कर्णाली प्रदेशका लागि एमालेले गर्‍याे राष्ट्रियसभाका उम्मेदवार छनाेट

कर्णाली प्रदेशका लागि एमालेले गर्‍याे राष्ट्रियसभाका उम्मेदवार छनाेट

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १९, २०७८

नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि ३ जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चूडामणि शर्मा र दैलेखका पदम माझीलाई उम्मेदवार चयन गरेको हो । 

राष्ट्रियसभाका लागि ९ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट २ जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले बताए । 

राष्ट्रियसभाका सदस्य रहेको कालीकोटका जीवन बुढा (माओवादी केन्द्र), रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता बोगटी (एमाले)को १८ फागुनमा पदावधि सकिँदै छ । अन्य राजनीतिक दलहरूले अहिले उम्मेदवारको टुंगो लगाउनका सकेका छैनन् । 

कर्णालीमा यस्तो छ मतभार

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा मतभारका हिसाबले सबैभन्दा ठूलो दल माओवादी केन्द्रमा रहेको छ । एमाले दाेस्राे, नेपाली कांग्रेस तेस्राे, नेकपा (एकीकृत समाजवादी) चौथो र रापप्रा नेपाल पाँचौँ दलका रूपमा रहेका छन् । 

माओवादी केन्द्रका स्थानीय तहमा ५२ जना पदाधिकारी छन् । उनीहरूको मतभार ९३६ र प्रदेश सांसद १२ जनाको ५७६ मतभार गरेर कुल एक हजार ५१२ मतभार छ ।

एमालेकासँग प्रदेश सांसद १३ जना छन् । उनीहरूको मतभार ६२४ र ४५ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार ८१० रहेको छ । एमालेसँग कुल मतभार एक हजार ४३४ रहेको छ । 

नेपाली कांग्रेससँग स्थानीय तहका जनप्रतिनिधिको मतभार ७२० र ६ जना प्रदेश सांसदको २८८ मतभार छ । कांग्रेससँग कुल मतभार एक हजार ८ छ ।

कर्णालीमा एकीकृत समाजवादीका ३ जना प्रदेश सांसद छन् भने स्थानीय तहका १३ जना जनप्रतिनिधि छन् । प्रदेश सांसदको मतभार एक जना बराबर ४८ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको एक जना बराबर १८ हुन्छ । ३ जना प्रदेश सांसदको मतभार १४४ र १३ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार २३४ जोड्दा ३७८ रहेको छ ।