५ दलीय गठबन्धनमा सहमति : जसका जति सांसद खाली छन्, त्यति नै सिट पाउने

५ दलीय गठबन्धनमा सहमति : जसका जति सांसद खाली छन्, त्यति नै सिट पाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १९, २०७८

सत्तारुढ ५ दलीय गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबन्डा लगाएका छन् ।

आगामी २० फागुनदेखि खाली हुने राष्ट्रियसभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । 

त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबन्डा गरिएको छ । आगामी फागुनदेखि ४ वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदै छन् ।

एमालेबाट खाली हुने सिटमध्ये ३ वटा नेपाली कांग्रेस, २ वटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको छ ।

एमालेबाट ८ जना, माओवादी केन्द्रबाट ४, एकीकृत समाजवादीबाट ४, कांग्रेसबाट ३ र मनोनीत एक जना सांसद बिदा हुने क्रममा छन् ।