डिल्ली बीसीले घोषणा गरे बाँके एमाले अध्यक्षमा उम्मेदवारी

डिल्ली बीसीले घोषणा गरे बाँके एमाले अध्यक्षमा उम्मेदवारी

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  पुष २०, २०७८

नेकपा एमालेका युवा नेता डिल्ली बीसीले एमाले बाँकेको आसन्न आठौँ अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी पार्टी निर्माणका लागि भएको तर कुनै बार्गेनिङका लागि नभएको दाबी पनि गरेका छन् ।

नेता बीसीले जिल्ला अध्यक्ष पदको उम्मेदवारी अन्य कुनै पदको बार्गेनिङका लागि नभएर पार्टी निर्माणका लागि भएको भन्दै २३ पुस मा हुने आठौँ जिल्ला अधिवेशनमा अग्रज तथा समकक्षीको साथ र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

पछिल्लो समय पार्टीमा बैचारिक नेतृत्वको खडेरी परेको भन्दै कार्यकर्ता पंक्तिले आफूलाई पार्टी नेतृत्वका लागि अगाडि सारेको उनको भनाइ छ । बीसीले कार्यकर्ताहरूको मनोभावनाअनुसार आफूले उम्मेदवारी घोषणा गरेको र पार्टीमा विद्यमान बैचारिक नेतृत्वको खडेरीलाई पूरा गर्न पनि जिल्लाका एमाले कार्यकर्ताहरूले आफूलाई नेतृत्वका लागि अगाडि सारेको बीसीले बताए ।

'जिल्ला नेतृत्वमा तपाईँ अगाडि सर्नुहोस् भनेर बारम्बार कार्यकर्ता पंक्तिले आग्रह गरेपछि उहाँहरूको मनोभावनाअनुसार मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ । कार्यकर्ताहरुबाट राम्रो प्रतिक्रिया आइरहेका छन्’, बीसीले भने, ‘अग्रज तथा अनुजको सहयोग र हौसलाबाट म जिल्ला नेतृत्वमा पुग्ने हो । त्यसैले मेरो उम्मेदवारीका पछाडि अग्रज नेताहरूको हात र साथ रहेको छ भने समकालीन र पछिल्लो पुस्ताका नेता, कार्यकर्ताहरूको मतले नै म जिल्ला नेतृत्वमा पुग्ने हुँदा मरो उम्मेदवारीमा अग्रज र अनुजहरू दुवैको साथ र सहयोग रहेको छ ।’

बाँकेको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन बैचारिक र सफल नेतृत्व आवश्यक भएको भन्दै नेता बीसीले आफूले पार्टी नेतृत्वमा दाबी गरेको बताउनुभयो । आफूले जहिले पनि पार्टी हितमा सोचेको तथा कुनै अवसर र नियुक्तिको पछाडि नदौडिएको उल्लेख गर्दै बीसीले पार्टी अध्यक्ष केपी ओलीको बिचार र राष्ट्रिय संकल्पलाई साकार बनाउन उम्मेदवारी दिएको बताए ।

लामो समयदेखि पत्रकारितामा सक्रिय बीसी सामाजिक अभियन्ता र आमसंचार स्कलर पनि हुन् । बाँके र आसपासमा लामो समयदेखि कुशल र सफल पत्रकारका रूपमा परिचय बनाएका बीसी युवा पुस्तामा मात्र नभएर आमजनमा पनि परिचित र प्रिय व्यक्तित्व हुन् ।