ओमिक्रोन भेरिएन्टको जोखिमः भारतबाट संक्रमण फैलिन नदिन के गर्दै छ सरकार ?

लोकसंवाद टिप्पणी

ओमिक्रोन भेरिएन्टको जोखिमः भारतबाट संक्रमण फैलिन नदिन के गर्दै छ सरकार ?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २०, २०७८

यतिबेला विश्वमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले आममानिसमा त्रास उत्पन्न गराएको छ । पछिल्लो समय भारतमा ओमिक्रोनका कारण संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा पनि कोभिडको नयाँ लहर आउन सक्ने चिन्ता थपिएको छ । 

गत नोभेम्बरको अन्त्यमा ०.०१ प्रतिशत परीक्षण नतिजामा देखिएको थियो यो भेरिएन्ट । अहिले यो ५ प्रतिशतभन्दा बढीमा देखिएको छ । पछिल्लो समय अमेरिका, बेलायत, फ्रान्स, टर्की, भारत जस्ता देशमा ठूलो संख्यामा कोभिड बिरामी थपिन थालेका छन् । यसरी संक्रमित हुनेमध्ये धेरैमा ओमिक्रोन भेरिएन्ट पाइएको छ । 

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण बढिरहेको छ । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि जोखिमको चिन्ता बढेको विज्ञहरूले जनाएका छन् । 

स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको जोखिमलाई रोक्नका लागि विभिन्न उपायहरू अवलम्बन गरिएको बताएको छ । यद्यपि, भारतसँगको खुला सिमानाका कारण कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नियन्त्रणमा नेपाललाई चुनौती थपिएको छ । अहिलेसम्म नेपालमा ३ जनामा मात्र ओमिक्रोन पुष्टि भए पनि यसको त्रास भने बढेको छ । 

गत वर्ष नेपालमा संसद् विघटनसँगै सुरु भएका राजनीतिक दलका नारा-जुलुस र सभाहरू डेल्टा भेरिएन्ट फैलाउन सहयोगी बनेका थिए । यसका कारण लकडाउन गर्नुपरेको थियो । यस पटक पनि ओमिक्रोनको त्रास बढिरहँदा राजनीतिक दलका महाधिवेशनहरू क्रमशः भएका छन् । राजनीतिक गतिविधिहरू बढ्दा कोरोनाको प्रसार पनि बढ्ने अनुमान गरिएको छ । सरकारले भने यसको संक्रमण रोक्नका लागि व्यावहारिक रूपमा मापदण्डहरू लागू गरेको छैन, जसका कारण सरकारको आलोचनासमेत भइरहेको छ । 

पछिल्लो २४ घन्टामा भारतमा करिब ३४ हजारमा कोरोना संक्रमण देखिएको छ । यसरी संक्रमितमा ओमिक्रोन पुष्टि हुनेको संख्या बढिरहेको छ । नेपालको कोभिड निगरानी प्रणालीमा ओमिक्रोन पुष्टि भइसकेको छ । त्यसका आधारमा पनि नेपालमा जोखिम बढेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नेपालका सीमावर्ती क्षेत्र तथा शहरहरूमा कोभिड बढी मात्रामा फैलिएको छ । भारतका सीमावर्ती शहरमा नेपालीहरू कामका लागि जाने गरेका छन् । कोभिड बढेपछि नेपाल फर्किनेको संख्या पनि केही बढेको छ । यसरी फर्किनेमा सिमानामा रहेका हेल्प डेस्कमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा क्रमशः संक्रमितको संख्या बढेको पाइएको छ । 

ओमिक्रोनको मुख्य संकेत भनेको कोरोना भाइरसको नमुनामा एस-जिन नहुनु हो । पछिल्ला परीक्षणहरूमा संक्रमित मानिसबाट संकलित कोरोना भाइरसको नमुनामा एस-जिन नदेखिने दर बढेको छ । यसबाट पनि नेपाल संभावित जोखिममा रहेको विज्ञहरूले उल्लेख गरेका छन् । 

ओमिक्रोनमा एस-जिन टार्गेट फेलिअर अर्थात् नेगेटिभ र पोजिटिभ हुने पनि देखिएका छन् । यसअघि एस-जिन टार्गेटको फलोअपमा एस-जिन टार्गेट फेलिअरको संख्या एकदमै न्यून थियो । अहिले सो संख्या क्रमशः बढेको छ । 

भारतमा हाल एक लाख ५६ हजारभन्दा बढी कोरोनाका सक्रिय बिरामी रहेका छन् । ओमिक्रोन संक्रमितको संख्या मात्रै एक हजार ७०० भन्दा बढी भइसकेको छ ।

सबैभन्दा बढी महाराष्ट्रमा ५१० जनामा ओमिक्रोन पुष्टि भएको छ । नेपालसँग सीमा जोडिएका पश्चिम बंगालमा २० र उत्तर प्रदेश तथा उत्तराखण्डमा ८-८ जनाका ओमिक्रोन पाइएको छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा हाल झन्डै ५ हजार सक्रिय संक्रमित छन् । 

नेपालमा ओमिक्रोनको जोखिम बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय सरकार र मातहतका निकायलाई प्रभावकारी रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिसकेको छ । महाशाखाले पहिचान भएका संक्रमितसँग भएका व्यक्तिहरूलाई पनि खोजी गर्न अनुरोध गरेको छ । 

महाशाखाले सीमा नाकामा कडाइ गर्न, खोपलाई अनिवार्य रूपमा अघि बढाउन तथा क्वारेन्टाइन र आइसोलेसनमा रहेका बिरामीको निगरानी गर्न पनि अनुरोध गरेको छ । 

नेपालमा देखिएको कोरोनाको पहिलो र दोस्रो लहरलाई हेर्ने हो भने भारतीय क्षेत्रबाट आउने मानिसहरूको आवतजावतका कारण कोरोना नियन्त्रणमा कठिनाइ उत्पन्न भएको छ । 

स्वास्थ्य अधिकारीहरूले नेपालमा ओमिक्रोनका कारण कोरोनाका तेस्रो लहर आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । यद्यपि, कहिलेदेखि तेस्रो लहर आउँछ भनेर अहिल्यै भन्न कठिन छ ।

पहिलो र दोस्रो लहरमा भारतमा संक्रमण चुलिएसँगै नेपालमा लकडाउन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । डेल्टा भेरिएन्टको समयमा त एक महिनाभन्दा कम समयमा नै संक्रमण तीव्र बनेको थियो । भारतमा अहिले पनि केही साताभित्रै संक्रमण चुलिने बताइरहँदा नेपालमा पनि चुनौती थपिएको छ ।

ओमिक्रोन भेरिएन्ट धेरै संक्रामक भए पनि अन्य भेरिएन्ट जस्तो धेरै दिनसम्म सर्ने खालको नभएको विज्ञहरूको भनाइ छ । यद्यपि, स्वास्थ्य मापदण्ड पालना गर्न आममानिसलाई उनीहरूले सल्लाह दिएका छन् । सीमा नाकामा सतर्कता बढाउनुका साथै परीक्षणलाई तीव्र पार्नुपर्ने दायित्व अहिले सरकारको काँधमा आएको छ । तर, यस दायित्वको बोध सरकारले अझैसम्म गरेको भने देखिँदैन । आवश्यक आइसोलेसन, बेड, आईसीयू, सुरक्षाकर्मी, औषधिलगायतको तयारीमा सरकार खासै तीव्र बन्न सकेको पाइँदैन । बेलैमा सतर्कता र सुरक्षाका उपाय अवलम्बन गर्न चुकेमा नेपालीहरू पुनः ओमिक्रोनबाट निकै सास्ती खेप्न बाध्य हुनेछन् । यसका लागि सरकारलाई सरोकारवालाको तीव्र दबाब पनि जरुरी भएको छ ।