत्ति जनाएकी हुन् ।’

यसपछि उनी जेल जानबाट जोगिएकी रे !

झापाका समाजसेवी श्रीप्रसाद ओलीले आफूसहित आफ्ना पितृहरूका नाममा स्थापना गरेको ‘रुद्रगौरीश्रीअम्बिका ओली प्रतिष्ठान’ले विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई फरक फरक राशिका पुरस्कार र सम्मान प्रदान गर्ने गरेको छ ।  प्रतिष्ठानले सन् २०१३ मा  ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ नगद सहित भद्रालाई रु १ लाख ११ हजार १ सय १  रुपैयाँ राशिको सम्मान प्रदान गरेको थियो ।

उनी तत्कालीन राष्ट्रिय पंचायतमा महिला संगठनबाट लगातार ४ पटक माननीय भइन् । २०३७ सालमा भएको जनमतसंग्रहमा भने सिन्धुली जिल्लाको प्रतिनिधि बनिन् भद्रा । ‘ककसको सिङ लामो छ, आऊ मसँग भिड्न’ भनेर आफूसँग चुनाव लड्न आउने मै हुँ भन्ने पुरुषहरूलाई ललकारेर चुनाव जितेको गर्वका साथ सुनाउँछिन् भद्रा ।

२०४१ सालपछि भने भद्रा प्रत्यक्ष राजनीतिभन्दा अलग बसिन् तर तत्कालीन राजसभा स्थायी समितिकी सदस्य भने रहिन् ।

समाजसेवामा भद्रा

भद्रा बच्चैदेखि समाजसेवामा रुचि राख्थिन् । अझ भारतको गान्धी आश्रममा पढ्दाखेरिदेखि त उनले समाजसेवामा प्रत्यक्ष सहभागिता जनाउन थालिन् । २०२२ सालदेखि भने उनको समाजसेवा कर्म आजपर्यन्त निरन्तर छ ।

उनले गरिब, बिपन्न र असहायका बालबालिकालाई पढाउन सुरु गरेकी हुन् । २५ जना बालबालिका लिएर उनले कृषि फार्म सुरु गरेर त्यसकै आम्दानीबाट पढाउन थालिन् । फार्ममा फलफूल, तरकारीदेखि पशु पालनसम्म थियो । केही बालबालिका अलिक बुझ्ने हुँदै गएपछि ‘भद्रा घलेकहाँ गोठालो बस्ने हुँ ?’ भनेर भागेका तर उनले खोजेर ल्याएर पढाएको सुनाइन् ।

उनले यसरी जबर्जस्ती पढाएकाहरू अहिले विभिन्न क्षेत्रमा स्थापित भएका उनले सगर्व सुनाइन् ।

आज पनि भद्रा घलेले आफ्नै नाममा समाजसेवी संस्था स्थापना गरेर विभिन्न सामाजिक, साहित्यिक कर्म जारी राखेकी छन् ।

९० वर्ष पार गरिसक्दा पनि उनमा साहित्य र समाजसेवाको भुतले छाडेको छैन । आजसम्म मागेर होइन, दिएरै खान पुगेको मात्र छैन उनलाई, समाजसेवा र साहित्यमा अमूल्य योगदान गरिरहन पनि उसरी नै पुगिरहेको छ । ‘मैले कसैसँग २ पैसा मागेको छैन । सरकार वा कुनै व्यक्तिको एक पैसा चलाएको छैन’, भन्छिन्, ‘मिहिनेत गर्ने, श्रम गर्ने, सबै कुरा प्राप्त हुन्छन् भन्ने मान्यताअनुसार काम गरिरहेकी छु र पूरा पनि भएको छ ।’

डेढ सय कृति प्रकाशित, १०० वटा एकैचोटि प्रकाशन गर्दै

भद्रा घलेको दैनिकी मध्यरात १ बजेदेखि सुरु हुन्छ । राती १ बजे नै उठेर कम्तीमा एक-एकवटा कविता, भजन, निबन्ध लेख्ने उनको निकै पुरानो बानी हो, जुन आजसम्म निरन्तर छ । यसरी लेख्दै जाँदा उनका करिब डेढ सयवटा कृति प्रकाशन भइसकेछन् । अझ १०० वटा विभिन्न विषय र विधाका पुस्तक एकै पटक सार्वजननिक गर्ने तयारीमा छन् भद्रा ।

भन्छिन्, ‘१०० जना फरक फरक क्षेत्रका महिलाका हातबाट मेरा १०० वटै पुस्तक विमोचन गराउँदै छु । पुस्तकहरू प्रेसमा छापिँदै छन् ।’

समाजसेवा र साहित्यमा लामो समय समर्पित गरेकी भद्रा विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत बनेकी छन् । उनले पाएका सम्मान र पुरस्कारका प्रमाणहरूको चाङ एक बसाइमा गनेर सकिँदैन । प्रसिद्धदेखि स्थानीय स्तरका समेत सम्मान र पुरस्कार प्राप्त गरेकी भद्राले ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ सम्मान पनि पाएकी छन् ।

व्यक्तिगत जीवनमा विवाह नगरेकी भद्राले कसरी पाइन् त रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा स्थपना गरी हरेक बर्ष वितरण गर्ने ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ सम्मान ?

मान्छेलाई कर्मले विभिन्न भूमिका दिलाउँछ भन्ने ठान्छिन् भद्रा । कसैले कोखबाट जन्माएका सन्तान पनि बेवारिस बनेका र कसैले आफ्नै कोखबाट जन्माएका सन्तानले पनि बाआमालाई बेवारिस बनाएको हाम्रै समाजमा निकै धेरै देखिएकै छ । यस्ता सन्तान, जो अभिभावकको माया, स्नेहको अभावले, आर्थिक बिपन्नताका कारण बेवारिस बने, पढ्न पाएनन्, लगाउन पाएनन्, तिनको संरक्षण गर्ने, पाल्ने, हुर्काउने, पढाउने र बढाउने अत्यन्त उच्चमानवीय कार्य जुन भद्राले गरिन्, त्यसबापत उनले पाइन्, ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ सम्मान ।

झापाका समाजसेवी श्रीप्रसाद ओलीले आफूसहित आफ्ना पितृहरूका नाममा स्थापना गरेको ‘रुद्रगौरीश्रीअम्बिका ओली प्रतिष्ठान’ले विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई फरक फरक राशिका पुरस्कार र सम्मान प्रदान गर्ने गरेको छ ।  प्रतिष्ठानले सन् २०१३ मा  ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ नगद सहित भद्रालाई रु १ लाख ११ हजार १ सय १  रुपैयाँ राशिको सम्मान प्रदान गरेको थियो ।

उक्त सम्मानबापत प्राप्त रकमसमेत भद्राले कार्यक्रम स्थलबाट घरसम पुर्‍याइनन् । कार्यक्रम स्थलबाटै नेपाली साहित्यमा समर्पित संस्था गोधूलि साहित्य प्रतिष्ठानलाई हस्तान्तरण गरिन् । उक्त प्रतिष्ठानले सो रकम अक्षयकोषका रूपमा राखेर बर्सेनि एक जना महिलालाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार सम्मान गर्दै आएको भद्रा बताउँछिन् ।

भन्छिन्, ‘ओलीजीहरूले आफ्ना पितृहरूका नाममा विभिन्न सम्मान र पुरस्कार राखेर जे पुण्य काम गर्नुभएको छ, त्यस्तो हामी हरेकले गर्न सके अझ राम्रो हुन्थ्यो । मैले पनि केही मेरा आफन्तका नाममा अक्षयकोष राखेर यस्ता काम गरिरहेकी छु ।’

अबको लक्ष्य

भद्राको शरीर उमेरको बुढ्यौलीले गलिरहेको छ तर मन र मस्तिष्कमा कुनै बुढ्यौलीको आभाससम्म छैन । अझै केही नयाँ र महत्त्वपूर्ण काम गर्ने इच्छा जीवित छ उनमा ।

उनका २ वटा महत्त्वपूर्ण योजना बाँकी नै छन्, जुन विविध कारणले रोकिएका छन् । तिनलाई पूरा गर्न उनी लागिपरेकी छन् ।

भद्रालाई एउटा आर्ट ग्यालरी र पुस्तकालय बनाउने ठूलो इच्छा छ । आफैँ पनि फाइन आर्टमा रुचि राख्ने र राम्रो चित्रकारसमेत भएकी तथा साहित्यमा समर्पित पनि भएका कारण आर्ट ग्यालरी र पुस्तकालय उनको योजनामा रहेको सुनाइन् ।

यसरी नै ज्येष्ठ नागरिक रिसर्च सेन्टर नामक अस्पताल निर्माणको धोको पनि बाँकी नै छ उनमा ।

अस्पताल निर्माणका लागि केही वर्षअघि भारतीय दूताबासले ५ करोड रुपैयाँ सहयोग गर्ने भएको र अनामनगरमा रहेको भद्रा घले सेवा सदनको जमिनमा अस्पताल बनाउन नापनक्सा गरिएको उनले सुनाइन् । तर, उक्त जग्गा पर्ति (सरकारी) भएको भन्दै नक्सा पास गरिदिएन महानगर (वडा)ले । त्यही कारण त्यहाँ बन्ने निश्चित भएको अस्पताल आजसम्म बन्न सकेन, भारत सरकारले दिने भनेको ठूलो रकम पनि गुम्यो ।

यसमा भने भद्राको चित्त दुखाइ रहेछ । ‘केही राम्रो काम गर्छु भन्दा सरकार स्वयं अवरोध बन्छ भने देशको विकास कसरी हुन्छ ?’, भद्राको प्रश्नको उत्तर दिने जिम्मा सरकारकै ।