धनराज, विश्वप्रकाश र गगनको हविगत पनि ४ वर्षमै प्रकाशमान, विमलेन्द्र, मीनेन्द्रको जस्तै !

धनराज, विश्वप्रकाश र गगनको हविगत पनि ४ वर्षमै प्रकाशमान, विमलेन्द्र, मीनेन्द्रको जस्तै !

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  पुष १९, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शान्त, सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । कुनै तनाव र अप्ठ्रा नभई महाधिवेशन सम्पन्न हुनु खुसीको कुरा हो कांग्रेसजनका लागि । तर, महाधिवेशन सुरु हुनुअघि स्थानीय तहका अधिवेशनहरूमा भने केही तनाव, द्वन्द्व, विवाद र मारमुंग्रीसमेत भए ।

जे होस्, महाधिवेशन सकियो । यस पटकको महाधिवेशनले कांग्रेसको इतिहासमै नयाँ तरंग पैदा गरेको छ, त्यो हो- नयाँ नेतृत्व, नयाँ पुस्ताको नेतृत्व र नयाँ सोच अनि जागरणको चाहना कांग्रेसीजनको रहेछ ।

यही भएर यस पटक अर्थात् १४औँ महाधिवेशनमा स्थानीय तहदेखि केन्द्रसम्म नै बूढा-पुराना नेतालाई कार्यकर्ताले आराम गर्ने अवसर दिए- मतदानमा पराजित गरेर । निकै पहिलादेखि कांग्रेसलगायत देशका प्रमुख राजनीतिक पार्टीमा चलिरहेको बहस ‘युवा नेतृत्व’लाई सारभूत रूपमा लोकतान्त्रिक प्रक्रियाकै माध्यमबाट पुष्टि गरिदिए कांग्रेस कार्यकर्ताहरूले । यो अन्य राजनीतिक पार्टीका लागि पनि गतिलो उदाहरण बन्न सक्छ ।

यसैबीच नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका महाधिवेशन पनि सम्पन्न भए । एमालेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शब्दमा ‘पञ्चर्‍याली’ शैलीमा हुकुम प्रमांगी ढर्रामा अध्यक्ष केपी शर्मा ओलीले चुनावको नाटक मात्र गराएर आफ्नाहरूलाई नेतृत्वमा ल्याए भने राप्रपामा दरबारको जुठोपुरोले आजसम्म बाँचेका र पंचायतदेखि आजसम्म राजनीतिको केन्द्रमा घुमिरहेर तर मारिरहेका कमल थापालाई टेनिस खेल्ने सुवर्ण अवसर दिँदै राप्रपा कार्यकर्ताले राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाए ।

त्यो खेमा भनेर नेता, कार्यकर्ताको वर्ग विभाजन गर्न थाले भने अर्को ४ वर्षमा भोलिको पार्टी नेतृत्वका हकदारका रूपमा हेरिएका गुरुङ, शर्मा र थापा तीनै जनाको हविगत आज शेखर, प्रकाशमान, विमलेन्द्र वा प्रकाशशरण, मीनेन्द्र आदिकै हुनेछ ।

हुनत अहिले नेकपा (माओवादी केन्द्र)ले पनि आठौँ महाधिवेशन गरिरहेको छ । ८ दिनसम्म नै चलिरहेको माओवादी केन्द्रको चालू महाधिवेशन पनि निकै शान्त, सभ्य र शालीन ढंगले बढिरहेको देखिन्छ । केपी ओलीकै पथमा हिँडिरहेका प्रचण्डले आफ्नो पकड पार्टीमा नगुमाउन हरप्रयत्न गरे । हरिबोल गजुरेल, देव गुरुङ, लेखनाथ न्यौपाने, राम कार्कीलगायतकाहरूमार्फत आफ्नो आलोचना गराएर विरोधीहरूलाई ‘ठेगान’ लगाएका प्रचण्डले अन्ततः ओली शैलीमै केन्द्रीय समिति घोषणाको तयारी गरेका छन्, भलै, ओलीले चुनावको नाटकसम्म भने गरिदिए ।

यी देशका प्रमुख पार्टीका महाधिवेशनबाट आएको सन्देश भने लगभग एउटै छ, त्यो हो- अब नेपाली जनताले पार्टीहरूमा रूपान्तरण, नेतृत्वमा पुस्तान्तरण र नेतृत्वका व्यवहारमा इमान्दारी खोजेका छन् । अझ कांग्रेस र राप्रपाका महाधिवेशनका परिणामले त आमजनमा एक प्रकारको आशा पनि जगाएका छन् । एमाले र माओवादीभित्र पनि यी विषयमा गम्भीर बहस र छलफल भएकै हुन्, तिनको पनि अर्थ भने रहन्छ ।

राजनीतिलाई पेसा, व्यवसाय बनाउने नेपाली संस्कार र परंपरालाई भने यी कुनै पनि पार्टीले चिर्न सकेका छैनन् । पार्टी सत्तामा होस् वा राज्य सत्तामा पुग्नेबित्तिकै आज ठूलै आदर्श र इमानका कुरा गर्नेहरू पनि ‘कुइँक्क’ भएर राज्यकोषमा गुँडुल्की मार्न पुग्छन् । यस्तो विडम्बनाबाट भने अझै मुक्ति चाहेका छन् आमजनले ।

प्रसंगवस यति नै यी कुरा ।

कुरो कांग्रेसको नयाँ नेतृत्व र आमजनका आशाको ।

कांग्रेसमा अहिले नयाँ नेतृत्व आएको छ शेरबहादुर देउवाको सभापतित्वमा । पुरानै सभापति देउवाको नेतृत्व कसरी नयाँ ? हो, अब देउवा पनि नयाँ हुनुपर्छ- नयाँ सोच, नयाँ अवधारणा, नयाँ शैली र नयाँ व्यवहार देउवामा हुनुपर्छ अब । राजनीतिक नेतृत्व समय र सन्दर्भअनुकूल चल्न र हिँड्न सक्नुपर्छ नभए उक्त नेतृत्व इतिहासको गर्तमा हराउँछ, जसरी यही महाधिवेशनबाट मै हुँ भन्ने कांग्रेसजनहरू पाखा लागे ।

हुनत देउवा पनि पाखा लाग्न सक्थे, यदि कांग्रेसजनहरूमा ‘जुँगाको लडाइँ’ र ‘अहं’ थिएन भने । देउवाइतर खेमाबीच नै ‘तँ वीर कि म वीर’को द्वन्द्व नभइदिएको भए र डा. शेखर कोइरालालाई देउवाइतर खेमाले राम्ररी सहयोग गरिदिएका भए देउवा पनि नेतृत्वबाट पाखा लाग्न सक्ने आँकलन धेरैको थियो र यो संभावना बलियो पनि थियो । तर, आफ्नै एकाघरका भाइ र बहिनी अर्थात् डा. शशांक र सुजाताले पनि नपत्याइने भए शेखर । रामचन्द्र पौडेललाई त शेखरलाई सहयोग गर्नु कुनै करको कुरा थिएन किनभने ‘यो उत्तराद्र्धमा सभापतिको उम्मेदवार बन्न देऊ न’ भन्दासमेत बूढा बाजे रामचन्द्रलाई टिकी खान नदिने शेखरलाई नैतिक हिसाबले पनि पैडेलले मत दिन उपयुक्त थिएन ।

र, अब कांग्रेसमा दोस्रो र तेस्रो पुस्ता नेतृत्वमा आएको छ- तल्लो तहदेखि नै । यो निराशा मात्र दिइरहेको नेपाली राजनीतिमा आशाको अंश हो । तर, यतिकैमा बढी उत्साही बनेर चाँडै निराश बन्नु पनि उपयुक्त हुँदैन । नयाँ नेतृत्वको कार्यशली, नीति, योजना र व्यवहारलाई हेर्न अझै केही समय लाग्नेछ ।

नयाँ नेतृत्वमा आएका केही अनुहारहरूले आमआशा र भरोसा बढाएका अवश्य छन् । धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्माहरूको पदाधिकारीमा आगमनलाई नेपाली कांग्रेसको नयाँ जीवनको संकेतका रूपमा बुझ्ने र विश्लेषण गर्नेहरू पनि छन् । विगतमा नेपाली राजनीतिको केन्द्रमा रहेर समग्र परिवर्तनका पक्षधर, विशेषगरी युवा वर्गलाई उत्साही बनाउने युवा नेताहरू पनि हुन् यी । यिनमा इमान, आदर्श र वैचारिकताको केही अंश जीवित रहेको आस अझै छ आमजनमा । परिवर्तन, विकास र सुधारका सवालमा पार्टीभित्र मात्र नभएर राज्यकै मुहारमा बदलाव ल्याउन सक्ने खुबी र ऊर्जा यिनमा छ भन्ने विश्वास धेरैमा छ ।

यिनीहरूप्रतिको यस्तो आमविश्वासलाई जोगाउँदै पार्टीलाई सशक्त, बलियो, सुसंगठित बनाउने र निराशाले भरिएको नेपाली राजनीतिमा सक्षम युवाको आकर्षण बढाउने काम पनि अब यिनले गरून् भन्ने कामना छ ।

मूल कुरो त यो हो कि, कांग्रेसको संगठन २०५१ सालयता अस्तव्यस्त बन्दै गएको छ । त्यही समयदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक ‘करियर’ सशक्त ढंगले अगाडि बढाएका धनराज र विश्वप्रकाश तथा त्यसको केही समयपछिदेखि ऊर्जावान् र सशक्त युवा नेताका रूपमा उदाएका गगन थापाहरूबाट कांग्रेसजनले गर्ने अपेक्षा भनेको ‘बूढा’हरूले आपसमा सिँगौरी खेलेर चोक्टा-लाम्टा बनाएको कांग्रेस, अस्तव्यस्त बनाएको पार्टी संगठनलाई सुदृढ बनाउनु र निराश बनाएका पार्टी कार्यकर्तालाई जार्गत बनाउनु हो ।

यसका लागि हिजोका विभिन्न खेमा/उपखेमाको धङधङीलाई चिर्दै एकजुट र एक ढिक्का कांग्रेस बनाउन प्रयत्न गर्नु यिनको प्रमुख जिम्मेवारी हो । चुनाव लड्दा कुन खेमाबाट लडियो, त्यो चुनावसम्मका लागि मात्र हो । अब उनीहरू सबै खेमाका नेता हुन् । यो वा त्यो खेमा भनेर नेता, कार्यकर्ताको वर्ग विभाजन गर्न थाले भने अर्को ४ वर्षमा भोलिको पार्टी नेतृत्वका हकदारका रूपमा हेरिएका गुरुङ, शर्मा र थापा तीनै जनाको हविगत आज शेखर, प्रकाशमान, विमलेन्द्र वा प्रकाशशरण, मीनेन्द्र आदिकै हुनेछ ।