प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने

प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १९, २०७८

नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एकआपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउनेछन् । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिसपत्रका साथै परिचयपत्र अनिवार्य पेस गर्नुपर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउनेछन् । 

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउनेछ । प्राधिकरणले आफ्ना कर्मचारीलाई संभव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ । 

कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गरे । उहाँले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी संचालक समितिमा पेस गरिसकेकाले यसबारेमा छिट्टै निर्णय गरिने बताए । 

सचिव न्यौपानेले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनुपर्ने बताए । 

कार्यकारी निर्देशक घिसिङले एमओयूमा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने जानकारी पनि दिए ।