'गैरआवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयो'

'गैरआवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयो'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७८

गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।

‘जुनजुन देशहरूबाट डेलिगेट्स समस्या भएको छ, निवेदन दिनुभएको छ, तिनको सम्बोधन गर्नुहोस् । विधि, विधानबाट डेलिगेट्स चयन होस् । त्यसो भयो भने हामी भोलि चुनावमा जान्छौँ’, उनले भने, ‘विभिन्न यो वा त्यो बहानामा डेलिगेट्स थपघट गर्ने काम बन्द गरेर सुधारेर अघि बढ्नुहोस् । हाम्रोतर्फबाट केही पनि रोकेका छैनौँ । सहमति, वार्ताका लागि तयार छौँ । सबैलाई सम्हालेर नेपाल सरकारसँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहन्छौँ ।’ भ्रमका कुरा धेरै नफैलाउन उनले आग्रहसमेत गरे ।

कुनै कार्यकारी पदमा नरहेर पनि नेपाल र नेपालीको हितको लागि आफूले निरन्तर काम गरिरहेको उनले बताए । आचार्यले चाहेको बेला विदेशी मुद्रामै फिर्ता ल्याउन मिल्ने गरी एनआरएनहरूलाई डलर एकाउन्ट खोल्न नेपाल सरकारले ल्याएको योजनाको स्वागत गरे । उक्त योजनाबाट लाभान्वित हुन उनले एनआरएनहरूलाई आग्रह पनि गरे ।

विमानस्थलमा गैरआवासीय नेपालीहरूका लागि एनआरएन डेस्क व्यवस्थित गर्ने, दोहोरो नागरिकता कार्यान्वयन गर्ने सवालमा पनि नयाँ वर्षमा प्रगति होस् भन्ने उनले कामना गरे ।